दार्जीलिङ,16 जुलाई(निसं): आदिकवि भानुभक्त आचार्यको 212औँ जन्मजयन्ती बिजनबारी नगर पुस्तकालयमा भव्य रूपमा सम्पन्न गरियो। विगतका वर्षहरूझैँ यस वर्ष पनि उक्त कार्यक्रमको आयोजना कला संगम, बिजनबारीले गरेको जानकारी छ।
जानकारी अनुसार, समारोहमा प्रमुख अतिथिका रूपमा साहित्यकार मनप्रसाद सुब्बा तथा विशिष्ट अतिथिहरू श्री कुमुद रञ्जन गिरी, राजेन प्रधान र पुलबजार–बिजनबारी ग्राम पञ्चायतका उपप्रधान युवराज लिम्बू लगायत साहित्यप्रेमी सगै स्थानीयवासीहरुको उपस्थिति रहेको थियो।एम बहादुर सुब्बाको अध्यक्षतामा सप्पन्न कार्यक्रमको सञ्चालन जेके राई तथा कला संगम, बिजनबारीका महासचिव विवेक सुब्बाले संयुक्त रूपमा गरेका थिए।
यसैबीच कार्यक्रममा आदिकवि भानुभक्त आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा पुर्याउनुभएको अतुलनीय योगदानको उच्च सम्मान व्यक्त गरियो भने विद्यार्थीहरुले रामायण पाठक सगै कार्यक्रममा उपस्थिति कविहरुले स्वरचीत कविता वाचन गरेका थिए ।












