सरकारी सेवाबाट अवकाश लिएपछि धेरैजसो मानिस विश्राम र पारिवारिक जीवनमा रमाउँछन्। तर केही व्यक्तित्व यस्ता पनि हुन्छन्, जसका लागि अवकाश भनेको समाजप्रतिको नयाँ जिम्मेवारीको शुरुवात हो। कृषि विशेषज्ञ डा. शरण कुमार रिजाल त्यस्तै प्रेरणादायी व्यक्तित्व हुन्। सरकारी सेवाबाट सेवानिवृत्त भए पनि उनी आफ्नो ज्ञान, अनुभव र सामाजिक सञ्जालमार्फत भारतका पूर्वोत्तर राज्यदेखि नेपाल र भुटानसम्मका किसानलाई आधुनिक, वैज्ञानिक र व्यावहारिक कृषिबारे निरन्तर मार्गदर्शन गर्दै आएका छन्। उनको यही समर्पणले उनीलाई किसानका विश्वासिला साथी र समाजका प्रेरणादायी अभियन्ताका रूपमा स्थापित गरेको छ।
‘‘उद्यमशील हुने लक्ष्य लिएर अघि आउनुहोस् आफ्नै जमिनमा सुन फल्छ। यद्यपि यसको निम्ति धर्यैताको आवश्यक छ’’
स्व० भीमा देवी र स्व० गोपिचन्द्र रिजालका छोरा डा० शरण कुमार रिजाल ६ सेप्टेम्बर १९५८ मा मणिपुरको तोक्पाखुन बस्ती, काङ्पोसक्पी (तत्कालिन सेनापति) जिल्लामा जन्मिएका हुन्। डा० रिजालले कालापहाड़ गोर्खा हाई स्कूल, काङ्पोङक्पीमा पढ़्दा एकजना शिक्षकको प्रेरणाबाट कृषि विषयमा आकर्षित भए। सन् १९७९ मा माध्यमिक सकेपछि धन मञ्जुरी (डीएम) कलेज, इम्फाल, मणिपुर (गुवाहाटी विश्वविद्यालय)बाट पीयू (विज्ञान) सकेपछि विधानचन्द्र कृषि विश्वविद्यालय, कल्याणी, पश्चिम बंगालबाट सन् १९७२ मा कृषिमा स्नातक गर्दासम्म धेरै ज्ञान प्राप्त गरेका थिए।

नरिवल विकास प्राधिकरण, भारत सरकार (कृषि मन्त्रालय), एर्णाकुलम (कोच्चि), केरलमा नरिवल तथा भित्रीबालीसम्बन्धि प्राविधिक, संवर्धन र प्रसारको चार वर्षको अनुभवबाट डा० शरण कुमार रिजालले रोपनी फसल अनुसन्धान संस्थान, कृषि मन्त्रालय, भारत सरकारको विभिन्न स्थानहरू कासरगोड (केरल), किदु (कर्णाटक), पोर्ट ब्लेयर (अन्डमान), मोहितनगर (पश्चिम बंगाल) र गुवाहाटी, असममा सुपारी, नरिवल, गोलमरिच, हर्दी, कोको, काजु, जड़ीबुटी, सब्जी, निम्बू, केरा आदिको फसलसहित बहुतले वा मिश्रित खेतीसम्बन्धि अनुसन्धान, प्रशिक्षण, प्रसारप्रचार आदिबारे ३५ वर्षसम्म विभागमार्फत किसानहरूसामु निरन्तर पुगिरहे।
उनले आफ्नो सेवाकालमा केरला, कर्णाटक, अन्डमान-निकोबार, पश्चिम बंगाल, असम र मेघालयलगायतका राज्यहरूका विभिन्न कृषि विषयमा आधारित प्रशिक्षण र प्रदर्शनसहित कयौं किसानहरूलाई प्रत्यक्ष र अप्रत्यक्ष अवगत, सचेतना गराए। यस्तै सेवानिवृत्त भएपछि उत्तर बंगाल, दार्जीलिङ पहाड़ी क्षेत्र, असम, मेघालय, डुवर्स, अरूणाचल प्रदेश, नागाल्याण्ड, नेपाल र भुटानलगायतका कयौं किसानहरूलाई प्रत्यक्ष-अप्रत्यक्षसँगै सामाजिक सञ्जालबाट आधुनिक, जैवीक कृषि प्रविधिको सचेतनता, प्रशिक्षण र सहयोग पुर्याउँदै आइरहेका छन्।
