पद्मश्री उपाध्यायको निधनमा भारतीय गोर्खा परिसंघ असम राज्य समितिद्वारा एक साताको शोक घोषणा

Share this news

राष्ट्रिय गोर्खा गौरव, साहित्य एकेडेमी विजेता पद्मश्री गीता उपाध्यायको भानु जयन्तीकै दिन निधन; भारतीय गोर्खा परिसंघ असम राज्य समितिद्वारा एक साताको शोक घोषणा गरेको छ। पद्मश्री तथा साहित्य अकादेमी पुरस्कारबाट सम्मानित वरिष्ठ साहित्यकार, प्रख्यात शिक्षाविद्, अनुवादक तथा भारतीय गोर्खा परिसंघ, असम राज्य समितिकी संस्थापक अध्यक्ष राष्ट्रिय गोर्खा गौरव गीता उपाध्याय को सोमबार, १३ जुलाई २०२६ (भानु जयन्ती) का दिन राति ९:१० बजे लामो समयदेखि देखिएको उमेरजन्य अस्वस्थताका कारण निधन भएको छ। उहाँ ८७ वर्षको हुनुहुन्थ्यो। उहाँको निधनसँगै भारतीय गोर्खा समुदायको साहित्य, शिक्षा तथा सामाजिक नेतृत्वको एक गौरवपूर्ण युगको अन्त भएको छ। भारतीय गोर्खा समाजका अग्रणी साहित्यिक व्यक्तित्वका रूपमा परिचित गीता उपाध्यायले आफ्नो सम्पूर्ण जीवन साहित्य, शिक्षा, अनुवाद तथा समाजसेवामा समर्पित गर्नुभएको थियो। उहाँले छोड्नुभएको योगदान र आदर्शले भावी पुस्तालाई निरन्तर प्रेरणा दिइरहनेछ। सोमबार साँझ जारी गरिएको शोक विज्ञप्तिमा भारतीय गोर्खा परिसंघ, असम राज्य समितिका मूल सचिव सचिव नन्द किराती देवानले आफ्नु संस्थापक अध्यक्ष गीता उपाध्यायको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। उहाँले गीता उपाध्यायलाई भारतीय गोर्खा परिसंघ , असम राज्य समितिको स्थापना गर्ने दूरदर्शी नेतृत्वका रूपमा स्मरण गर्दै गोर्खा समुदायको एकता, पहिचान, सम्मान तथा संवैधानिक अधिकारको संरक्षणप्रति उहाँले जीवनभर देखाउनुभएको निःस्वार्थ समर्पण र नेतृत्वले आगामी पुस्तालाई सदैव प्रेरित गरिरहने बताउनुभएको छ।

उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै भारतीय गोर्खा परिसंघ, असम राज्य समितिले १४ जुलाईदेखि लागू हुने गरी एक साताको शोक अवधि घोषणा गरेको छ। उक्त अवधिभर सम्पूर्ण पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूलाई गरिमापूर्ण ढङ्गले शोक मनाई दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्न अनुरोध गरिएको छ। साहित्य, शिक्षा र समाजसेवामा समर्पित एक असाधारण जीवन १४ फेब्रुअरी १९३९ मा तत्कालीन असमको दराङ जिल्लाको (हाल बिश्वनाथ जिल्ला) गाङमौथान मा जन्मनुभएकी गीता उपाध्याय प्रतिष्ठित सामाजिक तथा सार्वजनिक सेवाको परम्परा बोकेको परिवारमा हुर्किनुभएको थियो। उहाँ प्रख्यात स्वतन्त्रता सेनानी तथा समाज सुधारक छबिलाल उपाध्याय की नातिनी हुनुहुन्थ्यो। उहाँका पिता टंकनाथ उपाध्याय हुनुहुन्थ्यो। उहाँका दाजुभाइमध्ये स्वरूप उपाध्याय तेजपुर लोकसभा निर्वाचन क्षेत्रका पूर्व सांसद तथा स्वर्गीय न्यायमूर्ति अरुणचन्द्र उपाध्याय गौहाटी उच्च न्यायालयका पूर्व न्यायाधीश हुनुहुन्थ्यो। उहाँले गुवाहाटीस्थित हाण्डिक गर्ल्स कलेज बाट स्नातक तह उत्तीर्ण गरी राजनीतिशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको थियो। यस उपलब्धिसँगै उहाँ असमका गोर्खा समुदायबाट स्नातकोत्तर उपाधि हासिल गर्ने पहिलो महिला बन्नुभएको थियो, जसले गोर्खा महिलाहरूलाई उच्च शिक्षातर्फ अग्रसर हुन प्रेरित गर्‍यो। एक आदरणीय शिक्षिका, प्रख्यात साहित्यकार तथा दक्ष अनुवादकका रूपमा गीता उपाध्यायले नेपाली र असमिया दुवै साहित्यमा अतुलनीय योगदान पुर्‍याउनुभयो। साहित्यले संस्कृति र समुदायबीच सेतुको काम गर्छ भन्ने उहाँको दृढ विश्वास थियो। उहाँका अनुवाद कृतिहरूले नेपाली र असमिया भाषी पाठकबीच साहित्यिक तथा सांस्कृतिक आदानप्रदानलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेले।उहाँका चर्चित कृतिहरूमध्ये द डायरी अफ एनी फ्र्याङ्क को नेपाली तथा असमिया अनुवाद, उपन्यास जन्मभूमि मेरो स्वदेश, आत्मकथा जीवनलाई फर्केर हेर्दा, साथै थुप्रै निबन्ध, अनुवाद तथा साहित्यिक कृतिहरू विशेष रूपमा उल्लेखनीय छन्, जसले भारतीय नेपाली साहित्यलाई समृद्ध बनाएका छन्। साहित्य क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानको सम्मानस्वरूप उहाँलाई सन् २०१६ मा साहित्य अकादेमी पुरस्कार प्रदान गरिएको थियो। साहित्य, शिक्षा तथा समाजप्रतिको उहाँको आजीवन समर्पणको उच्च मूल्याङ्कन गर्दै भारत सरकारले सन् २०२५ मा उहाँलाई देशको चौथो सर्वोच्च नागरिक सम्मान ‘पद्मश्री’बाट विभूषित गरेको थियो। भारतीय गोर्खा परिसंघकी संस्थापक अध्यक्ष साहित्यिक योगदानसँगै गीता उपाध्याय एक दूरदर्शी सामाजिक अभियन्ता पनि हुनुहुन्थ्यो। भारतीय गोर्खा परिसंघकी संस्थापक अध्यक्ष का रूपमा उहाँले भारतीय गोर्खा समुदायको संवैधानिक अधिकार, पहिचान, सम्मान तथा समग्र हितको संरक्षणका लागि राष्ट्रिय स्तरको संगठन निर्माण गर्ने परिकल्पना गर्नुभयो र त्यसलाई मूर्त रूप दिन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। उहाँको नेतृत्वमा स्थापित भारतीय गोर्खा परिसंघ आज भारतभर सामाजिक सशक्तीकरण, राष्ट्रिय एकता तथा समुदाय विकासका क्षेत्रमा सक्रिय अग्रणी गोर्खा सामाजिक संगठनका रूपमा स्थापित भएको छ। आफ्नो सम्पूर्ण जीवनभर उहाँ साहित्यकार, शिक्षक, विद्यार्थी, समाजसेवी तथा समुदायका अगुवाहरूका लागि प्रेरणाको स्रोत रहनुभयो। उहाँको विद्वत्ता, सरलता, करुणा तथा सार्वजनिक सेवाप्रतिको अटल प्रतिबद्धताले साहित्यिक, शैक्षिक तथा सामाजिक क्षेत्रमा उहाँलाई उच्च सम्मान दिलाएको थियो।भारतीय गोर्खा परिसंघ, असम राज्य समितिले शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेको छ।


