मानिसको दृढ़ इच्छाशक्ति, निरन्तर मेहनत र आत्मविश्वासका अगाड़ि असम्भव भन्ने शब्द प्रायः अर्थहीन बन्न पुग्छ। उमेर, परिस्थिति वा विभिन्न बाधा-अवरोधहरू सफलताको यात्रामा चुनौती त बन्न सक्छन्, तर दृढ़ संकल्प भएका मानिसलाई रोक्न सक्दैनन्। यसको जीवन्त उदाहरण हुन् दार्जीलिङ नगरपालिका वार्ड नम्बर ३० मा जन्मिएकी साहसी महिला सुनिता सुब्बा।
‘‘दौड़ले मलाई धेरै कुरा नदिएको हुनसक्छ, तर समाजमा एउटा सम्मानित परिचय दिएको छ’’
आज सुनिता सुब्बा केवल एक धावकको नाम मात्र होइन, बरु संघर्ष, समर्पण र अदम्य साहसको प्रतीक बनेकी छन्। विश्वका कठिन अल्ट्रा रनहरूमा भारतको प्रतिनिधित्व गर्दै उनले व्यक्तिगत सफलतासँगै आफ्नो ठाउँको क्षमता र साहसलाई पनि अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गरेकी छन्। पारिवारिक जिम्मेवारी र व्यक्तिगत सपना दुवैलाई सन्तुलित गर्दै उनले आफ्नो दौड़ यात्रालाई निरन्तर अगाड़ि बढ़ाइरहेकी छन्।
सुनिताको दौड़सँगको सम्बन्ध कुनै योजनाबद्ध खेलकुद यात्राबाट शुरू भएको थिएन। सानोमा चकचक गर्दा बाबुले दिएको ख्यालठट्टाको सजाय नै पछि उनको जीवन प्रेरणामा रूपान्तरित भयो। सन् २०१६ देखि उनले दौड़िन थालेकी थिइन्। त्यो बेला उनको उद्देश्य केवल स्वास्थ्य र मनोरञ्जन मात्र थियो। तर बाबुको निधनपछि दौड़ उनको लागि बाबुप्रतिको समर्पण र श्रद्धाञ्जलीको माध्यम बन्न पुग्यो।

समय बित्दै जाँदा दौड़प्रतिको रुचि बढ़्दै गयो। परिवारको कामकाजबाट बचेको समय उनी दौड़मै खर्चिन थालिन्। यद्यपि शुरुका दिनहरूमा उनले प्रतियोगितामा भाग लिने कल्पनासमेत गरेकी थिइनन्। तर उनको निरन्तर अभ्यास र समर्पण देखेर नजिकका मानिसहरूले प्रतियोगितामा भाग लिन प्रेरित गर्न थाले। साथै परिवारको हौसलाले अझ बढ़ी उर्जा पाइन्।
सन् २०२० मा कोरोना महामारीका कारण विश्व लकडाउनमा थियो। अधिकांश मानिस घरभित्र सीमित भइरहेका बेला सुनिताले भने दौड़लाई अझ बढ़ी समय दिन पाइन्। यही अवधिमा उनको आत्मविश्वास र सहनशक्ति दुवै बढ़्दै गयो। त्यसै वर्ष दलाई लामाको जन्मजयन्तीको अवसरमा आयोजित आठ दिने निरन्तर दौड़ प्रतियोगितामा स्थानीय धावक दावा शेर्पाको प्रोत्साहनमा सहभागी हुने अवसर पाइन्। लगातार १२ घण्टा दौड़िएर उनले प्रतियोगितामा पहिलो स्थान हासिल गरिन्। यो उपलब्धि केवल एउटा जित मात्र थिएन, बरु उनको समर्पण, सहनशीलता र मानसिक दृढ़ताको पहिलो ठूलो परीक्षा थियो।
सन् २०२१ मा सुनिताले दिल्लीमा आयोजना हुने स्टेडियम रनमा भाग लिने अठोट गरिन्। सिलगढ़ीसम्मको यात्रा पनि कम भएकी सुनिताका लागि दिल्ली पुगेर राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिनु सपना जस्तै थियो। दौड़को तयारीमा उनी बिहानदेखि बेलुकासम्म दार्जीलिङको चौरस्ता र गोर्खा स्टेडियममा निरन्तर अभ्यास गर्थिन्। धेरैले उनको एकोहोरिएको अभ्यास देखेर अचम्म मान्थे। तर उनको लक्ष्य स्पष्ट थियो।
अन्ततः दिल्लीमा आयोजित १२ घण्टे स्टेडियम रनमा उनले १०४ किलोमिटर दूरी पूरा गर्दै विजेता बन्न सफल भइन्। यही वर्ष उनले सन्दकफु ६५ किलोमिटर हेल रेसमा पनि पहिलो स्थान हासिल गरिन्। यही सफलताले उनलाई अल्ट्रा रनिङतर्फ थप आकर्षित गर्यो।
सन् २०२२ मा पहिलो पटक लद्दाखमा आयोजना हुने १२२ किलोमिटर ‘सिल्क रुट रन’बारे थाहा पाएपछि उनले भाग लिने निर्णय गरिन्। तर अनुभवको अभाव देखाउँदै आयोजकहरूले उनको आवेदन अस्वीकार गरे। तर उनले हार मानिनन्। आफ्नै जिम्मेवारीमा दौड़ने प्रतिबद्धता जनाउँदै आयोजकसँग पुनः अनुरोध गरिन्। अन्ततः प्रवेश पाइन्। एक साताअघि मात्र लद्दाख पुगेर कठिन भूगोल र प्रतिकूल मौसमबीच अभ्यास गरेकी सुनिताले दौड़मा उत्कृष्ट प्रदर्शन गर्दै विजेता बन्न सफल भइन्। त्यही वर्ष उनले ६५ किलोमिटर हेल रेसमा पनि पुनः जीत हात पारिन्।
