सिलीगुडी नजिकैको डाबग्राम–२ ग्राम पञ्चायतअन्तर्गत पर्ने तेलीपाडा क्षेत्रमा वर्षौंदेखिको निकास (ड्रेनेज) समस्याले स्थानीय बासिन्दाको जनजीवन कष्टकर बनेको छ। सामान्य वर्षा हुँदा पनि सडक र बस्ती जलमग्न हुने गरेको भन्दै स्थानीयवासीले तत्काल स्थायी समाधानको माग गरेका छन्।स्थानीयका अनुसार नालीको उचित व्यवस्थापन नहुँदा वर्षाको पानी लामो समयसम्म जमेर बस्ने गरेको छ। यसका कारण सडक हिलाम्मे हुने, आवतजावतमा समस्या हुने तथा घरभित्रै पानी पस्ने अवस्था बारम्बार दोहोरिने गरेको उनीहरूको गुनासो छ। पानी जमिरहँदा लामखुट्टेको प्रकोप बढ्नुका साथै विभिन्न सरुवा रोग फैलिने जोखिमसमेत बढेको स्थानीयवासीको भनाइ छ। बासिन्दाहरूले सम्बन्धित निकायलाई पटक–पटक समस्या समाधानका लागि ध्यानाकर्षण गराए पनि हालसम्म कुनै स्थायी पहल नभएको बताएका छन्। उनीहरूले तत्काल नाली सफा गर्ने, नयाँ ड्रेनेज प्रणाली निर्माण गर्ने तथा वर्षाको पानी सहज रूपमा निकास हुने व्यवस्था मिलाउन माग गरेका छन्।यता, स्थानीय प्रशासन तथा पञ्चायतका प्रतिनिधिहरूले समस्याबारे जानकारी रहेको जनाउँदै आवश्यक प्राविधिक अध्ययनपछि समाधानका लागि पहल गरिने बताएका छन्। यद्यपि, स्थानीयवासीले वर्षायाममा समस्या झन् गम्भीर हुने भएकाले ढिलाइ नगरी तत्काल काम सुरु गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।












