खरसाङ, 10 जुलाई (मोहन प्रसाद)ःअ कहिले पनि भूमिका नलेखाउने साथै कहिले पनि प्रकाशनमा आएपछि आफ्नो पुस्तकको विमोचन नगर्ने वा नगराउने नर्थ बंगाल कमर्शियल इन्सटिट्युशनका पूर्व प्राचार्य खरसाङ निवासी जीबी बल (बल सर) ले फेरि दुईवटा किताब पाठकहरूको निम्ति उपलब्ध गराएका छन्। बल सरद्वारा लेखिएको दुईवटा किताब प्रकाशित भएपछि आफ्नो पाठकवर्गलाई किताब बारे हिमालय दर्पण मार्फत सूचित गराएका छन्। तिनले दर्पणसित बोल्दै जनाए अनुसार, तिनको दुईवटा किताब, श्रद्धाञ्जली तिमीलाई (गीत-कविता संग्रह) अनि इतिहास यसरी बरालिन्छ पाठकवर्गको निम्ति शहरमा अर्थात् शहरको विभिन्न शैक्षिक संस्थान वा कार्यालयहरूमा उपलब्ध गराएका छन्। यी दुई किताबको प्रकाशन संगै सन् 1994 देखि अहिलेसम्म तिनको जम्मा 9 वटा किताबहरू प्रकाशित भइसकेको छ । जीबी बलको अझ दुईवटा किताब वर्तमानमा प्रकाशनको निम्ति प्रेसमा अर्थात् छापाखाना रहेका छन्। यसरी बल सरको अधिकांश किताबहरू हाँस्य व्यङ्ग्यमाथि आधारित रहेका छन् भने पाठकवर्गले यी दुईवटा किताबबाट आनन्द संगै धेरै विविध जानकारी पाउन सक्नेछन् । पाठकवर्गले यी दुई किताब खरसाङ शहरको कतिपय कार्यालयहरूबाट लागत खर्चमा मात्र लिन सक्नेछन्। तिनले थप जनाए अनुसार, यी दुईवटा मध्ये श्रद्धाञ्जली तिमीलाई एउटा गीत-कविता संग्रह रहेको छ भने अर्को किताब इतिहास यसरी बरालिन्छ एउटा संस्मरण हो। यस किताबबाट कतिपय विषय वस्तुहरूमा संशोधित जानकारी पाउन सकिन्छ । श्रद्धाञ्जली तिमीलाई किताब बारे थप बताउँदै बल सरले जनाए अनुसार, उक्त किताब तिनले आफ्नो श्रीमती स्वर्गीय ज्योति देवी बललाई श्रद्धाञ्जली स्वरूप समर्पित गर्दै प्रकाशित गरेका छन्। स्वर्गीय ज्योति देवी बललाई नै उक्त किताबहरूको प्रकाशकको राखिएको छ। यसरीनै इतिहास यसरी बरालिन्छ एउटा संस्मरण हो। धेरै साहित्यकारहरूले संग-संगै सरकारले पनि धेरैवटा महत्वपूर्ण विषय-वस्तुहरूमा भूलै-भूल लेखेका छन्। ती कतिपय भूल विषय-वस्तुहरूलाई यस किताब इतिहास यसरी बरालिन्छद्वारा संशोधन गर्ने कार्य तिनले गरेका छन्। आफ्नो किताबको कहिले पनि विमोचन नगर्ने एवं भूमिका नलेखाउने कारणबारे सोधिएकोमा बल सरले बताए अनुसार, तिनको एकजना बहिनी गायिका छिन् । धेरै वर्ष अघि तिनको बहिनीको एउटा गीति एल्बमको विमोचन भएको थियो, उक्त विमोचन कार्यक्रममा जाँदै गरेको समय तिनी संगै विमोचन कार्यक्रममा गइरहेका तिनीसित परिचित एकजना व्यक्तिले तिनलाई विमोचन कार्यक्रममा करले वा बाध्य भएर गएको जस्तो दर्शाएका थिए । उक्त व्यक्तिलाई थाह थिएन कि तिनकै बहिनीको गीति एल्बमको विमोचन हुन गइरहेको छ। अर्थात् उक्त दिन देखि तिनलाई आभास भयो कि विमोचनमा मानिसहरू करले पनि जाँदो रहेछन्। अर्थात् त्यस समयदेखिनै तिनले विमोचन कार्यक्रमको आयोजन गरेर कसैलाई कर वा बाध्य नगराउने सोच बनाए साथै अन्य विद्वान् व्यक्तिबाट भूमिका लेखाएर खादा-माला नलगाउने निर्णय गरे। सोही अनुरूप यी दुईवटा किताब प्रकाशित भएपछि स्थानीय मीडिया मार्फत् आफ्नो पाठकहरुलाई सामान्य जानकारी मात्र तिनले दिइरहेका हुन्। त्यति मात्र होइन, बल सरले थप जनाए अनुसार तिनको किताब कहिले पनि कुनै दोकानमा बिक्रीमा राखिएको छैन, कारण किताब दोकानमा दिएपछि लागत खर्च भन्दा अधिक मूल्यमा किताब बिक्री हुन्छ अनि पाठकवर्गले महँगो मूल्यमा किताब किन्न पर्छ । यही कारण हो कि तिनको किताब कुनै दोकानमा होइन तर खरसाङ क्षेत्रको विभिन्न शैक्षिक संस्थान साथै सरकारी कार्यालयमा उपलब्ध रहने गर्छ। प्रायः सबै यी संस्थान अनि कार्यालयहरूमा तिनले पढ़ाएका पूर्व विद्यार्थीहरू छन् ती विद्यार्थीहरू तिनका पाठकहरू हुन्। ती कार्यालय एवं शैक्षिक संस्थानमा कार्यरत पूर्व विद्यार्थी अनि पाठकहरूले किताब पाएपछि लागत खर्चमा आफ्नो सम्पर्कमा रहेकाहरूमा किताब बिक्री गरेर वा किनेर तिनलाई किताबको लागत खर्च दिने गर्छन्। सरले थप जनाए अनुसार, तिनी आर्थिक रूपमा सक्षम रहेकोले तिनलाई मुनाफा संग कुनै सरोकार छैन एवं केवल लागत खर्चमा आफ्नो पाठक समक्ष किताब उपलब्ध गराउने तिनको प्रयास रहेको छ। तिनले यो पनि जनाए कि तिनी कम्प्लिमेन्ट्री किताब पनि कसैलाई दिँदैनन्। स्मरण गराइन्छ जीबी बल अहिले 90 वर्ष पुग्नलाई दुई महिना बाँकी रहेका छन्। तिनले वर्तमानमा दुईवटा किताब प्रकाशित गरेका छन् भने आगामी दिनमा तिनको अन्य किताबहरू पनि प्रकाशनमा आउनेछन्। जसमा तिनको कथाहरू पनि रहेका छन्।
