गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) कालेबुङ द्वारा आज गोरामुमोका संस्थापक अध्यक्ष सुवास घिसिङको ९०औँ जन्मजयन्ती कालेबुङ स्थित ९ माइल पार्टी कार्यालयमा श्रद्धा र सम्मानका साथ मनाइएको छ। कार्यक्रममा गोरामुमो केन्द्रीय समिति सदस्यगण गोर्खा राष्ट्रिय नारी संगठन (GNWO) का प्रतिनिधिहरू, युवा तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। जन्मजयन्ती समारोह पश्चात् सहभागीहरूले डेलो नजिक अवस्थित सुवास स्मृति वनमा सरसफाइ अभियान सञ्चालन गरी क्षेत्रलाई स्वच्छ र सुन्दर बनाएका थिए।
यसै अवसरमा युवाहरूको सक्रिय सहभागितामा विभिन्न फलफूल तथा फूलका बिरुवाहरू रोपेर वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनको सन्देशसमेत दिइएको थियो। कार्यक्रममा सहभागी भई सरसफाइ तथा वृक्षारोपण कार्यलाई सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण महानुभावप्रति आयोजक पक्षले हार्दिक आभार व्यक्त गरेको छ।
आजको दिन हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूका लागि पृथ्वीको पूजा-अर्चना गरिने पवित्र ‘भूमि रुष’ पर्वको विशेष महत्व बोकेको दिन पनि हो। यस्तै शुभ र ऐतिहासिक दिनमा सुवास घिसिङको जन्म भएको स्मरण गर्दै सहभागीहरूले उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले सुवास घिसिङले देखाएको मार्ग, उहाँको सपना तथा गोर्खाल्याण्ड आन्दोलनका सम्पूर्ण शहीदहरूले आगामी पुस्ताको उज्ज्वल भविष्यका लागि गरेको बलिदानलाई सधैं स्मरण गर्दै अघि बढ्नुपर्ने बताएका थिए। गोरामुमो परिवारले सुवास घिसिङ तथा आन्दोलनका सम्पूर्ण शहीदहरूको सपना साकार पार्न प्रतिबद्धताका साथ निरन्तर संघर्षरत रहने विश्वास व्यक्त गरेको छ।












