हिमालयन प्लान्टेशन वर्कर्स युनियन (एचपीडब्ल्यु) केन्द्रीय समितिको एक महत्वपूर्ण बैठक मंगलबार गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) खर्साङ शाखा कार्यालयमा सम्पन्न भयो। बैठकमा हालै गठन गरिएको तिनधारे चियाबारी एचपीडब्ल्यु शाखा समितिका पदाधिकारीहरूसँग परिचयात्मक कार्यक्रमका साथै चियाबगानका श्रमिकहरूको विभिन्न समस्याबारे विस्तृत छलफल गरिएको थियो। बैठकमा एचपीडब्ल्यु केन्द्रीय समिति अध्यक्ष बी.के. राई, गोरामुमो खर्साङ शाखा समिति अध्यक्ष नीमा लामा, सचिव युद्ध छेत्री, गोर्खा राष्ट्रिय नारी संगठन (जीएनडब्लुओ) केन्द्रीय उपाध्यक्ष कमला राई, तिनधारे–महानदी समष्टि गोर्खा राष्ट्रिय युवा मोर्चा अध्यक्ष सङ्ग्राम घतानी लगायत अन्य पदाधिकारी तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।उल्लेखनीय छ कि गत ५ जुलाई तिनधारे चियाबारीमा एचपीडब्ल्युको नयाँ शाखा समिति गठन गरिएको थियो। सोही समितिका पदाधिकारीहरूलाई स्वागत तथा परिचय गराउँदै केन्द्रीय नेतृत्वले श्रमिकहरूको हक–हित संरक्षणमा सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको हो। बैठकलाई सम्बोधन गर्दै अध्यक्ष बी.के. राई, शाखा अध्यक्ष नीमा लामा तथा सचिव युद्ध छेत्रीले नवगठित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै श्रमिकहरूको हितलाई सर्वोच्च प्राथमिकतामा राखेर इमानदारी, पारदर्शिता र निष्पक्षताका साथ कार्य गर्न निर्देशन दिए। उनीहरूले कुनै पनि श्रमिकप्रति भेदभाव नगरी सम्पूर्ण चियाबगान उद्योगको समग्र हितलाई ध्यानमा राख्दै आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिए। बैठकमा चियाबगान क्षेत्रमा देखिएका विविध समस्याको समाधानका लागि श्रमिक, युनियन तथा सम्बन्धित पक्षबीच आपसी समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा समेत महत्वपूर्ण छलफल भएको बताइएको छ।











