पानीघट्टा चियाबारी श्रमिक समस्याबारे त्रिपक्षीय बैठक सम्पन्न, निष्कर्षविहीन टुंगिएको थाह लागेको छ। पानीघट्टा चियाबारीका श्रमिकहरूको दीर्घकालीन समस्याको समाधान खोज्ने उद्देश्यले हिज श्रमिक भवन, दागापुर, सिलिगुडीमा एक महत्वपूर्ण त्रिपक्षीय बैठक सम्पन्न भयो। दार्जीलिङका डिएलसीको अध्यक्षतामा सम्पन्न उक्त बैठकको सञ्चालन सह-श्रम आयुक्त खरसाङले गरेका थिए। गत २९ मईमा सम्पन्न पहिलो बैठकपछिको निरन्तरतास्वरूप आयोजित दोस्रो बैठक करिब चार घण्टासम्म चलेको थियो। बैठकमा श्रमिक पक्ष तथा विभिन्न युनियनका प्रतिनिधिहरूले श्रमिकहरूको जायज मागहरूलाई जोडदार रूपमा उठाएका थिए।
बैठकमा मुख्य रूपमा सन् २०१५ देखि बाँकी रहेको एक महिनाको तलब तथा दुई महिनाको खर्च रकम भुक्तानी, बदली श्रमिकहरूलाई नियमित कामको व्यवस्था, हक बिदा, सिकलिभ तथा क्याजुअल लिभको सुविधा, अवकाश प्राप्त श्रमिकहरूको पीएफ रकम फिर्ता तथा बिरामी श्रमिकहरूको उचित उपचार र एम्बुलेन्स सेवाको व्यवस्था लगायतका विषयहरू उठाइएका थिए। युनियन प्रतिनिधिहरूले श्रमिक हितसँग प्रत्यक्ष सम्बन्धित यी मागहरू तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए। तर चियाबारी व्यवस्थापन पक्षले हाल तत्काल ती मागहरू पूरा गर्न असमर्थ रहेको धारणा राखेपछि लामो छलफलका बाबजुद बैठक कुनै ठोस निष्कर्षमा पुग्न सकेन।
हिमालयन प्लान्टेशन वर्कर्स युनियनको तर्फबाट म स्वयं बी.के. राई, दिपेन लोहार लगायतका प्रतिनिधिहरू बैठकमा उपस्थित थिए। बैठकमा सहभागी सम्पूर्ण युनियनहरूको साझा धारणा अनुसार यदि वर्तमान कम्पनी श्रमिकहरूको हित र भविष्यप्रति गम्भीर छैन भने बगान छोडेर जानुपर्ने अवस्था सिर्जना हुन सक्ने चेतावनी दिइएको छ। युनियनहरूले श्रमिकहरूको अधिकार र न्यायोचित माग पूरा नभएसम्म आन्दोलनका आगामी कार्यक्रमहरूबारे श्रमिकहरूसँग परामर्श गरी सामूहिक निर्णय लिइने पनि बताएका छन्।











