दार्जीलिङ पहाड़को रंगली-रंगलीयट खण्डअन्तर्गत तक्लिङ-२ ग्राम पञ्चायतको लिङदिङ खासमहल बस्ती निवासी दुर्गा प्रसाद भुजेल आज क्षेत्रका परिचित उद्यमी कृषकका रूपमा चिनिन्छन्। उनको यो पहिचान एकै दिनमा बनेको होइन। सानैदेखि श्रम, आत्मनिर्भरता र सिकाइलाई जीवनको आधार बनाएका भुजेलले अनेकौं उतारचढ़ाव पार गर्दै कृषिलाई व्यवसायिक रूप दिएका छन्।
‘‘जीवनको गाड़ी आफ्नै गतिमा चलिरहेको छ। यसमा ईश्वरको असीम कृपाप्रति म सधैं कृतज्ञ र नतमस्तक छु’’
चन्द्रबहादुर भुजेल र चन्द्रमती भुजेलका छोरा दुर्गा प्रसाद भुजेलले लिङदिङ प्राथमिक पाठशालाबाट प्रारम्भिक शिक्षा हासिल गरे भने तकदाह ग्रिफिथ्स उच्चतर विद्यालयबाट माध्यमिक परीक्षा उत्तीर्ण गरे। विद्यालय शिक्षा पूरा गरेपछि उनी आफ्ना बाबुआमाको पुर्ख्यौली पेशा खेतीबारीमा लागे। दुर्गा प्रसाद भुजेलको जीवनमा श्रमको संस्कार बाल्यकालदेखि नै थियो। सानो छँदादेखि नै पेवापात गरेर स्कूलको फी, खाता-किताब तथा अन्य खर्चमा सहयोग गर्थे। यही अनुभवले उनलाई बहुआयामिक रूपमा आयआर्जन गर्न सिकायो। उनी भन्छन्, ‘‘त्यही आयआर्जन गर्ने तौरतरिका पछि उपयोगी बन्यो।’’

जीवनका अनेक आरोह-अवरोह पार गर्दै उनले संघर्षलाई अवसरमा बदल्न सफल भए। आफूलाई अझ सक्षम बनाउन उनले समय समयमा विभिन्न तालिम र प्रशिक्षण पनि लिए। सन् २००६ मा स्वनिर्भर समूहसँग आबद्ध रहँदा डीआरडी सेलमार्फत कालेबुङको खदाले बस्तीस्थित फार्ममा सुँगुर तथा कुखुरा पालनसम्बन्धी तालिम लिए। त्यसपछि सन् २००९ मा डब्ल्यूडब्ल्यूएफमार्फत बुङ्कुलुङमा आयोजित नौदिने मौरीपालन तालिममा सहभागी भए। सन् २०१७ मा पश्चिम बंगाल प्राणी सम्पद विभागद्वारा लुइस जुबलीमा आयोजित सातदिने डेरी फार्मसम्बन्धी तालिम लिए। यसबाहेक कृषि, बागवानी तथा विभिन्न कृषिसम्बन्धी संघ-संस्थामार्फत उत्पादनमुखी अनेक तालिमहरू प्राप्त गरे।

सन् २०२३ मा कलकतास्थित सुन्दरवन ड्रिम परियोजनामार्फत भारतीय वनस्पति अनुसन्धान संस्थान, लखनउको सहयोगमा आयोजित जरवेरा फूलखेतीको तालिम लिएपछि उनले व्यावसायिक रूपमा जरवेराको खेती शुरु गरे। त्यसको एक वर्षपछि सन् २०२४ मा आफ्नै गाउँ लिङदिङमा तीनदिने मौरीपालन तालिम आयोजना गर्न पनि सक्रिय भूमिका निर्वाह गरे। सुन्दरवन ड्रिममार्फत सन् २०२३ देखि हालसम्म कृषकहरूको आर्थिक उन्नति र कृषि उत्पादन विस्तारका विभिन्न कार्यक्रमसँग उनी निरन्तर जोड़िएका छन्।
आज उनको कृषिकर्म बहुआयामिक बनेको छ। फूलखेतीमा जरवेरा, क्रिसेन्थेमम (चन्द्रमलिका) लगायत विभिन्न प्रजातिका फूल र सजावटी बिरुवाहरू छन्। कुखुरापालनतर्फ करिब २५० वटा घरेलु कुखुरा पालेका छन्। उनले आईफल खेती पनि शुरु गरेका छन्। गादा प्रजातिको स्वीट एप्पल र कफी बोर्डसँगको समन्वयमा सन् २०२५ देखि कफी खेती पनि विस्तार गरिरहेका छन्।
मौरीपालनमा भने उनले सफलता र असफलता दुवै भोगेका छन्। सेरिना र मेलिफेरा प्रजातिका मौरी पालेर प्रयास गरे पनि अपेक्षित सफलता हासिल गर्न नसकेको उनी बताउँछन्। तर असफलताले उनलाई रोक्न सकेन। बरु त्यसले थप सिक्ने र अगाड़ि बढ़्ने प्रेरणा दियो।
हाल उनी पत्नी मिना भुजेलको साथ र सहयोगमा कृषि तथा अन्य उद्यमहरू संचालन गरिरहेका छन्। परिवारको सहयोगबारे बोल्दै उनी भावुक बन्छन्, ‘‘घरको कामदेखि कृषि र अन्य विविध कार्यमा हामी दुई श्रीमान-श्रीमतीको राम्रो सहकार्य छ। जीवनको गाड़ी आफ्नै गतिमा चलिरहेको छ। यसमा ईश्वरको असीम कृपाप्रति म सधैं कृतज्ञ र नतमस्तक छु।’’
