गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जीलिङ ब्राञ्च कमिटीअन्तर्गत तकदाह–ग्लेनवर्ण समष्टिको मिनिरल स्प्रिङ शाखामा एक महत्वपूर्ण सांगठनिक सभा सम्पन्न भएको छ। जमानसिंह राईको अध्यक्षतामा सम्पन्न उक्त सभामा समष्टि अध्यक्ष तेन्जिङ भुटिया, उपाध्यक्ष राजेन राई, सचिव दिनेश देवान तथा समष्टि गोर्खा राष्ट्रिय नारी संगठनकी अध्यक्षा कविता तामाङको विशेष उपस्थिति रहेको थियो।
सभामा मिनिरल स्प्रिङ क्षेत्रका स्थानीय बासिन्दा तथा पार्टी कार्यकर्ताहरूको उल्लेखनीय सहभागिताबीच नयाँ शाखा कमिटी गठन गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको थियो। त्यसअनुसार गोरामुमो मिनिरल स्प्रिङ शाखा कमिटीको अध्यक्ष पदमा सुरेस राई, उपाध्यक्षमा तुफान राई, सचिवमा सागेन राई, सह–सचिवमा दिव्य राई तथा कोषाध्यक्षमा जमानसिंह राई सर्वसम्मत रूपमा चयन भएका छन्। साथै, शाखाको कार्य सञ्चालनलाई प्रभावकारी बनाउन १२ जना कार्यकारिणी सदस्यहरू समेत चयन गरिएको छ।
नवनिर्वाचित पदाधिकारीहरूले पार्टीको संगठनलाई अझ सुदृढ बनाउँदै अध्यक्ष मन घिसिङको नेतृत्वलाई मजबुत बनाउन प्रतिबद्धताका साथ अघि बढ्ने संकल्प व्यक्त गरेका छन्।कार्यक्रममा समष्टि अध्यक्ष तेन्जिङ भुटियाले नवनिर्वाचित प्रतिनिधिहरूलाई खादा लगाई बधाई तथा शुभकामना व्यक्त गर्दै पार्टीको सिद्धान्त, आदर्श र अनुशासनलाई आत्मसात् गर्दै जनहितमा समर्पित भएर कार्य गर्न आग्रह गरे।सभाले मिनिरल स्प्रिङ क्षेत्रमा पार्टी संगठनलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै सफलतापूर्वक समापन भएको थियो।












