खरसाङ, 7 जुलाई (निसं)ः खरसाङ फुटबल एसोसिएशन अनि जीटीएको युवा एवं खेल मामिला विभागको संयुक्त आयोजनामा सम्पन्न भइरहेको खरसाङ सुपर लीकको तेस्रो दिनको खेल सम्पन्न भएको छ। तेस्रो दिनको खेल च्याम्पियन डिभिजन अन्तर्गत मकैबारी युनाइटेड फुटबल क्लब अऩि त्रिशुली संघमाझ सम्पन्न भयो। यस खेलमा खेलको अवधिभर मकैबारी युनाइटेड क्लबको दबाव देखियो। विपक्षी दलको दबावको सामना गर्दै त्रिशुली संघका खेलाड़ीहरूले गोल गर्ने प्रयास गरे तापनि मकैबारी स्पोर्टिङ क्लबका खेलाड़ीहरूले ती सबै प्रयासहरू विफल बनाइदिए। यस प्रकार यो खेलमा मकैबारी युनाइटेड फुटबल क्लबले त्रिशुली सङ्घलाई शुन्यको विरुद्ध 6 गोलले परजित गर्यो। यस खेलमा मकैबारीका खेलाड़ी जर्सी नम्बर 15 अङ्कित तामाङले 1 गोल, जर्सी नम्बर 13 पेमा लामाले 1, जर्सी नम्बर 11 नेहाल खवासले 2 गोल, जर्सी नम्बर 4 एमोन राईले 1, जर्सी नम्बर 44 सुमिरन प्रधानले 1 गोल गरेका थिए। खरसाङ फुटबल एसोसिएशनका सचिव सुदीप राईले जानकारी दिए अनुसार यस खेलको सञ्चालन हिल्स रेफेरीस एसोसिएसनका रेफेरीहरू नितेश देवान, रेबिका प्रधान, मनीष थापाले गरेका थिए भने फोर्थ अफिसियलमा सञ्जय थापा रहेका थिए।
