गोर्खा जनमुक्ति मोर्चा, पुल-बिजनबारी-गोक समष्टिले आफ्नो संगठन विस्तार अभियानलाई थप तीव्रता दिँदै गोक–१ ग्राम पञ्चायत अन्तर्गत पर्ने गर्भेटार बस्तीमा उक्त सभामा उपस्थित सदस्यहरूको सर्वसम्मत निर्णयद्वारा गर्भेटार शाखा समिति गठन गरिएको छ। साथै, युवा मोर्चा तथा नारी मोर्चाका समितिहरू समेत गठन गरी नयाँ नेतृत्व चयन गरिएको छ। समष्टि संयोजक श्री पुरन छेत्रीको सभापतित्व आयोजित एक महत्वपूर्ण सांगठनिक सभामा गर्भेटार शाखा समिति गठन गरिएको थियो।
सभामा समष्टिका प्रतिनिधिहरू श्री कपिल मैनाली, युवा नेता श्री करण लिम्बू, श्री भीम सुब्बा, गोक–१ ग्राम पञ्चायतका उपप्रधान श्री सुबास राई, वार्ड सदस्य श्री सुरेन तामाङ, कर्माटारका वरिष्ठ समाजसेवी श्री डम्बर सुब्बा, कर्माटार शाखा सभापति श्री विश्वास लिम्बू, श्री अनिल खालिङ, नारी मोर्चाकी श्रीमती सुजु छेत्री तथा पार्टिका वरिष्ठ नेत्रित्व श्री राजेन छेत्री लगायतको उपस्थिति रहेको थियो।
सभालाई सम्बोधन गर्दै युवा नेता श्री करण लिम्बूले वर्तमान समयमा युवाहरू केवल विकासमुखी राजनीतिमा मात्र सीमित नरही, गोर्खा जातिको दीर्घकालीन संवैधानिक माग र अधिकार प्राप्तिको निम्ति सक्रिय रूपमा अघि बढ्नुपर्ने अवहाँन। उहाँले गोर्खा समुदायको साझा भविष्य सुनिश्चित गर्न युवाशक्तिको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउँदै सबै युवाहरूलाई पार्टीको संगठनात्मक गतिविधिमा सक्रिय सहभागिता जनाउन आह्वान गर्नुभयो।
उहाँले समष्टिको तर्फबाट नवगठित गर्भेटार शाखा, युवा मोर्चा तथा नारी मोर्चाका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी दिनहरूमा पार्टी संगठनलाई अझ सुदृढ, सशक्त र जनमुखी बनाउन पूर्ण समर्पणका साथ कार्य गर्न अनुरोध गर्नुभयो।
गोर्खा जनमुक्ति मोर्चा, पुल-बिजनबारी-गोक समष्टिले आगामी दिनहरूमा पनि गाउँ–गाउँसम्म संगठन विस्तार गर्दै जनताको अधिकार, पहिचान तथा गोर्खा जातिको दीर्घकालीन संवैधानिक समाधानको आन्दोलनलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।












