–रीना सुब्बा।
सिङ्गो नेपाली साहित्यमा ‘भोलिको प्रतीक्षा’ उपन्यासले प्रथम नारीवादको स्थान सुरक्षित गर्न नसके पनि भारतीय नेपाली साहित्यमा भने उपन्यासकार पुष्पा राईको समकालीन लेखक वा पूर्वका लेखकहरूबाट भोलिको प्रतीक्षा उपन्यासले भिरेको प्रथम नारीवादी लेखनलाई च्युत पार्ने कुनै पुस्तक भेटिन्न। जेठीकान्छी मात्र होइन, जेठाकान्छाहरू पनि पारम्पारिक लेखनमा नै रमाइरहेको अवस्थामा भोलिको प्रतीक्षा उपन्यासले नयाँ चेतनाको झण्डा फर्फराएको मान्न सकिन्छ। तथापि, भारतीय नेपाली साहित्यिक इतिहासमा उनको लेखनको महत्वलाई पुरुषप्रधान व्यवस्थाले सही मूल्याङ्कन गर्न सकेन। यस्तै लैङ्गिक विभेदमा पिसोल्टिएर निकै पछि रेमिका थापाबाट यस उपन्यासले न्याय पाएको छ भन्ने मलाई लाग्छ। तथापि थापाको समालोचनामा पनि एउटा खड्की रहेको विषय भने छँदैछ, जसलाई यहाँ नराखी सकिन्न। थापा भन्छिन्: “हेर्दा हेर्दा जितेको युद्ध मर्दा मर्दा बाँचेको जीवन कथा उपन्यासमा छ जहाँ एकजना नारीले लड्ने र जिउने हठ लिएको छ।” (पृष्ठ. ४३)
एउटी स्त्रीले जीवनसँग लडिरहेको युद्धलाई लेखकहरू किन ‘हठ’ जस्तो निन्दाजनक शब्दार्थ प्रयोग गर्छन्। सन् 1968 मा विश्वेश्वर प्रसाद कोइरालाले पनि ‘तीन घुम्ती’ उपन्यासकी नायिका इन्द्रमायाले आफ्नो जीवनका तीन महत्त्वपूर्ण घटनामा लिएको साहसिक निर्णयलाई ‘हठ’ भनिसकेका छन्। वास्तवमा थापाले स्त्री अस्तित्वको परम्परागत अवधारणालाई चुनौती दिने विषयलाई तन्काए पनि ‘हठ’ शब्द पितृसत्तात्मक हुनाले यो यस शब्दलाई स्त्रीहरूको निम्ति निन्दनीयको रूपमा प्रयोग गरिएको पाइन्छ। जब कुनै एक पुरुषले लिएको निर्णय हठलाई साहसको रूपमा प्रशन्सा गरिन्छ। यहाँ थापा पनि शक्तिले जीवन सङ्घर्षलाई चुनौती दिँदै गरेको साहसलाई निन्दाजनक ‘हठ’ नै देख्छिन्। यो त पारम्परिक लेखन शैली होइन र!
अब मुख्य विषयतिर लागौँ, भोलिको प्रतीक्षा उपन्यासकी मुख्य पात्रा शान्ति विकलाङ् हुनको साथ-साथै उ एउटी छोरी पनि हो। यस उपन्यासमा एउटी छोरीले जन्मदेखि नै अवहेलना झेलेर आफू आमा हुँदाको सुखद अनुभवसम्मलाई समेटेर नारी चेतना र जागृतिको शङ्खघोष गरेको पाउँछौँ।
यस उपन्यासको प्रथम पृष्ठमा पितृसत्ताको प्रकोपमा पारेर स्त्रीहरूलाई जुन परिभाषामा बाँधेर उनीहरूको परिस्थितिलाई अर्थ्याइएको छ, त्यसबाट उनीहरूको जीवन कसरी माकुरी जालमा जकडिएर पराधीन अवस्थामा बाँचेका छन्, उपन्यासकार गजबले दर्शाउन सफल छिन्- “मैले आजन्म पहिल्याउन नसकेकी तर समाजले गजबसित उभ्याएको हाँक। कसिएको जसको गाँठोलाई केवल नकारात्मकताले मैले विवश स्वीकारेकी र यतिञ्जाल जसलाई आफ्नो नाङ्गो ढाड़मा हात्तीको हाँक मैले बोक्दै आएको। …………. ती आपस्तमा जेलिएका गाँठाहरू संसार र समाजले साझा सकारेको त्यस हाँकलाई एक एक गरी फोएर म निर्धक्क जुध्न समर्थ भएकी छु।” (पृष्ठ.१)
