मानव जीवन विभिन्न पाटपुर्जाले बनेको एउटा जटिल यन्त्रजस्तै हो। यसका कुनै पनि अंगमा आउने असन्तुलनले जीवनमा अनेक उतारचढ़ाव ल्याउनसक्छ। स्वस्थ र सन्तुलित जीवनको खोजीमा मानिसले प्राचीन कालदेखि नै विभिन्न उपायहरू अप्नाउँदै आएको छ। यिनै उपायहरूमध्ये प्राकृतिक चिकित्सा पद्धतिको एक महत्वपूर्ण आधार हो- योग। शारीरिक तन्दुरुस्ती, मानसिक शान्ति र बौद्धिक सन्तुलन प्राप्त गर्ने माध्यमका रूपमा स्थापित योगलाई केवल व्यायामको रूपमा मात्र नभई आध्यात्मिक साधनासँग पनि जोड़ेर हेरिन्छ।

संस्कृत शब्द ‘योग’ को अर्थ जोड़्नु वा आत्मालाई परम सत्यसँग एकाकार गर्नु भन्ने बुझिन्छ। यही भावलाई आत्मसात गर्दै महर्षि पतञ्जलिले ‘चित्तका वृत्तिहरूको निरोध’लाई योगको मूल परिभाषाका रूपमा प्रस्तुत गरेका छन्। उनले प्रतिपादन गरेको अष्टाङ्ग योग-यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधिलाई शारीरिक, मानसिक तथा आध्यात्मिक सन्तुलनको मार्ग मानिन्छ। प्राचीन भारतीय ऋषिमुनिहरूद्वारा प्रतिपादित योग आज आध्यात्मिक साधनादेखि विश्वव्यापी स्वास्थ्य अभियानसम्मका रूपमा विकसित हुँदै विश्वभर लोकप्रिय बनेको छ।
अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा वर्षमा एकपटक योगबारे व्यापक चर्चा हुने गरिन्छ। तर पनि केही व्यक्तिहरू भने यसलाई केवल औपचारिकतामा सीमित नराखी समाजको घरदैलोमै पुर्याउने अभियानमा निरन्तर सक्रिय छन्। यस्तै योगमार्फत स्वास्थ्य, अनुशासन र स्वावलम्बनको सन्देश फैलाउँदै समाजमा जनचेतना जगाइरहेका व्यक्तित्वमध्येका दुई हुन्-कालेबुङ निवासी कमल दाहाल र दार्जीलिङ पुलबजार क्षेत्रका दिपेन कोइराला।
योगका विभिन्न प्रकार र अभ्यासमार्फत ध्यान, आत्मज्ञान तथा मोक्षको मार्ग खोजिन्छ। हिन्दू, जैन र बौद्ध धर्ममा योगको महत्वपूर्ण स्थान रहेको छ। समयसँगै योग भारतबाट चीन, जापान, तिब्बत, श्रीलंका तथा दक्षिण-पूर्वी एशियाका विभिन्न देशहरूमा फैलिएको थियो। आज योग विश्वभर स्वास्थ्य, मानसिक शान्ति र जीवनशैली सुधारको माध्यमका रूपमा लोकप्रिय बनेको छ।
‘योग’ शब्दको सबैभन्दा पुरानो उल्लेख ऋग्वेदमा पाइन्छ। त्यसपछि विभिन्न उपनिषद्हरूमा पनि यसको चर्चा गरिएको छ। महर्षि पतञ्जलिद्वारा रचित योगसूत्रलाई योगसम्बन्धी सबैभन्दा महत्वपूर्ण ग्रन्थ मानिन्छ। हठयोगको विकास भने नवौँदेखि एघारौँ शताब्दीको बीचमा भएको विश्वास गरिन्छ। आधुनिक समयमा योग केवल आध्यात्मिक साधनामा सीमित नभई शारीरिक तन्दुरुस्ती, तनाव व्यवस्थापन तथा मानसिक स्वास्थ्य सुधारसँग पनि जोड़िएको छ। विशेषगरी पश्चिमी