दुर्गा प्रसाद भुजेलको सोच र कार्यशैलीलाई परिभाषित गर्ने एउटा विशेष सूत्र छ-‘पाँच ज’। उनी गर्वका साथ भन्छन्, ‘‘आफ्नो मेहनत र पेशामा अघि बढ़्नुमा पाँचवटा ‘ज’ को निक्कै महत्व छ। ती हुन्-जमिन, जल, जन्तु, जंगल र जाँगर। यी पाँचवटै ‘ज’ लाई मिलाएर जीवनमा उतार्न सकियो भने मेहनतले रंग बदल्न कतिबेर पनि लाग्दैन।’’ उनका अनुसार, धेरै मानिसहरू उत्साहका साथ काम शुरु गर्छन्, तर अन्तिम ‘ज’ अर्थात् जाँगर हराएपछि सफलता हात पार्न सक्दैनन्।
पेशाले कृषक भए पनि दुर्गा प्रसाद भुजेलको अनुभव केवल खेतीमा सीमित छैन। विभिन्न क्षेत्रको व्यवहारिक ज्ञान र प्रयोगात्मक सोचका कारण उनी आज उद्यमी कृषकका रूपमा चिनिन्छन्। कुनै काम गर्दा के फाइदा हुन्छ र के गर्दा बिग्रनसक्छ भन्ने अनुमान उनी लगाउन सक्छन्। यही दूरदृष्टिले उनलाई क्षेत्रमै अलग पहिचान दिएको छ। उनको कार्यशैली र सफलताले देश-विदेशका कृषि उद्यमीहरूको ध्यानसमेत आकर्षित गरेको छ। उनका अनुसार, नेदरल्याण्डजस्ता देशका कृषि उद्यमीहरू समेत उनको लिङदिङस्थित फार्म अवलोकन गर्न आइपुगेका छन्। राष्ट्रिय बागवानी बोर्ड साथै सुन्दर वन ड्रिमको आयोजनामा सन् २०२५ मा नेदरल्याण्ड कन्सुलेटद्वारा पाम निदरल्याण्डका फूल विशेषज्ञ जोहन भान लिभानले लिङदिङ बस्तीमा विभिन्न फूलखेतीमाथि गराएको चार दिनको तालिम पनि उनले लिएका छन्।
कोरोना महामारीको समय उनको जीवनको अर्को मोड़ बन्यो। सन् २०२० को कठिन समयमा आफ्ना छोरीहरूलाई फूलखेतीतर्फ प्रेरित गर्ने क्रममा शुरु गरिएको फूलखेती आज सफल व्यवसायमा परिणत भएको छ। अहिले क्षेत्रका विभिन्न कार्यक्रमका लागि आवश्यक पर्ने विविध प्रकारका फूलका बुकेहरूको माग उनकै फार्ममा पुग्ने गर्छ। उनी भन्छन्, ‘‘यो सबै ईश्वरको आशीर्वाद हो। शुरुमा छोरीहरूलाई सिकाउन थालेको काम आज व्यवसाय बनेको छ।’’
उनको योगदान र सफलतालाई राष्ट्रिय स्तरमै सम्मान गरिएको छ। उनले प्राप्त गरेका ‘एग्रीकल्चर लिडरशिप अवार्ड-२०२४’ र ‘एग्रीकल्चर अचिभमेन्ट अवार्ड-२०२४’ जस्ता सम्मानहरूले उनको मेहनत र समर्पणको पुष्टि गर्छन्।
हाल उनी कृषि, गाईपालन, मौरीपालन, कुखुरापालन तथा चिकन ह्याचेरी केन्द्र संचालन गरिरहेका छन्। श्रीनगरबाट ल्याइएको उन्नत जातको आईफल खेती पनि शुरु गरेका छन्। उनका अनुसार, राष्ट्रिय स्तरका वैज्ञानिकहरूले लिङदिङको जलवायु, माटोको उर्वरता र आर्द्रताको अध्ययन गरी यहाँ आईफल खेतीको राम्रो सम्भावना रहेको बताएका छन्। भविष्यका योजनाबारे उनी उत्साहित देखिन्छन्। ‘‘यहाँ कृषि छ, गाईपालन पनि छ। त्यसैले विज्ञहरूको सुझावअनुसार मिल्क प्रोसेसिङ युनिट स्थापना गर्ने तयारीमा छु’’, उनी भन्छन्।
जरवेरा फूलको बढ़्दो मागका कारण कलकता, चेन्नई र दिल्लीबाट समेत अधिकारी तथा कृषि सरोकारवालाहरू उनको फार्म अवलोकन गर्न आउने गरेका छन्। बागवानीसम्बन्धी उनको गहिरो ज्ञान र नेतृत्व क्षमताका कारण उनी सुन्दरवन ड्रिम परियोजनाको संयोजकसमेत चुनिएका छन्।
लिङदिङजस्तो ग्रामीण बस्तीमा बसेर कृषिलाई नवप्रवर्तन, सीप र उद्यमशीलतासँग जोड़्न सफल दुर्गा प्रसाद भुजेल धेरैका लागि प्रेरणाको स्रोत बनेका छन्। उनको यात्राले देखाउँछ-सफलताको आधार ठूलो लगानी होइन, सही सोच, निरन्तर मेहनत र जाँगर हो।











