खरसाङ, (निसं): खरसाङ निवासी अनन्त शर्माले वर्ष 2025 मा मिजोरम युनिभर्सिटीबाट एमएससीभौतिक विज्ञानमा गोल्ड मेडल प्राप्त गरेका छन्। खरसाङ्को डाउहिल रोडस्थित गुरुकुल आश्रम (खरसाङ कलेज नजिक) निवासी पिता विक्रम शर्मा दाहाल र माता नेत्रा शर्मा दाहालको सुपुत्र अनन्त शर्माले मिजोरम युनिभर्सिटीबाट यसपाली भौतिक विज्ञान विषयमा एमएससीमा युनिभर्सिटी टप गरेर मेडल जित्न सफल बनेका छन्। उनले भौतिक विज्ञानमा एमएससीमा 84.93 प्रतिशत अंक ल्याएर युनिभर्सिटी टप गर्दै गोल्ड मेडल जित्न सफल बनेका हुन्। आनन्द शर्माले दशौँ श्रेणीसम्मको पढ़ाई खरसाङ्को सन्त अल्फन्सेस उच्चत्तर माध्यमिक विद्यालयमा अध्ययन गरेका थिए भने एघारौँ र बाह्रौँ श्रेणीसम्मको पढ़ाई खरसाङ्को पुष्परानी उच्चत्तर माध्यमिक बिद्यालयमा गरेका थिए। उनले विज्ञान विषयमा स्नातक तहसम्मको अध्ययन दार्जीलिङ्को सन्त जोसेफ कलेजमा गरेका थिए। खरसाङ निवासी आनन्द शर्माको यो उपलब्धिमा सबैले बधाई टक्राएका छन् भने उनले खरसाङ लगायत सम्पूर्ण पहाड़लाई नै गौरवान्वित तुल्याएका छन्।