मुलुकहरूमा योग आसन तथा शारीरिक व्यायामका रूपमा लोकप्रिय भएको छ। स्वामी विवेकानन्दलगायत भारतीय चिन्तक र गुरुहरूले योगलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन महत्वपूर्ण भूमिका खेलेका थिए। संयुक्त राष्ट्र महासभाले सन् २०१४ मा प्रत्येक वर्ष २१ जूनलाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउने घोषणा गरेपछि त्यसयता विश्वभर विभिन्न कार्यक्रम, योग अभ्यास तथा जनचेतनामूलक गतिविधिमार्फत यस दिवसलाई मनाइँदै आएको छ।

योगबारे समाजमा जनजागरण ल्याउने कार्यमा निरन्तर लागिपरेका छन् कालेबुङ निवासी कमल दाहाल। उनले योगलाई आत्मा तथा परमात्माको मिलन मात्रै होइन निरोगी बन्ने मार्गसँगै युवाहरूका निम्ति भविष्य पनि राम्रो हुनसक्ने सम्भावना देख्छन्। सूर्य फाउन्डेसनको संस्कार केन्द्रमार्फत गाउँ-गाउँमा उनी पुग्ने गर्छन्। उनले बालबालिकाहरूलाई योगबारे जागरुक मात्रै होइन यसलाई अप्नाउन सके निरोगी मात्रै होइन स्थानीयदेखि वैश्विक स्तरसम्ममा रोजगारको सुनौलो अवसर पाउने सन्देश दिन्छन्।
कमल दाहाल भन्छन्, ‘‘देशका प्रधानमन्त्री नरेन्द्र मोदीले नवीनतम रूपमा योगलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान मात्रै होइन योग गुरु, योज्ञाचार्यहरूको वैश्विक रूपमा ठूलो मार्ग खोलिदिए। जसको कारण योगको क्षेत्रमा लाग्ने युवाहरूलाई निरोगी बन्ने मात्र होइन रोजगारको माध्यम बनाउनसक्ने सुनौलो अवसर छ।’’ उनका अनुसार, देशमा योगसम्बन्धि व्यावहारिक जानकारी राख्नेहरूको निम्ति भविष्य उज्ज्वल छ। यसका साथमा उनलाई एक दशकभन्दा बढ़ी समयको यात्रामा धेरैले अनुसरण गरेर योगको माध्यमले समाजमा धेरै ख्याति कमाउन थालेको उनको अनुभव छ।
यस्तै देशमा आयुष मन्त्रालयको शुरुवातले पनि योगसग जोड़िएका युवाहरूलाई आउँदो दिनहरूमा राम्रो हुनसक्ने उनको बुझाइ छ। यद्यपि युवाहरूको बढ़्दो मोबाइलको प्रयोग सँगै प्राकृतिको विपरित जीवनशैलीले उनलाई सधैं झकझक्याइ रहन्छ। यसबारे उनी भन्छन्, ‘‘सरकारको नयाँ नियम अनुरुप अविभावकहरू आफ्ना छोराछोरी तथा विद्यालयमा शिक्षकहरू अनुशासनको निम्ति केही दण्डहीनता शासन लगाउन सक्दैनन्। जसलाई युवाहरूले दुरुपयोग गर्दैछन्।’’ जसको निम्ति सम्पूर्ण समाज जागरुक हुनुपर्ने कमल दाहालको सुझाव छ।
