Adi kavi bhanu bhakta acharya
Adi kavi bhanu bhakta acharya

आदिकवि भानुभक्त आचार्य र भानु जयन्ती

Share this news

Adi kavi bhanu bhakta acharya

नेपाली भाषाको उज्यालो पहिचानको आधारशिला निर्माण गर्ने मूल कारिगर हुन् आदिकवि भानुभक्त आचार्य। उनी केवल कवि थिएनन्; उनी एक चेतनशील युगद्रष्टा थिए, जसले नेपाली भाषालाई जनमानससम्म पुर्‍याए। उनको जन्म नेपाल मुलुकको तनहुँको रम्घा भन्ने सानो अनकन्टार गाउँमा भएको थियो। उनको भाषिक कलमले नेपाली भाषाको पहिलो महाकाव्य, भानुभक्तीय रामायणको रचना गर्‍यो। यो रामायण हाम्रो भाषिक अस्तित्वको मेरुदण्ड हो।

भानुभक्त आचार्यको जन्म वि.सं. १८७१ सालमा भएको थियो। पारिवारिक संस्कारले संस्कृत भाषामा उनको प्रभावशाली दखल थियो। त्यो बेलाको चलनअनुसार उनले संस्कृत भाषामै लेख र रचनाहरू सृजना गर्न सक्थे, तर उनले सर्वसाधारणले बोल्ने र सहजै बुझ्न सक्ने नेपाली भाषा रोजे। उनले संस्कृत भाषामा लेखिएको वाल्मीकि रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरे, जसले सोझा र निरक्षर नेपाली जनताको चेतनामा रामायण वा रामकथा भित्र्याउने सेतुको कार्य गर्‍यो। भानुभक्तीय रामायणले जनमानसमा रामको भक्ति, धर्म र कर्तव्यको गाथामात्र रोपेन, नेपाली समाजमा भाषिक एकरूपता कायम गर्दै नेपाली भाषा र लिपिमा आत्मीयता र गौरवको सञ्चार गर्‍यो।

भानुभक्तले रचेको रामायण हाम्रा पुर्खाहरूका लागि साधारण पौराणिक कथामात्र थिएन, त्यो शिक्षा, धर्म र संस्कार पनि थियो। संस्कृत जस्तो कठिन भाषामा सीमित रहेको पौराणिक साहित्यलाई सबैभन्दा पहिलोपल्ट जनप्रिय र सरल बनाउने कार्य गरेका कारण उनलाई नेपाली भाषा–साहित्यमा ‘आदिकवि’ को दर्जा प्राप्त भएको हो। उनले गरेको छन्दबद्ध लेखन, भावको गहिराइ र सामाजिक दृष्टिकोण आज पनि उत्तिकै प्रासङ्गिक र प्रेरणादायी छ।

भानु जयन्ती, अर्थात् असार २९ गते, आदिकविको जन्मजयन्ती मात्र होइन, यो दिन नेपाली भाषा, साहित्य र संस्कृतिको उत्सवको पर्व बनिसकेको छ। भारत, नेपाल, भुटान, बेलायत, अमेरिका, अस्ट्रेलिया, सिङ्गापुर लगायत अनेकौं देशहरूमा रहेका नेपाली भाषी समुदायहरूले यो दिन विविध कार्यक्रममार्फत मनाउँछन्, जसमा कविता वाचन, वक्तृत्व, नाटक, सांगीतिक कार्यक्रम, प्रभातफेरी, साहित्य गोष्ठी आदि समावेश हुन्छन्। यो दिन विशेषतः युवाहरूमा भाषाप्रतिको माया र गर्व जागृत गराउने माध्यमका रूपमा लिइन्छ। तर ‘भानु जयन्ती’ केवल सांस्कृतिक शोभायात्रा वा औपचारिक समारोहको रूपमा सीमित हुनु हुँदैन । यो दिन हामीले आत्मसमीक्षा गर्ने दिन हो।

के हामीले भानुभक्तले देखाएको भाषिक बाटोलाई निरन्तरता दिइरहेका छौं? नयाँ पुस्तामा नेपाली भाषाप्रति कति लगाव छ ? भाषिक चेतनाले नयाँ पुस्तालाई मार्गदर्शन गरेको छ त?

आजको पुस्ता स्मार्टफोन, इन्टरनेट र अंग्रेजी तथा अन्य भाषिक प्रभावबीच हुर्किरहेका छन्। तर भाषा मात्र सन्देशको माध्यम होइन, त्यो हाम्रो परिचय, सोच्ने तरिका र सामाजिक सम्बन्धको मूलजरा पनि हो। नेपाली भाषालाई जोगाइराख्न बाल्यकालदेखि नै मातृभाषाको अभ्यास र प्रयोगमा जोड दिनु अत्यावश्यक छ। विद्यालयमा नेपाली भाषाको शिक्षालाई बलियो बनाउने, बाल साहित्य, डिजिटल सामग्री र प्रविधिमा नेपाली भाषा प्रयोग बढाउने हो भनेमात्र हामीले हाम्रो मातृभाषा जीवित राख्न सक्छौं।

भानुभक्तको योगदान आजको पुस्ताका लागि दीपशिखा झैँ हो-अन्धकारमा बाटो देखाउने। भानुभक्तले लोक भाषामा जनसाधारणका लागि लेखे। लोक भाषामा धर्म र नीति उतारे र जातिलाई भाषा मात्र होइन, संस्कार पनि दिए। आज हामीले पनि यही परम्परा अगाडि बढाउनुपर्छ। सामाजिक सञ्जालमा नेपाली भाषामा लेख्न, बोल्न, सिर्जना गर्न, साझा मञ्चहरूमा नेपाली भाषालाई प्रमुखता दिन र घर–परिवारमा समेत ठेट नेपाली भाषाको प्रयोग गर्न आवश्यक छ।

भविष्यसम्म नेपाली भाषा जोगाउन चाहने हो भने हामीले आजदेखि नै यसमा लागिपर्नुपर्छ। केवल पर्व वा जयन्तीमा माला चढाएर होइन, प्रत्येक दिनको व्यवहारमा नेपाली भाषालाई प्रयोग गरौं। हाम्रो पुर्खाको साहित्यिक योगदान हाम्रो निम्ति पुर्खाको नासो वा गौरव हो र यसको मलजल गर्नु हामी सबैको उत्तरदायित्व पनि हो।

त्यसैले, भानु जयन्तीलाई हामीले साहित्यिक श्रद्धाञ्जलि समारोहमात्र सीमित नराखेर भाषिक जागरणको पर्व बनाऔं। नेपाली भाषालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न सक्यौं भने त्यो नै आदिकविप्रतिको साँचो सम्मान र श्रद्धाञ्जली हुनेछ।

जय भानुभक्त! जय मातृभाषा!

Credits: अर्जुन शर्मा निरौला

गीतखोला – कालेबुङ

११\०७\२०२५

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