विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सन् २०५० सम्म विश्वभर प्रत्येक वर्ष क्यान्सरका नयाँ बिरामीको संख्या झन्डै ३ करोड ५० लाख पुग्न सक्ने चेतावनी दिएको छ। हाल वार्षिक करिब २ करोड ६ लाख नयाँ क्यान्सरका बिरामी देखिने गरेकोमा आगामी २५ वर्षभित्र यो संख्या करिब ७० प्रतिशतले बढ्न सक्ने प्रक्षेपण गरिएको हो। जनसंख्याको वृद्धि, औसत आयु बढ्दै जानु, अस्वस्थ जीवनशैली तथा क्यान्सर उपचार र रोकथाममा विद्यमान असमानता यस वृद्धिका प्रमुख कारण रहेको डब्लुएचओले जनाएको छ।
डब्लुएचओले सार्वजनिक गरेको ग्लोबल स्टाटस रिपोर्ट अन क्यान्सर–२०२६ अनुसार अहिले विश्वभर प्रत्येक वर्ष करिब १ करोड मानिसको क्यान्सरका कारण मृत्यु हुने गरेको छ। प्रभावकारी रोकथाम, समयमै परीक्षण, उपचार र स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न नसकिए आगामी दशकहरूमा क्यान्सरको भार अझ तीव्र रूपमा बढ्ने चेतावनी प्रतिवेदनमा दिइएको छ। प्रतिवेदनले विशेषगरी न्यून तथा मध्यम आय भएका मुलुकहरूमा क्यान्सरको भार सबैभन्दा तीव्र रूपमा बढ्ने जनाएको छ। यस्ता देशहरूमा क्यान्सर पहिचानका लागि आवश्यक परीक्षण सेवा, विशेषज्ञ चिकित्सक, रेडियोथेरापी, औषधि तथा आर्थिक पहुँचको अभावका कारण धेरै बिरामीले समयमै उपचार नपाउने अवस्था रहेको उल्लेख गरिएको छ।
डब्लुएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयेससले क्यान्सरबाट बाँच्ने वा मृत्यु हुने अवस्था कुनै व्यक्तिको जन्मस्थान वा आर्थिक अवस्थाले निर्धारण हुनु नहुने बताएका छन्। उनले क्यान्सर उपचारमा रहेको विश्वव्यापी असमानता अन्त्य गर्न सरकारहरूले रोकथाम, प्रारम्भिक परीक्षण, गुणस्तरीय उपचार र स्याहार सेवामा लगानी बढाउनुपर्नेमा जोड दिएका छन्। स्वास्थ्य विज्ञहरूले धूमपान नियन्त्रण, मदिरा सेवनमा कमी, स्वस्थ आहार, नियमित शारीरिक गतिविधि, मोटोपन नियन्त्रण, खोप तथा नियमित स्वास्थ्य परीक्षणजस्ता उपाय अपनाए क्यान्सरका उल्लेख्य संख्यामा हुने जोखिम कम गर्न सकिने बताएका छन्। डब्लुएचओले क्यान्सरको बढ्दो चुनौती सामना गर्न सबै देशले रोकथाम र उपचार प्रणालीलाई तत्काल सुदृढ बनाउन आग्रह गरेको छ।