यसरी उपन्यासको प्रथम पृष्ठले नै स्त्री मान्छेको चेतनाको मूल फुटाएको पाउन सकिन्छ। सामाजिक संरचनामा जे जति स्त्रीद्रोही नैतिकताहरू छन् यो पुरुषसत्ताको हाँक हो। स्त्री मान्छेलाई दबाउन तब यस्तो हाँकलाई शान्तिले स्वीकार्दै ती स्त्रीद्रोही सामाजिक नैतिकताहरूलाई फोरेर निर्धक्क पुरुषसत्तालाई हाँक दिन सफल भएकी मान्न सकिन्छ। अहिलेसम्म पारम्परिक लेखनमा स्त्री अथवा स्त्रीचरित्रले केवल दुर्बल, अबला, कामुक, कुल्टा आदि स्थान पाइरहेको देखिन्छ तर उपन्यासकार पुष्प राईको “भोलिको प्रतीक्षा’’ उपन्यासले पारम्परिक लेखनको समेत सातो काड़ेको छ। कुनै पनि समाजमा छोरीको जन्मलाई भन्दा छोराको जन्मलाई अत्याधिक महत्व दिने गर्छ। जस्तै एतरेन ब्राह्मण ६/३/७/१३/ मा गर्भवती नारीका लागि पूर्ववत् एक महत्वपूर्ण अनुष्ठान हो, जुन मनौतीमा गर्भमा भएको सन्तान छोरा होस् भनी मनौती गरिन्छ। (पृष्ठ. 20) यसरी नेपाली समाजमै पनि हेरौँ परापूर्वकालदेखि छोराको निम्ति मनौती गर्ने चलन एक संस्कारकै रूपमै पालन गरिँदै आएको पाइन्छ। यदि यो संस्कार कतिपय गाउँ-घरमा सम्पन्न गर्न सकिन्न भने देवी-देवतासमक्ष भाकल राखेर मन्दिर धाउने संस्कार पनि छँदैछ। वर्तमान समयमा पनि यस्तो मनौती वा भाकल राख्ने चलन विद्यमान नै देखिन्छ। यसैलाई आधार मान्दै उपन्यासकारले परापूर्वदेखि चलनमा आएको परम्परालाई तोड्दै छोरीको जन्मलाई मनौती वा भाकाल गर्दै भन्छिन्- “हे भगवान! तिमीले मेरो गर्भको शिशुको मनौती स्वीकार गर्नैपर्छ! छोरी होस् मेरो छोरी हुरी भई आवोस् हिमाल भई उठोस्। नारी समाजमा तेजिलो घाम भई यसले नयाँ दिशा उद्घाटन गरोस् उद्घोषित गरोस्।” (पृष्ठ. ६२)
यो उपन्यासमा पितृसत्ताको विरोध गर्दागर्दै पनि नायिकाले भाग्यवादमा विश्वास राखेको देखाइएको छ। जबकि भाग्यवाद भनेकै ईश्वरवाद हो। ईश्वरको आराधनामा लेखिएका प्राय: धार्मिक ग्रन्थहरू स्त्रीद्रोही देखा पर्दछन्। यसैले धार्मिक ग्रन्थ तथा भाग्यवादलाई नारीवादीहरू केवल पितृसत्तालाई प्रबल बनाउने हतियार मान्दछन्। नारीवादीहरूको विचारमा स्त्रीहरू जुन प्रकारले सामाजिक नैतिकताको त्रास एवं रुढ़िगस्त संस्कारद्वारा संस्कारित पितृसत्ता अधीनस्थ रहेका हुन्छन्। यो पितृसत्ताको चाल हो, जसलाई स्त्रीहरूले बुझ्न सक्दैन अथवा बुझ्न सकिरहेका छैनन्। यिनै विषयहरूलाई शान्तिको माध्यमद्वारा उपन्यासकारले जुन प्रकारले प्रष्ट पारेकी छिन्, यसलाई उपन्यासकारको युक्तिको द्योतक मान्नुपर्ने हुन्छ। पितृसत्ताले ढालेको स्त्रीत्व शान्तिमा पनि पाइन्छ। यही पारम्परिक नैतिकताले दिएको मानसिकताले उसको बाँकी सङ्घर्षपूर्ण जीवनमा अड्चन नहोस् भन्ने वैचारिकता हुँदाहुँदै सामाजिक नैतिकताको खण्डन गर्दा उत्पन्न हुने अपवादले उनी त्रासपूर्ण बनेकी छिन्- “इन्दुमतीको प्रतिक्रियाले सर्वप्रथम मलाई गर्भको शिशुको उपस्थितिले यन्त्रना / त्रासको झस्को दिएको थियो।” (पृष्ठ. ४९)
“पूर्व संस्कारको जड़ यो चेतनाभरि नमीठो घतले प्रचण्ड रूपमा जकड़िएको हुँदो रहेछ। यो जड़लाई स्वाट्टै उखेलेर फ्याँक्नमा पनि ठूलै अन्तर्संघर्ष थियो। प्रतिष्ठित पदमा रहिआएको म- परिचितले परिचयले के भन्ला! समाजले थुक्ला! शुरुशुरुमा यो स्थापित परिलक्षित लाञ्छनाले मनमा ठूलो अत्यास दिई निराशा, हतासा, दिशाहीन तुल्याउँथ्यो।”…………(पृष्ठ. ४७)
