गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले जनहित तथा सरकारी विकास योजनाको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिँदै खण्ड विकास क्षेत्रस्तरमा संगठन विस्तार अभियानलाई तीव्र बनाएको छ। यसैक्रममा गोरामुमो पुलबजार–बिजनबारी गोक समष्टि अन्तर्गत चैनपुरे शाखामा आयोजित संगठनात्मक सभाले बिजनबारी खण्ड समन्वय कमिटी गठन गरेको छ।चुङथुङ–मेरिबुङ–तामसाङ समष्टिका अध्यक्ष जे.के. राई को अध्यक्षतामा सम्पन्न उक्त सभामा समष्टिका उपाध्यक्ष गाइस सुब्बा प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। सभामा बिजनबारी खण्ड विकास क्षेत्र अन्तर्गत पर्ने विभिन्न समष्टिका प्रतिनिधिहरूको सहभागितामा संगठन सुदृढीकरण, जनहितका विषय तथा विकास योजनाको प्रभावकारी समन्वयबारे विस्तृत छलफल गरिएको थियो।
सभाले पुलबजार–बिजनबारी खण्ड विकास क्षेत्र अन्तर्गत पाँचभन्दा बढी समष्टि रहेको तथा सरकारी योजनाहरू प्रभावकारी रूपमा जनतासम्म पुर्याउन प्रत्येक समष्टिबाट दुईदेखि तीनजना प्रतिनिधि समेटेर खण्ड समन्वय कमिटी गठन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।
नवनिर्वाचित खण्ड समन्वय कमिटीको अध्यक्षमा सन्दिप लिम्बू चयन भएका छन्। त्यसैगरी उपाध्यक्षमा जे.के. राई, शंकर राई र असिम सुब्बा, सचिवमा अमोद लकान्द्री, सहसचिवमा सुनिल थापा, बिरमान लामा तथा धुर्व गुरुङ सर्वसम्मतिले चयन भएका छन्।
यसैगरी कार्यकारिणी सदस्यहरूमा सोभित छेत्री, गणेश शंकर, प्रताप तामाङ, सत्यन राई, मनजित सुब्बा, अमर गुरुङ, दोर्जी शेर्पा तथा अनुप प्रधान चयन भएका छन्। सभा सम्पन्न भएपछि नवनिर्वाचित खण्ड समन्वय कमिटीले खण्ड विकास अधिकारीसँग शिष्टाचार भेट गरी विभिन्न जनसरोकारका विषय समेटिएको ज्ञापनपत्र पनि बुझाएको अध्यक्ष सन्दिप लिम्बूले जानकारी दिए। उनका अनुसार खण्ड समन्वय कमिटी गठनको मुख्य उद्देश्य सरकारी योजनाहरू पारदर्शी, निष्पक्ष र प्रभावकारी रूपमा वास्तविक लाभग्राहीसम्म पुर्याउनु हो। विगतमा देखिएका अनियमितता, भ्रष्टाचार र भाई–भतिजावादको अन्त्य गर्दै जनताले पाउनुपर्ने सबै सरकारी सुविधा समान र न्यायोचित ढंगले उपलब्ध गराउन कमिटीले सक्रिय भूमिका निर्वाह गर्ने उनले बताए। उनले जनताको हक–अधिकारको संरक्षण, विकास योजनाको प्रभावकारी अनुगमन तथा प्रशासनसँग निरन्तर समन्वय गर्दै जनमुखी कार्यलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।












