Saraswati Rasaili Sports Journey
Saraswati Rasaili Sports Journey

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

Authored By: सञ्जय प्रधान  

Share this news

तीन-तीन पटकको शल्यक्रिया, पारिवारिक जिम्मेवारी, शिक्षण पेशाको व्यस्तता र उमेरसँग जोड़िएका अनेक चुनौतीहरू- यी सबैलाई पन्छाउँदै सिक्किमकी सरस्वती रसाइलीले आफ्नो जीवनलाई नयाँ दिशा दिइन्। स्वस्थ र सुगठित रहने सामान्य उद्देश्यले बिहेपछि जिमको ढोका ढकढकाएकी उनी आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरकी सफल स्ट्रेन्थ लिफ्टर र पावर लिफ्टरका रूपमा परिचित छिन्।

‘‘जीवनमा चुनौती नभएको केही पनि छैन- हरेक क्षण हरेक पाइलामा हाम्रो अघि चुनौती हुन्छ। त्यसबाट निस्किन हामी आफैले कड़ा परिश्रम गर्नुपर्छ’’

स्व० वीरेन्द्र रसाइली र विमला खातीका छोरी सरस्वती रसाइली रानीपूल सिनियर सेकेण्डरी स्कूल पढ़्दादेखि नै खेलकुदमा सक्रिय थिइन्। आफ्नो जन्मथलो रानीपूलकै मार्चक गाउँमा घरको बारीमा सानो हुँदा गजबकै काम गर्थिन्, दाउरा खोज्न जान्थिन् र गतिलै रुखको मुढ़ा बोकेर घर आउँथिन्। बञ्चरोले दाउरा चिर्दा उनलाई देखेर अरु छक्क पर्थे। कामलाई उनले प्रतियोगिताकै रुपमा लिन्थिन्। स्कूलको टीमबाट फूटबल, भलिबल खेल्थिन्।

सानैदेखि खेलकुदमा चासो राख्ने उनी स्वास्थ्यप्रति सचेत रहेर मर्निङ वक, जुम्बा गर्थिन् र हल्का कसरतहरू घरमै गर्थिन्। सन् २००७ मा पहिलोपटक किड्नी स्टोन, दोस्रोपटक सन् २००९ मा प्रसूतिको क्रममा शल्यक्रिया गरियो। फेरि तेस्रोपटक सन् २०१४ मा गलब्लाडरको शैल्याक्रिया गरेपछि दुई वर्ष आराम गरिन्। वजन बढ़ेर ८४ केजी हुँदा ढाड़, घुड़ाँ दुख्ने समस्याहरू हुन थालेको थियो। फिटनेसकै लागि सन् २०१७ देखि जिममा जान शुरु गरिन्।

 

सोसल मिडियामा स्ट्रेन्थ लिफ्टङ र पावर लिफ्टङ खेलहरू देखेर सरस्वती आकर्षित भइन्। जिममा उनले गर्ने कसरतलाई हेरेर सबैले स्ट्रेन्थ लिफ्टङ र पावर लिफ्टङको खेलमा प्रोत्साहित गरे। यसरी उत्साहित भएर स्ट्रेन्थ लिफ्टङ र पावर लिफ्टङ खेल्न शुरु गरिन्। सन् २०१८ मा साङ-मर्ताममा पेमाज् जिमद्वारा आयोजित राज्य स्तरीय ओपन पावर लिफ्ट इन्क्लाइन बेन्च प्रेस (आईबीपी) च्याम्पियनसिपमा पहिलोपटक भाग लिएर स्ट्रेन्थ लिफ्टङमा दुईवटा गोल्ड मेडल जितिन्।  यो प्रतियोगिता सिक्किमका आइरन म्यान अफ् सिक्किमपेमा दोर्जी भोटियाको सक्रियतामा आयोजना गरिएको सरस्वती बताउँछिन्। यो प्रतियोगिताबाट उनको यात्रा आइरन गेमतर्फ बढ़्यो।

