धेरै राशन कार्ड धारकहरूको डिजिटल राशन कार्ड अहिले निस्क्रिय भइरहेको छ। कुनै पनि राशन कार्ड धारकको राशन कार्ड निस्क्रिय भएपछि यसलाई सक्रिय गर्नको लागि एमआर शप डिलरहरू कहाँ व्यस्था नभएपछि राशन कार्ड धारकहरू खाद्य एवं आपूर्ति विभागको कार्यालयमा जानै पर्ने बाध्यता छ। मङ्गलवार खरसाङ्को खाद्य एवं आपूर्ति विभागको कार्यालयमा धेरै संख्यामा राशन कार्ड निस्क्रिय भएका आफ्नो राशन कार्ड पुनः सक्रिय गर्नलाई आएका थिए। यी राशन कार्ड धारकहरू मध्ये धेरैले आफ्नो राशन कार्ड निस्क्रिय भएकोले यसलाई पुनः सक्रिय गराउनको लागि आएको बताए। लामो समयसम्म राशन नथापेका, एसआईआर प्रक्रियामा नाम डिलिट भएका, आधार लिङ्क नभएकाहरूको डिजिटल राशन कार्ड निस्क्रिय भएको पाइएको छ।
खरसाङ्को राष्ट्रिय राजमार्ग 110 मा व्यवसाय गर्दै आएका एक व्यक्तिले आफ्नो राशन कार्ड एसआईआरमा नाम डिलिट भएपछि निस्क्रिय बनेको गुनासो गर्दै यसलाई पुनः सक्रिय गर्नको लागि कार्यालयमा आएको बताए। यसै गरी महानदीका एक महिलाले धेरै समयसम्म राशन प्राप्त नगरेको कारण आफ्नो राशन कार्ड निस्क्रिय रहेकोले पुनः सक्रिय गर्नको लागि आएकी बताइन्। डुमाराम बस्तीकी एक युवतीले आफ्नो अनि परिवारका सदस्यहरूको सबै राशन कार्ड निस्क्रिय बनेकोले पुनः सक्रिय गर्नलाई आएको बताउदै राशन कार्ड पुनः सक्रिय गर्नको लागि परिवारका प्रत्येस सदस्य आएर बोयोम्याट्रिय प्रक्रिया पुरा गरेपछि मात्र सक्रिय हुने कार्यालयका कर्मचारीहरूले बताएपछि आफू फर्किएर गएको बताए। तिनले आफ्नो राशन कार्ड निस्क्रिय हुनुको कारण आफ्नो परिवारका सदस्य सबै बाहिर रहेकाले राशन थाप्न असमर्थ बनेको कारण हो भनी बताइन्। राशन कार्ड सक्रिय गर्नको लागि लाइनमा उभिएकाहरू मध्ये कतिपयले राशन कार्ड धारकहरूको सङ्ख्यालाई हेरेर थप कर्मचारी उपलब्ध गराउन पर्ने आवश्यकता रहेको पनि बताए।