यस्तै समाजमा योगबाट हुने फाइदाबारे समाजलाई निरन्तर बुझाउँदै सक्रिय रहेका अर्का एकजना हुन् दार्जीलिङ पुलबजार खण्डको गोक दुई ग्रामको लोवर कोलबुङ निवासी दिपेन कोइराला। जसले ग्रामीण भेगका बालबालिकाहरूलाई सानै उमेरमा योगबारेमा जानकारी प्रदान गर्दै आएका छन्। साधारण शैलीमा जीवनयापन गर्ने दिपेन कोइरालाले विभिन्न चुनौतीहरूको सामना गर्दै गएको एक दशकदेखि योगले शरीर, मन र आत्माबीच सन्तुलन कायम गर्न सहयोग पुर्याउनेबारेमा जागरुक गराउँदै आएका छन्। यसका साथै योग केवल शारीरिक व्यायाम मात्र नभएर मानसिक विकारहरूलाई निर्मूल पार्ने सजिलो माध्यम रहेको पनि उनी मानिसहरूलाई बझाउँछन्।
योगबारे दिपेन कोइराला भन्छन्, ‘‘साधरण रुपमा योग भन्नेमा हामी केवल शारीरिक व्यायाम मात्रै रहेको भन्ने बुझ्ने गर्छौं। यद्यपि योगको क्षेत्र अत्यन्तै विशाल छ। खानपानदेखि मानव जीवनको सम्पूर्ण शैली नै योगभित्र आउने गर्दछ। जसलाई मानसिक, शारीरिक, भौतिकदेखि आध्यात्मिक हिसाबले जोड़ेर हेर्न सकिन्छ।’’ उनी अझ भन्छन्, ‘‘योग गर्नाले मानव शरीरलाई निरोगी बनाउने नै गर्छ, त्यसभन्दा बढ़ी मानिसहरूलाई प्रकृतिको नजिक बनाउने गर्छ। यसैले प्रधानमन्त्री ‘‘नरेन्द्र मोदीको हम फिट है तो देश फिट है’’ भन्ने मन्त्रलाई योगले सदैव आत्मसात गर्छ।’’
यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीको माध्यमले गएको एक दशकयता योगको वैश्विक रूपमा प्रचारप्रसार बढ़ेको हुनाले यसलाई युवाहरूले आत्मसात गर्दै अघि लैजान सके स्वास्थ्य सँगै स्थानीयदेखि विश्वव्यापी रूपमा रोजगारको सुनौलो अवसर हुनसक्ने दिपेनको भनाइ छ। हाल योगको निम्ति माहोल राम्रो भएको बताउने दिपेनलाई केवल औपचारिकता मात्रै गर्ने समाजले योगलाई व्यवहारिकतामा ल्याउनु अत्यन्तै अनिवार्य रहेको सदैव लाग्ने गर्दछ। यसैले आफ्नो व्यस्ततालाई पन्साउँदै समय निकालेर संस्कारहरू अनुशरणको पाठ पढ़ाउने गर्छन्। हालसम्म कुनै पेशेदार प्रशिक्षकहरु जन्माउने माहोल नभएको तथा योगलाई केवल एकदिने औपचारिकता मात्रै मान्ने समाजमा माहोल राम्रो भएकोले चाँड़ै स्थानीय भेगबाट पनि योगलाई माध्यम मानेर युवाहरू स्वलम्बी हुनसक्ने उनको भनाइ छ। यद्यपि यसको निम्ति अनुशासन भने अत्यन्तै जरुरी रहेकोले धर्यका साथमा अघि आउनेलाई सरकारले पनि राम्रो अवसर प्रदान गर्नसक्ने उनी बताउँछन्। यस्तै यस क्षेत्रमा लागि पर्नेहरूलाई आयुष मन्त्रालयले सहयोग गर्ने भएकाले युवाहरूलाई निरोगीका साथ स्वनिर्भर बन्न एउटा तीरले दुईवटा शिकार गर्न अनुरोध गर्छन्।
योग स्वस्थ, अनुशासित र सन्तुलित जीवनको आधार हो। यसलाई दैनिक जीवनमा अप्नाउन सके शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधार आउनुका साथै युवाहरूका लागि आत्मनिर्भरता र अवसरका नयाँ ढोकाहरू खुल्न सक्छन्। त्यसैले योगलाई केवल औपचारिकतामा सीमित नराखी व्यवहारमा उतार्नु आवश्यक छ।











