फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को अत्यन्तै रोमाञ्चक प्रतिस्पर्धामा पोर्चुगलले क्रोएसियालाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।टोरोन्टोमा सम्पन्न खेलको ५३औँ मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए। त्यसपछि पोर्चुगलले लगातार दबाब सिर्जना गर्दै खेलमा फर्किने प्रयास गर्यो। ७०औँ मिनेटतिर प्राप्त पेनाल्टीमा कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।
यो रोनाल्डोको विश्वकप नकआउट चरणमा पोर्चुगलका लागि पहिलो गोल पनि बन्यो। निर्धारित समयको इन्जुरी समयमा वैकल्पिक खेलाडी गोन्कालो रामोसले हेडमार्फत निर्णायक गोल गर्दै पोर्चुगललाई २–१ को जित दिलाए। खेलको अन्तिम क्षणमा क्रोएसियाले बराबरी गोल गरेको जस्तो देखिए पनि भीएआर (VAR) परीक्षणपछि अफसाइड ठहर भएसँगै गोल रद्द गरियो। त्यससँगै पोर्चुगलले रोमाञ्चक जित निकाल्दै अन्तिम १६ मा स्थान बनायो। यस जितसँगै पोर्चुगलले अन्तिम १६ मा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। यता, क्रोएसियाका अनुभवी कप्तान लुका मोड्रिचका लागि यो सम्भवतःविश्वकपको अन्तिम खेल बनेको छ।












