हावडाबाट आएका एकजना पर्यटकको खरसाङमा मृत्यु भएको छ। उक्त पर्यटकको मृत्यु खरसाङ क्षेत्रको कुनै एउटा होम स्टेमा भएको बताइएको छ। उक्त पर्यटकको नाम सपरानिल च्याटर्जी (पिता इन्द्रनिल च्याटर्जी) रहेको बताइएको छ। उक्त पर्यटकको पार्थिव शरीरलाई खरसाङ महकुमा अस्पतालमा ल्याएर पोस्टमोर्टमको लागि उत्तर बंगाल मेडिकल कलेज पठाइएको थियो। खरसाङ पुलिसबाट प्राप्त जानकारी अनुसार उक्त पर्यटक पाँचजना साथीहरुसित घटनाको तीन दिन अघि खरसाङ घुम्न आएका थिए भने खरसाङ क्षेत्रमा रहेको एउटा होम स्टेमा बसेका थिए। उनी सोमबार बिहान 5 बजीतिर तीन तलाको झ्यालबाट तल खसेका थिए अनि उनलाई खरसाङ पुलिसद्वारा खरसाङ महकुमा अस्पतालमा ल्याइएको थियो। डाक्टरले उनलाई मृत घोषित गरेका थिए। मेडिकल कलेज अस्पतालमा पोस्ट मार्टमपछि उनका पिताले शवलाई हावडा लगिएको जानकारी प्राप्त भएको छ।
