रेवतीरमण सापकोटा, ओदालगढी
” ऐ छिचिमिरो, कता हिँडेको?”
” ल! आज त छिचिमिरो निकै ठाँटबाटमा आयो त हौ? यति लामो कपालमा शालिमारको नरिवल तेल घसेर चिल्लो पो भैछस् त?”
सहपाठी रामे, किस्नेहरूका यस्ता तानाहरू सुन्दा सुन्दै अब त शिवका कान पनि थोत्रि सके। ऊमाथि केही प्रभावै पर्दैन। उसलाई थाहा छ, छिचिमिराको अर्थ, तर उसका सहपाठीहरूलाई के थाहा? ऊ मनमनै हाँस्छ।
शिव दुब्लो पातलो, गरीब बाबु आमाको एक्लो छोरो। गाउँको एल.पी., एम.ई. दुवै स्तरका विद्यालयबाट सधैं प्रथम स्थानमा आउने, यसपालि पनि प्रथम स्थान ओगटेर गाउँ छेउको हाइस्कुलमा नामभर्ती गरेको छ उसले। ऊसँगैका केही सहपाठी एल.पी. र एम.ई. मै रहे । परीक्षाको तगारो नाघ्नै सकेनन्। शिवसँगका पाँचजना चाहिँ यही हाइस्कुलमा आए। यहाँ पनि शिवका पुराना सहपाठीहरूका सङ्गतले नयाँहरूले पनि उसलाई छिचिमिरा भनेरै गिल्ला गर्न लागे। पढाईमा अब्बल हुनाले शिव छिट्टै सबै शिक्षकहरूको आँखाको तारो भयो- यो कुरो उसका आह्रिसे सहपाठीहरूलाई पचेन। एकदिन हिन्दी पढाउने पाण्डे सरले क्लासमा कबीर दासको एउटा दोहा पढाउनु भयो :
“निन्दक नियरै रखिए,आँगन कुटी छवाय।
बिन पानी, साबुन बिन, निर्मल करे सुभाय।।”
यो दोहाले शिवको जीवनको पट नै परिवर्तन गरिदियो।
सानैदेखि खगोल भौतिकी र ज्योतिर्विज्ञान पढेर ठुलो खगोल भौतिकी र ज्योतिर्विज्ञानी हुने सपना देखी आएको शिवले कबीर दासको यही दोहालाई मन्त्ररूपमा लियो। उसले लक्ष्य स्थिर गऱ्यो नभोमण्डलको अध्ययन गर्नेछ ऊ। स्कुलमा हुने विज्ञान प्रदर्शनीमा उसले रातोमाटाको ग्रह मङ्गलमाथि आफ्नो प्रोजेक्ट दाखिल गऱ्यो। त्यो मनोग्राही प्रोजेक्टले शिवलाई राज्यस्तरीय विज्ञान प्रदर्शनीमा शीर्ष स्थानमा ल्यायो। मङ्गल ग्रहमाथि उसको उच्चस्तरीय व्याख्यानले शिवलाई इण्डियन स्पेस रिचर्स अर्गेनाइजेसन(इसरो)को अध्यक्षको आँखा अघि उभ्यायो- ठिङ्ग।
“कौनसी क्लास में हो बेटा?” शिवका शिरमा सुम्सुम्याउँदै प्रोफेसर ड० रावले उसलाई सोद्धा ऊ झसङ्ग भयो।
“सर, टेन में हुँ।” उसले नमस्ते मुद्रामा उत्तर दियो।
“अबसे तुम्हारे पढाई सब हम देखेंगे, तुम ध्यान लगाके पढाई करो, ग्यारहवीं क्लास में साइन्स लो, और सबकुछ हमारी जिम्मेदारी होगी।” यति ठुला र विख्यात विज्ञानीबाट यसरी स्वीकृति पाएर शिव अझ उत्साहित भयो। ऊ भित्र आत्मविश्वास र अचम्मको जाँगर पलाएर आयो।
बङ्गलौरबाट यसरी ‘इसरो’को उद्यम र प्रोत्साहन पाए पछि शिवलाई राज्य सरकारले कटन विश्वविद्यालयको विज्ञान विभागमा पढायो खर्च बेहोरेरक। बाह्रौंको फाइनल परीक्षामा शिवले शिवकै शक्ति देखाएर शीर्ष स्थान प्राप्त गऱ्यो। उसलाई गुवाहाटी आई.आई.टी.बाट झट्टै कल पनि आयो। उसको रूचि र सपनाको विषय स्नातक तहमा एस्ट्रोफिजिक्स लिएर पढ्न लाग्यो। दिनभरि क्लास, प्रेक्टिकल, बेलुकी उसको मङ्गलग्रह माथिको विस्तृत अध्ययन। पृथ्वी र मङ्गल ग्रहको दूरत्व ३३९.४६ मिलियन किलोमिटर, सूर्यको चारैतिर परिक्रमामा यो रातो ग्रहलाई लाग्ने ६८७ दिन, हाम्रो पृथ्वी भन्दा प्रायः दोब्बर, यसका दुईवटा उपग्रह डैमोस र फोबस ……।
