सह–आयोजक मेक्सिकोले फिफा विश्वकप २०२६ को समूह चरणमा शतप्रतिशत नतिजा निकाल्दै समूह ‘ए’ को विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ। बुधबार राति भएको अन्तिम समूह खेलमा मेक्सिकोले चेकियालाई ३–० गोलअन्तरले पराजित गर्दै लगातार तेस्रो जित दर्ता गरेको हो।एस्तादियो अज्टेकामा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा मेक्सिकोले उत्कृष्ट प्रदर्शन गर्दै तीन गोल गर्यो। ५५औँ मिनेटमा माटेओ चाभेजले गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसको छ मिनेटपछि जुलियन किन्योनेसले गोल थप्दै मेक्सिकोको अग्रता दोब्बर बनाए। इन्जुरी समयको चौथो मिनेटमा आल्भारो फिडाल्गोले गोल गरेपछि मेक्सिकोले ३–० को सहज जित सुनिश्चित गर्यो। यो जितसँगै मेक्सिकोले समूह चरणका तीनवटै खेल जित्दै नौ अंक जोड्यो। विश्वकप इतिहासमा मेक्सिकोले पहिलो पटक समूह चरणका सबै खेल जितेर अर्को चरणमा प्रवेश गरेको हो। साथै टोलीले समूह चरणभर एक गोल पनि नखाई उत्कृष्ट रक्षात्मक प्रदर्शन गरेको छ। खेलमा १७ वर्षीय गिल्बेर्टो मोराले सुरुआती रोजाइमा स्थान पाउँदै विश्वकपमा मेक्सिकोका लागि खेल सुरु गर्ने सबैभन्दा कान्छा खेलाडी बन्ने कीर्तिमान बनाए। यस्तै अनुभवी गोलरक्षक गुइलेर्मो ‘मेमो’ ओचोआले दोस्रो हाफमा मैदान प्रवेश गर्दै आफ्नो छैटौँ विश्वकप सहभागिता जनाए। अर्कोतर्फ, जितको दबाबमा रहेको चेकिया खेलभर प्रभावशाली प्रदर्शन गर्न असफल रह्यो। तीन खेलबाट केवल एक अंक जोड्न सकेको चेकिया समूहको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ। समूह ‘ए’ को अर्को खेलमा दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई १–० ले पराजित गरेपछि चार अंकसहित उपविजेता बन्दै अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ। दक्षिण कोरिया भने तेस्रो स्थानमा रहेर अन्य समूहका नतिजाको प्रतीक्षामा रहेको छ। समूह विजेता बनेको मेक्सिकोले अब अन्तिम ३२ मा समूह ‘सी’, ‘ई’, ‘एफ’, ‘एच’ वा ‘आई’ मध्ये कुनै एक समूहको उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीसँग प्रतिस्पर्धा गर्नेछ।












