“यो देशमा पैसाको कमी छैन। कमी छ त केवल इमान्दारितासँग देशको लागि काम गर्ने नेताको।”
यो भनाई हो, केन्द्रिय सड़क परिवहन अनि राजमार्ग मन्त्री नितिन गड़करीको। उनले धेरै दिनअघि कुनै एउटा अवसरमा यसो भन्दैथिए। भनाई साँचो हो। देशमा पैसाको अनिकाल छैन। पौरखी, व्यवसायीहरूको हातबाट पैसा कहिल्यै निख्रिँदैन। जताततै पैसा छरिएको छ। तर देशमा इमान्दारितासँग काम गर्ने नेताको चाहिँ अनिकाल छ। अनेक थरिको जात-जाति, अनेक थरिको बोली-भाषा, सुसंस्कार- सुसंस्कृति, रीति थितिको सुन्दर मिश्रणबाट निर्मित भारत अनि भारतीय संस्कृति कता हो कता सुन्दर अनि धनी छ। अनेक जात- जाति, भाषा, संस्कार-संस्कृति बोकेको भारत देश विश्वमा एक सारांश हो। यसलाई अझ सुन्दर बनाउन ठूलो चित्तको खाँचो पर्छ। यसमा सबैभन्दा महत् विषय हो राजनीति। राजनीतिक इच्छाशक्तिले चाहेमा देशलाई उच्च स्थानमा पुर्यािउन सक्छ। देश तथा व्यवस्थालाई नमूना बनाउन सक्छ, अथवा राजनीतिबाट देश, देशवासी, अवसरहरू सबैले आड़ लिएको हुन्छ। राजनीतिमा सफल, योग्य नेता भए देश सप्रन्छ। सबैलाई नियाल्ने, सबैप्रति ध्यान पुर्या उने अङ्ग भनेको राजनीति हो, अनि राजनीतिमा काम गर्ने नेताहरूको मन, अध्ययन, चिन्तन गतिलो भइदिए देशलाई विश्वको दाँजोमा उभ्याएर सबैभन्दा उत्कृष्ट बनाउन समय लाग्दैन। राजनीतिक नेताहरूसँग मन हुनुपर्यो । देश, राज्यको उन्नति हुनु कसैलाई पर्खनु पर्दैन।
यतिबेला म सिक्किम राज्यमा भइरहेका विकासीय कुराहरूको धेर नगीच पुग्दैछु, अथवा सिक्किम राज्यमा भइरहेका ती विकासीय कार्यहरूको चर्चा नगरी बस्न मेरो कलमले मानेन। पर्यावरण दिवस अथवा रूखको बिरूवा रोपणी गर्ने दिनको थालनी 5 जून। त्यो दिनले आम राज्यवासीमा मात्र नभएर देशलाई नै सोंचको एउटा बाटो दिएको थियो। त्यो कुरा साह्रै उदाहरणीय लाग्यो। बिहानैको सूर्योदयपछि मुख्यमन्त्री पीएस तामाङ गोले सरकारी उच्च अधिकारीहरूको टोलीसँग रूखको बिरूवा रोप्न देउराली टिबेटोलजी परिसरमा पुग्छन्। त्यतिखेर मुख्यमन्त्री गोलेले रूख मात्र रोपेनन्, उनले सबैको हृदयमा सोंचको बिरूवा नै रोपिदिए। रूखको बिरूवा रोप्दै वन विभागमा कर्मरत कर्मचारीहरूलाई पनि सम्झना गरे। विभागमा कर्मरत कर्मचारीहरूको खोजी पनि गरे। उनीहरू कस्तो अवस्थामा छन्, कसैमाथि अप्ठेरो परेको पो छ कि सबै विषयको सोधीखोजी गरे। खोज्दैजाँदा एक कर्मचारीको अवस्था सुनेर मुख्यमन्त्री धेरै भावुक भए। केही बोलिहाल्न सकेनन्।