यस्ता भनाइ शान्तिको मनोद्वन्द जस्तै क्षणिक रूपमा देखा परेका छन्। यसको अर्थलाई केलाउनु पर्दा तत्कालै पितृसत्ताले स्त्रीहरू जस्तै परिस्थितिमा पनि पुरुषको अघि झुक्ने परम्परालाई विरोधक बन्दै शान्ति भन्छिन्- “परम्पराको रछ्यानमा अफालिएको पूर्वाग्रहले ग्रसित नारी झैँ मैले तर उनीहरूको मुख ताकिनँ, सहारा र सहयोगको याचना गरिनँ न जीवनलाई विवादपूर्ण अभिशाप सम्झेको छु।” (पृष्ठ. ५९)
शान्ति शिक्षित हुनाका साथै जागरूक एवं प्रगतिशील दृष्टिकोण राख्ने स्त्री भएकी हुँदा परिस्थितिले जस्तै समस्याहरू खड़ा गरिदिएको भए पनि उनी सङ्घर्षरत रहन सदैव तत्पर रहन्छिन्। त्यसैले उनी फेरि भन्छिन्- “मेरो व्यक्तिगत जीवन मेरो एकदमै आफ्नो हो। पूर्वाग्रहले ग्रसित नारी झैँ मेरो अनमोल जीवनमा चिरकालीन सूर्य ग्रहण लाग्न दिनु मूर्खता सिवाय अरू केही होइन भन्ने अठोट थियो यो जागरूक दुवै मस्तिष्कले।” (पृष्ठ. ४७)
पितृसत्ता पुरुष निर्मित भए तापनि यो सत्ताको अनुयायी स्त्री-पुरुष दुवै हुन्छन् भन्ने प्रमाण इन्दुमती हुन्। विवाहअघि नै गर्भधारण गरेकी शान्तिप्रति समाजले जुन दृष्टिले उनको चरित्रमा औँली उठाउँदैछ, त्यही कुरा यहाँ इन्दुमतीमा पनि देखा पर्दछ। त्यसकारण शान्ति भन्छिन्- “इन्दुमतीले घर छोड्नु मैले पारम्परिक धारणाले ग्रसित नारीपक्षबाट पनि बहिष्कृत हुनु थियो।” (पृष्ठ. ६२)
सिमोनदिबोअरले १९४५ मा आफ्नो कृति ‘सेकेण्ड सेक्स’ पुस्तकमा “छोरीमान्छे जन्मँदैन बरू बनाइन्छ” भन्ने महत्वपूर्ण र यथोचित अवधारणा राखेको पाइन्छ। यसै सन्दर्भमा हामी उपन्यासकार पुष्पा राईको एउटा भनाइलाई लिन सक्छौँ- “यो गर्भको शिशु केटी होस् छोरी होस् म जस्तै। तर नहोस् कल्पनाको ढोलबाजी ……….” (पृष्ठ. ४८) उपन्यासकारले पनि सिमोनको अवधारणालाई अनुसरण गरेकी छन्। छोरीमान्छेलाई स्त्रीत्वको नचाहिँदा गुणहरू लादेर लैङ्गिक विभेदलाई उस्काउने पारम्परिक नैतिकताको घोर विरोधमा उत्रेको शान्तिलाई हामी पाउँछौँ।
निष्कर्ष:
भारतीय नेपाली साहित्यको इतिहासमा ‘भोलिको प्रतीक्षा’ उपन्यासले नारीवादी पुस्तकको रूपमा प्रथम स्थान ओगटेको छ। यसमा पितृसत्ताका केही नैतिकताहरू शान्तिको जीवनमा लागू भए जस्तै देखिन्छ तर यो पितृसत्तालाई बुझ्न र बुझाउन उपन्यासकारको कुशल शैलीलाई भने मान्नैपर्ने देखिन्छ। यी उपन्यासको उदय हुनअघि फाटफुट लैङ्गिक विभेदका मुद्दा भेटिए पनि नारीवादी लेखनको रूपमा प्रकाशित पुस्तक भने फेला परेको थिएन। त्यसैले नारीवादको प्रथम स्थानबाट यस उपन्यासलाई खसाल्न भने सकिँदैन। त्यसपछि राईको अर्को निक्खर नारीवादी “मध्यान्तर” उपन्यास प्रकाशित भएको भेटिन्छ। भारतीय नेपाली साहित्यको पारम्परिक लेखनको लामो यात्रालाई यसले ठूलो झट्का दिएको छ। यति मात्र नभई पुष्पा राईको भोलिको प्रतीक्षा उपन्यास प्रकाशित भएपछि नारीवादी सिद्धान्ततिर प्रेरित भई अन्य लेखकहरू पनि अग्रसर भएको हामी पाउँछौँ। यसैले पनि दार्जीलिङकी पुष्पा राईलाई हामीले भारतीय नेपाली साहित्यमा एक सशक्त नारीवादी उपन्यासकारको रूपमा चिन्नुपर्छ।।