Share this news
आजको रोजाइ
भारतीय गोर्खा परिसंघले आफ्नी असम राज्य संस्थापक अध्यक्षा पद्मश्री गीता उपाध्यायप्रति उच्चतम श्रद्धाञ्जली अर्पण गर्‍यो

भारतीय गोर्खा परिसंघले आफ्नी असम राज्य संस्थापक अध्यक्षा पद्मश्री गीता उपाध्यायप्रति उच्चतम श्रद्धाञ्जली अर्पण गर्‍यो

प्रम मोदीले दिल्लीमा ₹३३ हजार ५००करोड विकास आयोजना आरम्भ गर्दै

प्रम मोदीले दिल्लीमा ₹३३ हजार ५००करोड विकास आयोजना आरम्भ गर्दै

बंगालमा १० करोड वृक्षरोपण गर्ने, नरिवलका बिरुवा रोप्न मुख्यमन्त्रीको जोड

बंगालमा १० करोड वृक्षरोपण गर्ने, नरिवलका बिरुवा रोप्न मुख्यमन्त्रीको जोड

विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल

विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल

सुकुम्बासी समस्या समाधानका लागि साझा दृष्टि निर्माण गर्न सार्वजनिक महत्वको प्रस्ताव

सुकुम्बासी समस्या समाधानका लागि साझा दृष्टि निर्माण गर्न सार्वजनिक महत्वको प्रस्ताव

पद्मश्री उपाध्यायको निधनमा भारतीय गोर्खा परिसंघ असम राज्य समितिद्वारा एक साताको शोक घोषणा

पद्मश्री उपाध्यायको निधनमा भारतीय गोर्खा परिसंघ असम राज्य समितिद्वारा एक साताको शोक घोषणा

बाबुबासा ग्राम सुधार समिति, सिलगढ़ीद्वारा २१२ औॅं भानु जयन्ती समारोह पालन 

बाबुबासा ग्राम सुधार समिति, सिलगढ़ीद्वारा २१२ औॅं भानु जयन्ती समारोह पालन 

अखिल भातीय नेपाली अनुसूचित सङगठनको सिलगढीमा सभा

अखिल भातीय नेपाली अनुसूचित सङगठनको सिलगढीमा सभा

खरसाङ सुपर लीग 2026

खरसाङ सुपर लीग 2026

प्राज्ञिक थलोलाई दलीय राजनीतिमुक्त बनाउने र सुशासन कायम गर्ने साझा प्रतिबद्धता व्यक्त

प्राज्ञिक थलोलाई दलीय राजनीतिमुक्त बनाउने र सुशासन कायम गर्ने साझा प्रतिबद्धता व्यक्त

आजको रोजाइ