बिजनबारी,23 दिसम्बर(निसं): डा. सर्वपल्ली राधाकृष्णण च्यारिटेबल ट्रस्ट पुलबजार-बिजनबारीद्वारा सञ्चालित बिजनबारी भेगको प्रथम सीबीएससी बोर्ड सामुदायिक विद्यालय विद्याज्योति अकादमी अग्रेजी उच्च माध्यमिक विद्यालय बिजनबारीको स्थापना दिवस सोमबार एक भव्य कार्यक्रमको साथमा सम्पन्न भयो।
कार्यक्रममा विद्यालय सञ्चालन समितिका अध्यक्ष सीता खनाल सञ्चालन समितिका कार्यकारी सदस्य अशोक मार्दा , जय कुमार बन्सल , सुरेश प्रधान , ज्ञान चन्द्र लामा , राखी लामा, बिधालयका प्रधान अध्यापक अरुण चौलागाईं लगायत सम्पुर्ण विद्यार्थी अविभावक सगै सर्वसाधारणको विशेष रूपमा उपस्थिति रहेको थियो।
विविध कार्यक्रमको साथमा आयोजना गरिएको कार्यक्रममा विद्यालय स्थापनादेखि हालसम्मको उपलब्धिबारे वक्ताहरुले विस्तृत रूपमा बताए। यस्तै विद्यालयले विगत लामो समयदेखि क्षेत्रको शैक्षिक स्तरलाई माथि उठाउदै ग्रामीण भेगमा उच्चस्तरीय शिक्षा प्रदान गर्दै आएको विद्यालयका प्रधान अध्यापक अरुण चौलागाईंले बताए।
यसको साथमा नयाँ शैक्षिक निति अनुरुप नै विद्यालयमा पठनपाठनको साथमा अतिरिक्त क्रियाकलापमा ध्यानाकर्षण गरिएको थप उनले जनाए। यस्तै, विद्यालयका संस्थापक सदस्य अशोक मार्दाले विद्यालय स्थापना गर्नुको उद्देश्य माथि प्रकाश पारे भने विद्यालयलाई अब उप्रान्त सरकारी मान्यता दिलाउन विभागीय प्रभारीहरुसित पत्रचार अनि भेटघाट गर्ने वचन राखे।
यस्तै अर्को ट्रस्टी ज्ञान चन्द्र लामाले अशोक मार्दाद्वारा विद्यालयलाई सरकारी मान्यता दिलाउने अभियान अधि बडाउने विचारको स्वागत गरे।
यसैगरि आगामी शैक्षिक सत्रदेखि तेस्रो देखि नवौं कक्षासम्म कुनै पनि ट्राइबल विद्यार्थीहरूको भर्ना हुँदा ट्रस्टी सदस्यहरु सदिप लामा अनि अशोक मार्दाले 25 प्रतिशत सहयोग राशी प्रदान गर्ने वचन दिए। कार्यक्रममा विद्यालयको पक्षबाट भारतका राष्ट्रपतिसित भेट्ने टोलीलाई सम्मान समेत जनायो।
अर्कोतिर, अभिभावकको पक्षमा बोल्दै देवासिस गुरुङले विद्यालयले सरकारी मान्यता पाउन जुन पाइला चाले अभिभावकवर्गले पूर्ण सहयोग दिने वचन दिए। यसैबीच कार्यक्रमको अवसरमा बार्षिक परिक्षाफल समेत वितरण गरियो।
स्मरण रहोस्, विद्याज्योति अकादमी डा. सर्वपल्ली राधाकृष्णण ट्रस्टद्वारा सञ्चालित विद्यालय हो भने विद्यालयमा आवस्यक पुर्वाधारसँगै उच्चतर माध्यमिक तहसम्म सीबीएस बोर्डद्वारा मान्यता प्राप्त छ।











