पुलीसहरूले बिहारतर्फ तस्करी गर्न लागिएको ठूलो परिमाणको मदिरासहित दुई जनालाई पक्राउ गरेका छन्। पक्राउ पर्नेहरू रोशन कुमार अनि राजु दास रहेका छन्, दुवै बिहारका बासिन्दा हुन्।
पुलीसका अनुसार आइतबार राति ढिलो ती दुई जना सिक्किमबाट सिलगढी जंक्शन क्षेत्रतर्फ स्कुटीमा मदिराको खेप लैजाँदै थिए। प्राप्त सूचनापछि प्राधान नगर पुलीसको टोलीले उक्त क्षेत्रमा पुगेर शंकाका आधारमा स्कुटी रोकेको थियो।
जाँचका क्रममा दुईपांग्रे सवारीसाधनबाट चार कार्टुनमा राखिएका जम्मा ८४ बोतल मदिरा बरामद गरिएको पुलीसले जनाएको छ। घटनास्थलमा दुवै जनालाई नियन्त्रणमा लिइएको थियो।
पक्राउ परेका दुवैलाई सोमबार सिलगढी अदालतमा पेश गरिएको छ। मदिराको स्रोत पत्ता लगाउन तथा तस्करीमा संलग्न अन्य व्यक्तिहरूको पहिचान गर्न पुलीसले विस्तृत अनुसन्धान सुरु गरेको छ।











