सुधन गुरुङलाई पठाइएको धम्कीपूर्ण पत्रमा कुनै राजनीतिक व्यक्तिको नाम उल्लेख भएको विषयभन्दा पनि एउटा शिक्षित युवाले न्याय र पारदर्शिताको पक्षमा उभिएर अवैध शिक्षक नियुक्ति विरुद्ध कानुनी संघर्ष गरिरहेको बेला उनलाई “६ इन्च घटाइदिने” जस्तो ज्यान मार्ने धम्की दिइनु धेरै गम्भीर र चिन्ताजनक विषय हो। यो भनाइ हो गोर्खा जनमुक्ति युवा मोर्चा केन्द्रिय समिति, दार्जीलिङका उपाध्यक्ष सचिन ठकुरीको। उनले अघाडि भनेका छन्, दार्जीलिङ पहाडका राजनैतिक दल तथा नेतृत्वहरूले आफ्नो नाम जोडिएको कारणले असन्तुष्टि वा आपत्ति व्यक्त गर्नु स्वाभाविक हुन सक्छ। तर अन्यायविरुद्ध कानुनी बाटो रोजेका एक नागरिकमाथि खुलेआम धम्की दिइँदा त्यसप्रति आवश्यक संवेदनशीलता र गम्भीरता नदेखाइनु अझ ठूलो प्रश्न हो। यदि यस्ता घटनाहरूले समाजको ध्यान नै आकर्षित गर्न सक्दैनन् भने हामीले आफूलाई सोध्नैपर्छ, हाम्रो पहाड कुन दिशातर्फ अग्रसर भइरहेको छ ? आज पहाड बाहिरबाट हेर्दा शान्त देखिन सक्छ, तर वास्तविकता त्यति सरल छैन। जनताभित्र वर्षौं देखि थुप्रिँदै गएका असन्तोष, उपेक्षा र निराशाका भावनाहरू मौन रूपमा सञ्चित भइरहेका छन्। ती भावनाहरूलाई बेवास्ता गरिँदै गयो भने कुनै दिन यही मौनता राजनीतिक विस्फोटको कारण बन्न सक्छ। शान्त देखिने समाजभित्रको असन्तुष्टि कहिलेकाहीँ ज्वालामुखी झैँ हुन्छ बाहिरबाट स्थिर, तर भित्रभित्रै उकुसमुकुस गरिरहेको। त्यसैले आज आवश्यक कुरा आरोप-प्रत्यारोप होइन, आत्ममूल्याङ्कन हो। व्यक्तिगत अहम्, दलगत स्वार्थ र राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर गोर्खा जातिको साझा भविष्य, अधिकार र सम्मानका लागि सबैले एकताबद्ध सोच विकसित गर्नुपर्ने समय आएको छ। विगतका वर्षहरूमा बारम्बार गोर्खा जातिको समस्याको स्थायी समाधानको आश्वासन दिइएको छ। अहिले केन्द्र र राज्य दुवै तहमा राजनीतिक परिस्थिति अपेक्षाकृत अनुकूल देखिन्छ। क्षेत्रीय राजनैतिक समीकरणहरू पनि परिवर्तनको चरणमा छन्। त्यसैले जनताले अझै पनि आशा र धैर्यका साथ परिस्थितिलाई नियालिरहेका छन्। तर एउटा कुरा स्पष्ट छ! जनताको धैर्यलाई कमजोरी ठान्नु हुँदैन। प्रतीक्षा गर्ने क्षमता र शान्त रहन सक्ने संस्कारलाई निरन्तर बेवास्ता गरियो भने त्यसको परिणाम कसैका लागि पनि सुखद हुनेछैन। समयले सबैलाई अवसर दिन्छ, तर त्यो अवसरको सदुपयोग हुन सकेन भने इतिहासले आफ्नै ढंगले जवाफ दिनेछ।











