खरसाङ, 26 जुलाई (निसं)ः भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तत्वावधानमा यसपाली पनि खरसाङ्मा शहीद दिवस समारोह सम्पन्न हुने भएको छ। शहीद दिवस गत वर्ष झैं यसपाली पनि युवा शक्ति खरसाङ महकुमा समिति र खरसाङ टाउन कमिटीको आयोजनामा सम्पन्न हुने भएको छ। यस विषयमा आज खरसाङ्मा पत्रकारहरुलाई सम्बोधन गर्दै युवा शक्ति खरसाङ महकुमा समितिको सभापति एवं शहीद दिवस समारोह समितिका संयोजक प्रेमेन्द्र गुरूङ अनि युवा शक्ति खरसाङ टाउन कमिटीका सभापति बन्धन लामाले विस्तृत रुपमा जानकारी गराएका छन्। दुवैले जानकारी गराए अनुसार यसपाली पनि खरसाङ्को इगल क्य्रागमा रहेको शहीद वेदीमा बिहान श्रध्दाञ्जली कार्यक्रम हुने र त्यसपछि खरसाङ्को नयाँ बजारस्थित सार्वजनिक भवनमा सम्मान कार्यक्रमको आयोजना गरिने भएको छ। यसको साथै खरसाङ्मा युवा शक्तिको तर्फबाट गत वर्ष झैं यसपाली पनि शहीद दिवसको दिन नै रक्तदान शिविरको आयोजना गरिने छ।
