दुई गोलले पछि परेको अवस्थाबाट अविश्वसनीय पुनरागमन गर्दै बेल्जियमले सेनेगललाई अतिरिक्त समयमा ३–२ ले पराजित गरेको छ। रोमाञ्चक बनेको सन् २०२६ फिफा विश्वकपको राउन्ड अफ ३२ अन्तर्गतको खेलमा अतिरिक्त समयको अन्तिम क्षणमा युरी टिलेमान्सले पेनाल्टीमार्फत निर्णायक गोल गर्दै बेल्जियमलाई अन्तिम १६ मा पुर्याएका हुन्। खेलको सुरुआतदेखि नै सेनेगलले उत्कृष्ट प्रदर्शन गरेको थियो। पहिलो हाफमा हाबिब डियाराले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको सुरुआतमै इस्माइला सारले अर्को गोल थपेपछि सेनेगल २–० ले अघि बढेको थियो र सहज जिततर्फ उन्मुख देखिएको थियो। तर खेलको अन्तिम १० मिनेटमा बेल्जियमले शानदार पुनरागमन गर्यो। अनुभवी स्ट्राइकर रोमेलु लुकाकुले एक गोल फर्काएपछि बेल्जियम खेलमा फर्कियो। त्यसलगत्तै युरी टिलेमान्सले बराबरी गोल गर्दै खेललाई २–२ को अवस्थामा पुर्याए र निर्धारित समय सकिएपछि खेल अतिरिक्त समयमा प्रवेश गर्यो। अतिरिक्त समय पनि बराबरीतर्फ अघि बढिरहेको अवस्थामा भिडियो सहायक रेफ्री (भीएआर) को समीक्षा पछि बेल्जियमले पेनाल्टी पायो। अतिरिक्त समयको इन्जुरी समयमा टिलेमान्सले पेनाल्टीलाई गोलमा परिणत गर्दै बेल्जियमलाई ३–२ को अविस्मरणीय जित दिलाए। उक्त गोल विश्वकप इतिहासकै सबैभन्दा ढिलो समयमा गरिएको विजयी गोलमध्ये एक बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। यस जितसँगै बेल्जियमले अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। अब उसले जुलाई ६ मा संयुक्त राज्य अमेरिका विरुद्ध प्रतिस्पर्धा गर्नेछ। उत्कृष्ट प्रदर्शनका बाबजुद अन्तिम समयमा हार बेहोरेपछि सेनेगलको विश्वकप यात्रा राउन्ड अफ ३२ बाटै समाप्त भएको छ।