मस्टर रोलमा कर्मरत पेशाले एक चालक कर्मचारीले दश महीनादेखि वेतन नपाएको कुरा सुनेर मुख्यमन्त्री अवाक परे। एकछिन चुपचाप सुनिरहे। दश-दश महीनादेखि वेतन नपाउँदा उनको घर कसरी चल्दै होला ! आफ्ना नानीहरूको पढ़ाई, घर-खर्च कसरी चलाइरहेका होलान् ! मुख्यमन्त्री भावमग्न भए। अत्यसपछि तुरन्त बोले, टाउकोमा खर्चको बोझ बोक्न नसकेर यदि ती कर्मचारीले आत्माहत्या तथा त्यस्ता कुनै नराम्रो घटनामा लाग्ने मन बनाएर शरीर नाश गरेको भए त्यसको जिम्मेवार को हुन्थ्यो ? यस्ता अनगिन्ति प्रश्न गरे। वन अधिकारी तथा उच्च अधिकारीहरूसँग मुख्यमन्त्रीको प्रश्नसँग जुझ्ने उत्तर थिएन। केवल सुनिरहे। त्यति नै खेर मुख्यमन्त्रीले वन विभागीय अधिकारीहरूलाई तुरन्त ती कर्मचारीको वेतन दिइहाल्ने हुकूम गरे। एक साधारण कर्मचारीलाई एक एक वर्षसम्म वेतन नदिएर टाउकोभरि ऋणको भारी बोकाउँदै प्यालाक प्यालाक पार्ने अधिकारीको खोजी गरी उसको पनि एक वर्षको वेतन रोक्ने हुकूम दिए। मुख्यमन्त्रीको हुकूम हुनासाथ चौबीस घण्टा समय बित्न नपाई ती कर्मचारीको नाममा दश महीनाको वेतन प्रदान गर्योत विभागले। त्यतिबेला ती कर्मचारी कति खुशी भए होलान् ! झण्डै वर्षदिनसम्म आर्थिक रोगसँग थल्लिएर केही गर्नै नसक्ने अवस्थातिर धकेलिरहेको कर्मचारीले सबै रहल वेतन एकसाथ पाउँदा कति खुशी भए होलान् ! मुख्यमन्त्रीलाई मनको पवित्र गहिराइबाट कति आशीर्वाद दिए होलान् !
हो, देशमा पैसाको अनिकाल छैन। तर जनताको काम गरिदिने नेताको ठूलो अनिकाल छ। भाषण गर्दा थप्पड़ी कमाउनखोज्ने नेताहरूको देशमा कमी छैन। मञ्चमा माइक भेटेपछि भावुक भाषण गर्न नेताहरूको तँछा़ड़ मछाड़ लाग्छ। आफ्नो आँगमा जेसुकै होस् अर्काको आँगमा भएको जुम्रा देखाई हालौं भन्नेखाल्का मन बनाएर अरूमाथि आरोप मात्र लगाएर श्यावासी कमाउन खोज्ने नेताहरू राजनीतिक मञ्चभरि छ्यापछ्यापी छन्। भाषण सिद्ध्याएर मञ्चबाट तल ओर्लिएपछि उसको बोलीमा थप्पड़ी पड़्काएर ऊर्जा भर्ने ती जनतालाई बिर्सिने नेताहरूको भरमार छ। देशमा जनताको केही काम गरौं भन्नेहरूभन्दा जनतालाई कतिसम्म ठगौं भन्नेखाल्का मन बनाउनेहरूको कमी छैन। यस्ता अनगिन्ति बेथिति, कुसंस्कार अनि अव्यवस्थाको अन्त गरी नयाँ विचारको विजारोपण गरौं भन्ने सङ्कल्प र मन बनाएर एसकेएम नेता तथा मुख्यमन्त्री पीएस तामाङ गोले सफलतापूर्वक दोस्रो कार्यकालमा राज्यवासीको सेवार्थ लागिपरेका छन्। राज्यलाई अझ विकसित गराउन, नयाँ नयाँ थालनीहरूतिर घचेट्न मुख्यमन्त्री गोलेको वृषभस्कन्धे प्रयास छँदैछ।