पार्वती। तेइस वर्षकी सुन्दरी युवती। ऊ पनि शिवकै सहपाठी। उसलाई पनि ‘इसरो’ पुग्ने सपनाले सताएको छ। अवकाश प्राप्त कर्नल राम बहादुर थापाकी छोरी पार्वती। पढाईमा उसको प्रगति देखेर कर्नल साहबले बिहे भन्दा छोरीको सपना ठुलो मान्दै गुवाहाटी आई.आई.टी.मै नामभर्ती गरिदिए। आई.आई.टी.जस्तो उच्चस्तरीय शिक्षानुष्ठानमा पढ्न पाउनु, पढाउन पाउनु लर्तरो कुरो होइन त! कर्नल साहब आफ्ना मकैमुठे जुँगा सुम्सुम्याउँदै मुस्कुराउँछन्।
क्लासमा शिव पार्वती भने पछि सबैले चिन्ने भए। दुवैको रूचि,सपना र लक्ष्य एउटै। आई. आई. टी. परिसरमा एकपल्ट त सहपाठीहरूले शिवरात्रीको बेला साँझपख दुवैजनालाई जीवन्त शिव-पार्वती बनाएर पूजा पनि गरे।कति अविस्मरणीय क्षणहरू बिते यसरी यी दुवैका! हावाले यो कुरो कर्नल साहबका कानसम्म पुऱ्याएरै शान्त भयो।
यता परीक्षा आयो। शिव पार्वतीको जोडीले आई.आई.टी.को अहिलेसम्मको ज्योतिर्विज्ञानका सबै रेकर्ड तोडेर प्रथम र द्वितीय स्थान प्राप्त गरे। साक्षात् शिव-पार्वती। विभागका प्रोफेसरहरूले पनि यही सोच्न बाध्य भए।
उता बङ्गलौरबाट शिव-पार्वती दुवैजनालाई भारतवर्षको मङ्गल मिसनमा सामेल गरिएको कल आयो। पार्वतीका बाबुले सोचे, म किन दक्ष प्रजापति भएर विरोध गर्नु? उनले आनेकाने पाराले शिवसित छोरीको घनिष्ठता बढ्दै गएको सुनेका थिए। दुवैको सहमतिमा बिहे पनि गराइदिए। विज्ञानी छोरी ज्वाँई पाएर कर्नल साहबको खुसीको सीमा रहेन।
मङ्गल मिसनमा शिव-पार्वतीको युगल प्रयासले सकरात्मक फल दियो। मिसनमा व्यवहार गरिएको रकेट र मङ्गलको रातो माटामा सफलरूपले भारती नामको रोबोट उतार्ने शिव पार्वतीलाई राष्ट्रपति, प्रधानमन्त्री लगायत शीर्ष अधिकारी,विज्ञानी र आम जनताले अभिनन्दन ज्ञापन गरे। बेलुकी खुसी हुँदै शिवले पार्वतीलाई भन्यो, ” म एक्लै भएको भए त के हुने थियो होला यो मिसन! आज सम्झन्छु अमेरिकन खगोल विज्ञानी असाफ हल र उनकी पत्नी एन्जेलिनालाई। सन् १८७७मा हलले मङ्गलका उपग्रहको खोजी गर्दा गर्दा अधैर्य भए पछि एन्जेलिनाले उनलाई दिनरात प्रोत्साहन दिएकी थिइन्। एन्जेलिनाको प्रोत्साहनले नै गर्दा भोलिपल्टै डैमोस* र छ रात पछि उनले दोस्रो उपग्रह फोबस**को पत्तो लगाउन सक्षम भएका थिए। तिमी मेरी पार्वती एन्जेलिना जस्तै। शिवले पार्वतीलाई मायाँ गर्दै अँगालो हाल्छ। कृतज्ञता र मायाँले पार्वतीका आँखा रसाउँछन्। दुवैजना केहीक्षण एक अर्कामा विलीन हुन्छन् मानौं उनीहरू अहिले अन्तरीक्षको उडानमा छन् ,लक्ष्य रातो मङ्गल ग्रह।