सन् २०२३ सुनिताको करियरको अर्को महत्वपूर्ण वर्ष बन्यो। उनले कालेबुङ ९० किलोमिटर दौड़ तथा मुम्बई अल्ट्रा १६१ किलोमिटर दौड़मा विजेता बनेर आफ्नो क्षमता प्रमाणित गरिन्। सन् २०२४ मा दिल्लीमा आयोजित २४ घण्टा स्टेडियम रनमा उनले लगातार १८८ किलोमिटरभन्दा बढ़ी दूरी पूरा गर्दै नयाँ कीर्तिमानसहित विजय हासिल गरिन्।
सन् २०२५ मा पुनः कालेबुङ ९० किलोमिटर दौड़ जितिन्। यही सफलताले उनलाई अन्तर्राष्ट्रिय स्तरमा पुग्ने ढोका खोलिदियो। भारतको प्रतिनिधित्व गर्दै फ्रान्सको अल्बीमा आयोजित २४ घण्टा स्टेडियम रन विश्व च्याम्पियनसिपमा सहभागी हुने अवसर प्राप्त भयो। आर्थिक चुनौती, फिटनेस कायम राख्ने दबाव र तयारीका अनेक कठिनाइबीच पनि उनले आफ्नो लक्ष्य छाड़िनन्। फ्रान्समा आयोजित प्रतियोगितामा उनले २१७ किलोमिटरभन्दा बढ़ी दूरी पूरा गर्दै राष्ट्रिय कीर्तिमान कायम गरिन्। त्यो उपलब्धि केवल व्यक्तिगत सफलता मात्र नभएर सम्पूर्ण देशका लागि गर्वको विषय बन्यो।
सन् २०२६ को मई २३-२४ मा सुनिताले जापानको हिरोसाकीमा आफ्नो सफलताको अर्को अध्याय लेखिन्। यसमा २४ घण्टा स्टेडियम रनमा २२४+ किलोमिटरभन्दा बढ़ी दूरी पूरा गर्दै भारतको प्रतिनिधित्व गर्दै व्यक्तिगततर्फ रजत पदक तथा महिला टोलीतर्फ काँस्य पदक जित्न सफल भइन्। यो उपलब्धिले उनलाई भारतकै उत्कृष्ट महिला अल्ट्रा रनरहरूमध्ये एकको रूपमा स्थापित गरेको छ।
सुनिता दौड़लाई कहिल्यै रोजगारीको माध्यमका रूपमा हेर्दिनन्। उनका लागि दौड़ आत्मसन्तुष्टि, अनुशासन र पहिचानको माध्यम हो। उनी भन्छिन्, ‘‘पहिला बाबालाई प्रेरणाको स्रोत मान्दै कुद्न थालेँ। बिस्तारै यही मेरो परिचयको माध्यम बन्यो। पछि यही मेरो सपना बन्यो। दौड़ले मलाई धेरै कुरा नदिएको हुनसक्छ, तर समाजमा एउटा सम्मानित परिचय दिएको छ।’’ उनी थप्छिन्, ‘‘मेरो सपना देशको प्रतिनिधित्व गर्नु थियो, जुन आज पूरा भएको छ। यस यात्रामा साथ दिने मेरा प्रशिक्षक, परिवार, साथीभाई र शुभेच्छुकहरूप्रति म सधैँ आभारी छु। आज म जहाँ पुगेकी छु, त्यो सबैको विश्वास र प्रोत्साहनकै परिणाम हो।’’
युवाहरूलाई खेलप्रति आकर्षित गर्न क्षेत्रीय, राज्य तथा राष्ट्रिय स्तरमा खेलकुद नीतिमा व्यापक सुधार आवश्यक रहेको सुनिताको धारणा छ। कुनै एक खेललाई मात्र प्राथमिकता दिने होइन, सम्पूर्ण खेल क्षेत्रलाई भविष्य निर्माण गर्ने माध्यमका रूपमा विकास गर्नुपर्ने उनको आग्रह छ। उनका अनुसार, पर्याप्त प्रशिक्षण केन्द्र, पूर्वाधार र अवसरको अभावका कारण धेरै प्रतिभाशाली खेलाड़ीहरू अगाड़ि बढ़्न सकिरहेका छैनन्। तर सफल खेलाड़ी बन्नका लागि खेलप्रतिको त्याग, अनुशासन र समर्पण उत्तिकै आवश्यक रहेको उनी बताउँछिन्।
दार्जीलिङकी एक साधारण गृहिणीबाट अन्तर्राष्ट्रिय पदक विजेता अल्ट्रा रनर बन्न पुगेकी सुनिता सुब्बाको यात्रा वास्तवमै प्रेरणादायी छ। जीवनको अपेक्षाकृत पछिल्लो उमेरमा दौड़ शुरू गरेकी उनले इच्छाशक्ति, मेहनत र आत्मविश्वास भए कठिनभन्दा कठिन लक्ष्य पनि हासिल गर्न सकिन्छ भन्ने सन्देश दिएकी छन्। उनको यात्रा एउटा खेलाड़ीको सफलता होइन, सपनाप्रति अटल विश्वास राख्ने प्रत्येक व्यक्तिका लागि प्रेरणाको स्रोत हो।











