पश्चिम सिक्किम साहित्य प्रकाशन, गेजिङले साहित्यिक सिर्जनालाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले प्रदान गर्दै आएको प्रतिष्ठित ‘स्रष्टा पुरस्कार–२०२६’ का विजेताहरूको घोषणा गरेको छ।
प्रकाशनकी अध्यक्ष रिकी लामु लेप्चाको अध्यक्षतामा साहित्य प्रकाशन कार्यालयमा सम्पन्न विशेष सभाले स्रष्टा पुरस्कार चयन समितिका सदस्यहरू तथा प्रकाशनका पदाधिकारीहरूको उपस्थितिमा यसवर्षका उत्कृष्ट स्रष्टाहरूको नाम सार्वजनिक गरेको हो।
यसवर्ष कविता विधा अन्तर्गत दक्षिण सिक्किमको जोर्थाङ निवासी बुनु परियार उनको चर्चित कविता ‘नारी हुनु घिन होइन’ का लागि पुरस्कृत हुने भएकी छन्। त्यसैगरी कथा विधामा वरिष्ठ साहित्यकार टिम्बुरबुङका जी. के. शर्मा (भट्टराई) उनको प्रभावशाली कथा ‘बेघर मान्छे’ का लागि छनोट भएका छन्। निबन्ध विधा तर्फ मकैबारी–थापाथली, खर्साङ निवासी तथा आरनोवा संस्थानकी कार्यकारी सदस्या प्रा. रीना सुब्बालाई उनको विचारोत्तेजक निबन्ध ‘साहित्य लेखन र लेखक समुदायमा लैङ्गिक विभेद’ का लागि पुरस्कृत हुने भएकी छन्।
स्रष्टा पुरस्कार चयन समितिले विस्तृत समीक्षा, मूल्याङ्कन तथा गम्भीर छलफलपश्चात् योग्य कृतिहरूको छनोट गरेको जनाएको छ। समितिमा पद्मश्री केदार गुरुङ, दलमान पीर तथा लक्ष्मीप्रसाद गुरुङ लगायतका साहित्यिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
सन् १९९५ देखि नियमित रूपमा प्रदान हुँदै आएको यो पुरस्कारले अन्तर्राष्ट्रिय स्तरमा नेपाली साहित्यका प्रतिभाशाली स्रष्टाहरूलाई सम्मान गर्दै आएको छ। हालमा यो पुरस्कारको प्रायोजन गेजिङ अमचोङ निवासी भवानी शंकर गौतम परिवारद्वारा प्रायोजन गरिँदै आएको छ। साहित्यिक योगदानलाई कदर गर्ने यस अभियानमा गौतम परिवारको निरन्तर सहयोग उल्लेखनीय रहेको प्रकाशनले जनाएको छ।
घोषित पुरस्कार विजेताहरूलाई आगामी २१२औँ भानु जयन्ती समारोहको अवसरमा गेजिङमा सम्मान तथा पुरस्कार प्रदान गरिनेछ। पश्चिम सिक्किम साहित्य प्रकाशनले यस पुरस्कारमार्फत साहित्यिक सिर्जना, सामाजिक चेतना र नवीन चिन्तनलाई प्रोत्साहन गर्दै साहित्यिक जगतमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। पुरस्कृत तीनै स्रसाटाहरूलाई आरनोवा संस्थान, दिल्ली र सिलगढीले वधाइ र शुभकामना दिएको जानकारी पाइएको छ।












