डेलो पार्कमा भएको घटना निन्दनीय — प्रशान्त लामा, आईजीजेएफ मिरिक अध्यक्ष इन्डियन गोर्खा जनशक्ति फ्रन्ट (आईजीजेएफ) मिरिक महकुमा अध्यक्ष प्रशान्त लामाले कालिम्पोङको डेलो पार्कमा प्रवेश शुल्कलाई लिएर पर्यटकहरू र गेटकिपरहरूबीच भएको विवादप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उक्त घटनालाई निन्दनीय बताएका छन्। लामाले दार्जिलिङ पहाडको पर्यटन उद्योग विकसित बन्न पर्यटकहरूको आगमनले अहम भूमिका खेल्ने बताएका छन्। दार्जिलिङ पहाडको पर्यटन उद्योगलाई हेर्दा युगौँदेखि पर्यटक र पहाडवासीबीचको सम्बन्ध प्रगाढ रहेको छ। यस्तो अवस्थामा जुन प्रकारको घटना डेलो पार्कमा देखापर्यो, त्यो अत्यन्तै दुःखद घटना भएको उनले बताएका छन्।
लामाले पहाड घुम्न आउने पर्यटकहरूलाई सुविधा र अतिथि सत्कार दिन हालसम्म कोही पनि पछि नपरेको उल्लेख गर्दै “अतिथि देवो भवः” को मूलमन्त्रलाई नै पहाडले आत्मसात गरेको बताएका छन्। यहाँ घुम्न आउने पर्यटकहरूले पनि आफूलाई सुरक्षित महसुस गर्ने गर्छन्। यस्तो सुन्दर वातावरणमा कतिपय पर्यटकहरूले अशान्ति सिर्जना गर्ने किसिमका गतिविधि गर्नु खेदजनक भएको उनको भनाइ छ।उनले पर्यटकहरू पर्यटकजस्तै र पर्यटन सरोकारवालाहरू आफ्नो भूमिकामा रहेमा कुनै विवाद सिर्जना नहुने बताउँदै डेलो पार्कको विवादले भविष्यमा अर्को समस्या निम्त्याउन नपरोस् भन्ने आफ्नो धारणा रहेको बताएका छन्। साथै, यस्तो वातावरण सिर्जना हुन नदिन सम्बन्धित निकाय र व्यवस्थापन समितिले ठोस पहल गर्नु अत्यन्त आवश्यक रहेको उनले बताएका छन्। लामाले व्यक्तिगत आक्षेप र हैकमवाद अब अन्त्य हुनुपर्नेमा जोड दिँदै पहाडको सुन्दर वातावरणमा पर्यटक, पर्यटन व्यवसायी तथा सम्बन्धित निकायले मिलेर कार्य गर्न सके सबैका लागि हितकर हुने बताए। उनले भविष्यमा डेलो पार्कजस्तो घटना पुनः नदोहोरियोस् भनेर प्रशासन तथा सम्बन्धित निकायलाई ठोस कदम चाल्न आग्रह समेत गरेका छन्।












