भारतमा सबैभन्दा धेरै स्वरचित हिन्दी गीतहरूको सङ्गालो सार्वजनिक गर्ने गोर्खे, डा. किङ्ग गुनु घर्ती, मिजोरमको आठौं अनि दार्जीलिङको मिरिकबाट डुप्छेन लामाको सङ्गीतमा दोस्रो हिन्दी गीति अलबम पहाडों की रानी प्रकाशमा आउने भएको छ। यसरी नै प्रतिभाद्वयको नेपाली गीति अलबम मायालुको तयारी बारे जानकारी प्रदान गरिने भएको छ। यी दुई विषयमा एउटा प्रेस भेलाको आयोजन आगामी 16 नोभेम्बर 2025 आइतबार साँझ सिलगढीको सेभोक रोड अवस्थित एनएल एक्रोपोलिस Acropolis मा सञ्चालित साप्ताहिक गोर्खे हाटमा आयोजन गरिएको छ। उक्त भेलापछि विभिन्न कलाकारहरूद्वारा उनीद्वारा निर्मित गीतहरूको प्रस्तुति पनि हुने डा. किङ्ग गुनु घर्तीले बताएका छन्। स्मरण रहोस्, पूर्वोत्तरको सुन्दर अनि सानो राज्य मिजोरमका बहुप्रतिभाशाली व्यक्तित्व डा. किङ्ग गुनु घर्तीले अहिलेसम्म आठसय नेपाली अनि छसय हिन्दी गीतहरू बनाइसकेका छन्। भारतेली सङ्गीतको क्षेत्रमा उनले गरेको योगदानकोे लागि एसोसिएशन फर रिसर्च अन् नन्प्रफीट अर्गनाइजेसन्स आरनोवाले आफ्नो रजत जयन्ती समारोहमा गत 6 अप्रेल 2025 को दिन गीत सङ्गीत शिरोमणि उपाधिले अलङ्करण गरिसकेको छ।
अन्य विधाको कुरा गर्ने हो भने कलामा आफ्नो जीवन समर्पित गर्ने डा. किङ्ग गुनु घर्ती मिजोरमका एकमात्र उपन्यासकार, नाटककार पनि हुन् भने उनले नेपाली र मिजो भाषाको चलचित्रमा अभिनेताको रुपमा अभिनय पनि गर्दै आएका छन्।