शिव पार्वती। उम्दा भारतीय युवाविज्ञानीहरूको सूचीमा अग्रिम पङ्क्तिमा स्थान पाएका नवदम्पति। मङ्गल मिसनको सफलता पछि गृहराज्यमा दुवैको पहिलो पदार्पण। गुवाहाटी बरझारको गोपीनाथ बरदलै अन्तर्राष्ट्रिय हवाई अड्डाको बाहिर पट्टी स्वयम् मुख्यमन्त्री, अन्य मन्त्रीहरू र संवाद माध्यमका पत्रकारहरूको ठुलो हुजुम छ। बङ्गलौर गुवाहाटीको फ्लाइट रोकिए पछि व्यस्तता बढ्यो। हवाईअड्डाबाट बाहिरिने साथ मुख्यमन्त्रीले शिव पार्वती दुवैलाई अभिनन्दन गर्दै फूलबुट्टे गम्छा र जापी*ले सम्बर्द्धना ज्ञापन गरे। वैद्युतिक संवाद माध्यम र समाचार पत्रका पत्रकारहरूले आ-आफ्ना केमरामा यो मधुर क्षणलाई कैद गरे। मुख्यमन्त्रीले उनीहरूकै सामु पत्रकारहरूलाई जनाए यस्ता प्रतिभावान युवा विज्ञानीलाई लिएर हामी आज गर्व अनुभव गर्दछौं र राज्य सरकारले यी दुवै युवा विज्ञानीलाई एकेक करोड रूपियाँको सदिच्छामूलक पुरस्कार घोषणा गर्दछ र हाम्रा युवा प्रजन्मलाई विज्ञान शिक्षा प्रति आकर्षित गराउने उद्देश्य लिएर यो विज्ञानी दम्पतिलाई राज्य सरकारको विज्ञानको ब्रान्ड एम्बेसडर नियुक्त गर्दछ। दिउँसो पञ्जाबारीको शङ्करदेव कलाक्षेत्रमा शिव-पार्वतीको नागरिक अभिनन्दन कार्यसूचीमा राज्यभरिका विश्वविद्यालय, महाविद्यालय र विद्यालयका प्राध्यापक, प्राध्यापिका, विद्यार्थीहरूले यो नवदम्पतिलाई जोशका साथ अभिनन्दन जनाए।
आज दिनभरि राज्यका सबै टीभी च्यानल र समाचार पत्रमा शिव-पार्वतीको फोटोसहितको विस्तृत समाचार देखाइयो,छापियो। यो अविस्मरणीय मुहूर्त शिक्षक र विद्यार्थीहरू सबैका लागि दृष्टान्तमूलक बन्यो। एउटा टीभी च्यानलले त यो विज्ञानी दम्पतिको प्रेमकथा र शिव पुराणमा पाइने शिव-पार्वतीको महिमासित तौलिंदै विस्तारसाथ कथा पनि सुनाइरहेको थियो ।
आज शिव-पार्वतीको आफ्नो गाउँ आगमन। शिवले पढेको स्कुलमा गाउँले र विद्यालय परिचालना समिति मिलेर दुवैलाई सम्बर्द्धना ज्ञापन गरे। यही सभाको अन्तिम बैन्चमा बसिरहेका रामे र किस्ने हेरिरहेका थिए। सानो छँदा शिवलाई यी दुईजनाले कम सताएका थिएनन्! आज शिवको यस्तो विश्वरूप देखेर दुवैजना स्तम्भित भए। नहुनु पनि किन? अर्थै नबुझी छिचिमिरो भनेर जसलाई गिल्ला गरे, अहिले उही विख्यात विज्ञानी बनेर उनीहरू सामु बसेको छ पार्वतीलाई लिएर! दुवै अनुतप्त हुँदै नतमस्तक मुद्रामा बसिरहे। पुराना स्कुले यी दुवै सहपाठीको मनोदशा बुझ्न शिवलाई कतिबेर पनि लागेन। ऊ एकक्षणका निम्ति मञ्चबाट उत्रिएर उनीहरू सामु गएर उभियो। रामे र किस्नेका आँखा छचल्किए। “शिव, हामीलाई क्षमा गर, हामीले तिमीलाई धेरै गिल्ला गरेथ्यौं।” रामे नतमस्तक रहेरै उभिएर भन्छ। “धत्, के भनेको? तिमीहरूले त मेरो जोश र लक्ष्यलाई ऊर्जा पो दिएका थिएउ त। म त व्यक्तिगत रूपमा तिमीहरूलाई धन्यवाद दिन चाहन्छु।” शिवले हाँस्दै भन्छ, “आज रातिको खाना हामी सबै मिलेर मेरो पुरानो घरमा खाने है। आउनु नि।”
आज पनि शिवलाई गाउँको स्कुलको सम्झना आउँछ। गाउँको स्कुलमा उसलाई छिचिमिरा भनेर गिल्ला गर्ने साथीहरूको चित्र आँखा अघि आउँछ। मानौं ऊ ती सहपाठीहरूलाई भन्दैछ, म छिचिमिरा जस्तो दूलाबाट प्वाँख पलाएर उडेको केहीक्षण पछि मर्ने किरो होइन। मेरा प्वाँख छन् अन्तरीक्षसम्म उड्न सक्ने, अन्तरीक्षको सतहदेखि अझ माथि उड्न सक्ने।
०००