सिक्किमभित्र गान्तोक, नाम्ची, रानीपूलतिर भएको सबै राज्य स्तरको प्रतियोगिताहरूमा सरस्वतीले गोल्ड, सिल्भर, ब्रोन्ज मेडलहरू जितेकी छिन्। सिक्किम भित्रको प्रतियोगिताहरूको सफलताले अझ बढ़ी उर्जा सञ्चार हुँदा उनको लक्ष्य राष्ट्रिय-अन्तर्राष्ट्रिय प्रतियोगिताहरू बन्यो। सन् २०१९ मा उदयपुर राजस्थानमा भएको नेशनल स्ट्रेन्थ लिफ्टङ एण्ड आईबीपी च्याम्पियनसिपराष्ट्रिय प्रतियोगितामा स्ट्रेन्थ लिफ्टङ र पावर लिफ्टङमा पहिलोपटक दुईवटा गोल्ड मेडल जितिन्। सन् २०२१ मा कोचबिहरमा भएको राष्ट्रिय प्रतियोगिता नेशनल स्ट्रेन्थ लिफ्टङ एण्ड आईबीपी च्याम्पियनसिपब्रोन्ज गोल्ड मेडल जितिन्।

 

सरस्वतीले जिम जान यस्तै ३७ वर्षको उमेरमा शुरु गरेकी हुन्। अहिले ४६ वर्ष पुगेकी उनी एकजना छोराका आमा हुन्। परिवारबाट पूर्ण रुपले हौसला र उर्जा पाएकी छिन्। जिम जान र प्रतियोगीताहरूमा सहभागी बन्न श्रीमान सागर मोहरा र छोरा दुवैबाट हौसला पाउने गरेको उनी बताउँछिन्। सिक्किम स्टेट स्ट्रेन्थ लिफ्टिङ एसोसिएसनबाट चयन भएर उनी राष्ट्रिय स्तरमा खेल्न पुगिन्। राष्ट्रिय स्तरमा राम्रो प्रदर्शनका कारण इण्डियन स्ट्रेन्थ लिफ्टिङ फेडरेसनबाट अन्तर्राष्ट्रिय स्तरमा चयन भइन्। राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरमा राम्रो प्रदर्शन गर्दै आइरहेकी छिन्। यस खेलमा उनी मास्टर क्याटेगोरीमा खेल्छिन्। 

 

सन् २०२२ मा छिमेकी मुलुक नेपालको झापामा भएको स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिप एण्ड इको फ्रेण्डली कम्पिटिशनमा एउटा गोल्ड मेडल जितिन्। सन् २०२२ मै पश्‍चिम बंगालको मेदिनापुरमा आयोजित इस्टर्न इण्डिया स्ट्रेन्थ लिफ्टिङ एण्ड आईबीपीमा दुईवटा गोल्ड मेडल जितिन्। हरेक प्रतियोगितामै उनी बढ़ी जस्तो गोल्ड मेडल जित्दै अघि बढ़िन्। 

सन् २०२३ मा सरस्वती अन्तर्राष्ट्रिय प्रतियोगितामा पुगिन्। सन् २०२३ मा काठमाड़ौंमा भएको इन्टरनेशनल एशियन स्ट्रेन्थ लिफ्टिङ एण्ड आईपीबीप्रतियोगितामा गोल्ड र ब्रोन्ज मेडल जितिन्। यो प्रतियोगिता नेपाल स्ट्रेन्थ लिफ्टिङ फेडरेसनले आयोजना गरेको थियो। सन् २०२३ मा हैदरावादको लालबहादुर शास्त्री स्टेडियममा भएको टेन्थ वर्ल्ड वेट लिफ्टिङ एण्ड आईबीपी च्याम्पियनसिपमा दुईवटा गोल्ड मेडल जितिन्। यस्तै सन् २०२४ मा कजाखस्तानमा इलेभेन्थ वर्ल्ड स्ट्रेन्थ लिफ्टिङ एण्ड आईबीपी च्याम्पियनसिपमा एउटा गोल्ड, एउटा सिल्भर मेडल जितिन्। सन् २०२५ मा हरियाणामा भएको नेशनल स्ट्रेन्थ लिफ्टिङ एण्ड आईपीबीराष्ट्रिय प्रतियोगितामा दुईवटा सिल्भर मेडल जितिन्। सन् २०२५ मै थाइल्याण्डमा भएको वर्ल्ड स्ट्रेन्थ लिफ्टिङ एण्ड आईबीपी प्रतियोगितामादुईवटा गोल्ड मेडल जितेर त्यहाँ रेकर्ड बनाइन्। उनका कोच हुन् पाल्देन तामाङ। 

सागर मोहरासित वैवाहिक बन्धनमा बाँधिएपछि उनी रम्फू नजिक माझिटारमा बस्छिन्। माझीटार नजिकै बाघेखोलास्थित स्कूल न्यू भिजन एकाडेमीमा शिक्षिकाको पेशामा कार्यरत छिन्। घरेलु काम र शिक्षण पेशाको कामलाई समय व्यवस्थापन गरेर आफ्नो खेलमा अघि बढ़िरहेकी छिन्। उनी माझीटारको बडीक्राफ्ट फिटनेस जिममा जान्छिन्। सरस्वती आफूले मात्र खेल्ने होइन अरु महिला साथै युवाहरूलाई पनि प्रेरणा दिन्छिन्। भविष्यमा जिम खोल्ने योजनामा छिन्। पहिला उनी जिम जाँदा आफूभन्दा साना केटीहरू हुन्थे भने विवाहित महिलाहरूको संख्या खासै बढ़ी थिएन। सरस्वतीले बिमारीबाट निस्किएर खेलेको थाहा पाएपछि अरु विवाहित घरेलु महिलाहरू पनि प्रेरित भएर अघि आए।

विवाहित महिलाहरूका निम्ति यस्तो खेल आज पनि समाजमा चुनौतीपूर्ण छ। मानिसलाई तनाव बाहिर-भित्र नै हुने उनको भनाइ छ। ‘‘म केही गर्छु भनेर सोचेर त्यसमा हामीले समय व्यवस्थापन गरेर निस्किए सकिन्छ।’’ ‘‘स्वास्थ्य सबैभन्दा ठूलो कुरा हो- हामीले आफ्नो स्वास्थ्यलाई पनि समय दिनुपर्छ’’, उनी भन्छिन्, ‘‘म हार्ड वर्कमा विश्‍वास गर्छु। हामीले हार्ड वर्क गर्‍यौँ भने केही न केही राम्रै हुन्छ।’’ श्रीमान सागर मोहरा उनको हौसला र उर्जा बनेका छन्। श्रीमानको सहयोगबारे सरस्वती भन्छिन्, ‘‘म प्रतियोगितामा जाँदा उहाँ म भन्दा बढ़ी उत्सुक साथै खुशी हुन्छन्। मलाई प्रतियोगितामा जानु म सहयोग गर्छु भन्नुहुन्छ। गोल्ड मेडल जितेर आउँदा अझ खेल्नु भन्नुहुन्छ।’’

‘‘जीवनमा चुनौती नभएको केही पनि छैन- हरेक क्षण हरेक पाइलामा हाम्रो अघि चुनौती हुन्छ। त्यसबाट निस्किन हामी आफैले कड़ा परिश्रम गर्नुपर्छ’’, सरस्वती भन्छिन्। बाबुको निधन भएपछि निक्कै संघर्ष झेल्दै अघि बढ़ेकी उनी बताउँछिन्। उनी भन्छिन्, ‘‘संघर्षबाट हामीले जीवनमा कतिवटा कुराहरूको सामना गरेका छौं भन्ने धेरै बुझ्दो रहेछौं।’’ परिवारमा पाँचजना दाज्यू-भाई-बहिनीहरूमा सरस्वती जेठी छोरी हुन्। जेठा दाज्यू रवि रोदन कविका रुपमा परिचित छन्। स्ट्रेन्थ लिफ्टिङको खेलमा उनी ढिलै प्रवेश गरे पनि राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरमा पुगिन्।

दुईपटक सिक्किम सरकारको इन्सेनटिभ मुख्यमन्त्री प्रेमसिंह तामाङबाट पाएको उनी बताउँछिन्। सिक्किमका राज्यपाल, विभिन्न संघ-संस्थाहरूबाट उनी सम्मानित भइसकेकी छिन्। ४६ वर्ष पुगेकी सरस्वती अझ जोशिलो बन्दै यस खेललाई निरन्तर जारी राख्न प्रतिबद्ध छिन्। गएको दुई वर्षदेखि उनी स्ट्रेन्थ लिफ्टिङ र पावर लिफ्टिङ खेलको राष्ट्रिय रेफ्री हुन्।

आमा, शिक्षिका र खेलाड़ीका रूपमा आफ्नो जिम्मेवारीलाई सफलतापूर्वक निर्वाह गर्दै सरस्वती रसाइलीले उमेर, स्वास्थ्य समस्या र सामाजिक चुनौतीहरूलाई पराजित गर्दै अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङमा आफ्नो छुट्टै पहिचान बनाएकी छिन्। उनको यात्रा केवल पदकहरूको उपलब्धि होइन, दृढ़ संकल्प, निरन्तर मेहनत र आत्मविश्‍वासको प्रेरणादायी उदाहरण हो।


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