अमेरिकाले युद्धविराम वार्तामा संलग्न इरानी शीर्ष वार्ताकारहरूको हत्या हुन सक्ने आशंकापछि इजरायलको कथित योजनाबारे इरानलाई गोप्य रूपमा चेतावनी दिएको खुलासा भएको छ। अमेरिकी सञ्चारमाध्यमहरूको रिपोर्टअनुसार अमेरिकी अधिकारीहरूले तेस्रो मुलुकमार्फत इरानलाई विदेशमन्त्री अब्बास अराघची र संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफ सम्भावित निशानामा पर्न सक्ने जानकारी दिएका थिए। वार्ताकारमाथि आक्रमण भए युद्धविराम प्रक्रिया भंग भई क्षेत्रीय तनाव थप चर्किन सक्ने अमेरिकी प्रशासनको चिन्ता रहेको बताइएको छ।रिपोर्टअनुसार अमेरिका इजरायलको सम्भावित कदमले जारी कूटनीतिक प्रयास असफल हुने र मध्यपूर्वमा पुनः व्यापक द्वन्द्व भड्किने जोखिमप्रति चिन्तित थियो। अमेरिकी अधिकारीहरूले इजरायलको यस्तो कदमले शान्ति वार्तामा गम्भीर असर पार्न सक्ने भन्दै इरानलाई सतर्क गराएको उल्लेख गरिएको छ। यद्यपि यस विषयमा अमेरिका, इजरायल वा इरानमध्ये कुनै पनि सरकारले औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन्।