चारैतिरबाट डाँड़ा-पर्वत, हिमाल, वन जङ्गलले ढाकेको देशकै सानो राज्य हो सिक्किम। देशमा सुन्दर अनि सानो राज्य भनेर चिनिने सिक्किम नयाँ नयाँ योजनाहरू बोकेर काममा लागिपरेको फलस्वरूप देशले सिक्किमको नाम गर्वले लिँदछ, यसमा कुनै शङ्का छैन। यो राज्यलाई सुन्दर अनि सुव्यवस्थित बनाउन मुख्यमन्त्रीले आफूसँग भएको सबै समय राज्यलाई नै समर्पण गरेका छन्। बिहान उठेदेखि बेलुकी सुतुञ्जेल उनी राज्य अनि राज्यवासीको उन्नतिमा लागिपरेको उनका कार्यहरूले स्पष्ट गरिसकेको छ। यसैको उदाहरणमा ती वनकर्मी चालक पर्दछन्। मुख्यमन्त्री स्वयंले खोजी गरी कर्मचारीको सङ्कटलाई पार लगाउन गरिएको यो कार्यलाई निश्चय सानो मान्न सकिँदैन। उनको घरमा कसरी चुह्लो जल्दैथियो होला, घरमा आइपर्ने असुविधासँग कसरी जुझिरहेका थिए होलान् ! निश्चय गम्भीर विषय हुन् जुन विषयले मुख्यमन्त्रीको हृदयमा पनि चोट पुग्यो। त्यसैले ती कर्मचारीको समाधानको बाटो तुरन्तै तय गरिदिए।
मुख्यमन्त्री गोले त्यतिखेर रूखको बिरूवा रोप्दै थिए। तर उनले त्यतिखेर बिरूवा मात्र नरोपेर राज्यमा नयाँ विचारको विरूवा रोप्दैथिए। सबैलाई सहयोग, सबैलाई न्याय, सबैलाई अवसरको विजारोपण गरिरहेका थिए। यी विचारका बिरूवा नै मौलिएर भोलि सिक्किम राज्यभरि विशाल वृक्षहरूमा परिणत हुनेछ। राज्यवासीले त्यतिखेर ढुक्कको स्वास लिन सक्नेछन्। मुख्यमन्त्रीबाट गरिएका यी कार्यहरू भोलि राज्यमा मात्र नभएर देशमा सबैको लागि उत्तम शिक्षा बन्नेछ। राजनीतिक नेता अनि राजनीतिक मञ्चहरूको लागि यो कार्य अनुपम शिक्षा बन्दछ। समयले यस्ता कार्यहरूको अनुकरण हुनुपर्छ भन्ने हुटहुटी लगाइरहेछ। मुख्यमन्त्री गोलेबाट गरिएका यी कार्यहरू आज राज्यवासीको लागि प्रेरणा बनेर उभिएको छ।
मुख्यमन्त्री गोलेबाट राज्यवासीको सेवार्थ यस्ता कार्य अनगिन्ति छन्। रोगले ओछ्यान परेको, रोगले थलिएको बिरामीलाई होस् कि पढ़्दैगरेका विद्यार्थीहरूलाई शिक्षा आर्जनमा सहयोग गर्नु होस् मुख्यमन्त्रीबाट कतै कञ्जुसी भएको सुनिँदैन। रोजगार, नौकरीको लागि होस् कि बस्ने एउटा गतिलो घर बनाउनु होस् मुख्यमन्त्रीबाट सहयोग पाइरहेका छन्। मुख्यमन्त्री गोलेको अनुपम कार्यको फलस्वरूप यतिखेर देशमै सिक्किम प्रशंसामा छ।।