कृषिखेतीमा ठूलो सम्भावना देख्ने डा० रिजाल सरकारी तन्त्र र सर्वसाधारणमा ठूलो दुरी रहेको सरकारी परियोजनाहरू जमिनी रूपमा पुग्न नसकेको बताउँछन्। यसका साथै सरकारी कर्मचारीहरूले सामाजिक दायित्वलाई बोध गर्दै अघि बढ़्नसके किसान तथा परियोजनाको दुरी घट्ने उनको भनाइ छ। यस्तै सरकारी योजनालाई केवल फाइदाका लागि मात्र होइन किसानहरूको सोचलाई बदलिँदै कृषिमा क्रान्ति ल्याउने पहलमा किसानहरूलाई लिन नसकेसम्म सरकारको कृषिमुखी विभिन्न महत्वाकांक्षी परियोजनाहरू केवल औपचारिकतामा मात्रै सीमित रहने उनी बताउँछन्। यसबारे उनी भन्छन्, ‘‘किसानहरूका निम्ति सरकारले धेरै महत्त्वपूर्ण योजनाहरू अघि बढ़ाउने गर्छ। तर किसानसम्म आइपुग्दा योजनाहरू टेन्डरमार्फत भनौं थर्ड पार्टीमार्फत जमिनमा आइपुग्छ। यसले न त सरकारको योजनाको सही उपयोग हुन्छ न त लाभार्थीहरूले फाइदा लिनसक्छ्न्।’’ उनी अझ भन्छन्, ‘‘कृषिमा राजनैतिक पार्टीमा जस्तो धेरै संख्यामा समर्थकहरू होइन खेलमा जस्तो चुनिएका उद्यमीहरूको आवश्यकता छ। जसले आफूलाई कृषिमा ढाल्न सकोस्।’’
विभागीय अभियन्ताको रूपमा काम गर्दा सरकारी प्रोटोकलको पालन गर्नुपर्ने बाध्यताले चाहेर पनि कृषिसम्बन्धि धेरै कुराहरू आफैमा सीमित रहेको पाउँदा अवकाशपछि समाजिक दायित्वलाई वहन गर्न किसानसामु प्रत्यक्ष तथा परोक्ष रूपमा अघि बढ़ेका डा० रिजाल हाल कृषि निजी रूपमा कृषि सम्बन्धित काम गर्ने व्यवसायीहरूको हातमा पुगेको अनुभव गर्छन्। उनी भन्छन्, ‘‘सरकारले कृषिसम्बन्धि विभिन्न योजनाहरू अघि राखेको छ। जसमा बिउबिजन, मल औषधिलगायतका विभिन्न सेवाहरू सामेल छन्। यद्यपि किसान र विभागको दोहोरो सम्पर्कको ठूलो ग्यापका कारण किसानहरू स्थानीय स्तरमा कृषिको बिउबिजन, मल, औषधि बिक्री गर्नेहरूमा प्रत्यक्ष निर्भर हुन बाध्य छन्। यद्यपि दोकानदारमा विशेष गरी रासायनिक सार अनि औषधिहरू प्रयोगबारेमा भनेजस्तो ज्ञान छैन। यसले कृषि जमिनलाई धेरै नोक्सानी पुर्याइरहेको छ। यसलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ।’’
कृषिकै माध्यमबाट समाजमा गहिरो छाप बसालेका डा० रिजालले आफ्नो अनुभव साझा गर्दै किसानहरूलाई जागरुक बनाउन नेपाली (२२३ वटा), हिन्दी (४९ वटा), अंग्रेजी (४५ वटा) र बंगला (३ वटा) कृषि, पर्यावरण, विज्ञान तथा सम-सामयिक विषयका विभिन्न पत्र-पत्रिकाहरूमार्फत लेखहरू प्रकाशित गरिसकेका छन्। यस्तै सुपारी खेती तथा उद्योग (नेपाली), प्रथम संस्करण- सन् २०२१ र दोस्रो संस्करण २०२६ (प्रेसमा), नेपालमा सुपारी खेती तथा उद्योग (नेपाली), प्रथम संस्करण – सन् २०२१, गोलमरिचको खेती तथा प्रशोधन (नेपाली), प्रथम संस्करण- सन् २०२३, तामोलर खेती आरू उद्योग (असमियाँ), प्रथम संस्करण – सन् २०२२, जालुकर खेती तथा प्रशोधन (असमियाँ), प्रथम संस्करण- सन् २०२३ , गोल मरिचेर खेती एवङ् प्रक्रियाकरण (बंगला), प्रथम संस्करण- सन् २०२४, अरेकानट- कल्टिवेशन, इकोनोमिक्स एण्ड इन्डस्ट्री (अंग्रेजी), प्रथम संस्करण- सन् २०२५ र दोस्रो संस्करण २०२६, गोई आबाद आरो दारिमिन (बोडो), प्रथम संस्करण- सन् २०२५युवामा-कृषिको-सम्भावना-ज लगायतका पुस्तकहरू प्रकाशित गरिसकेको छन्।
किसानको आर्थिक सम्पन्नता अनि अन्धविश्वासमुक्त, विज्ञानसम्मत समाजको सपना देख्ने डा० रिजालले विश्व भारती (केन्द्रीय विश्वविद्यालय), शान्ति निकेतन, पश्चिम बंगालबाट कृषिमा सन् २०१४ मा विद्यावारिधि प्राप्त गरिसकेका हुन् भने नेपाली, हिन्दी, अंग्रेजी, मणिपुरी, बंगला, मलयालम, कन्नड र असमियाँलगायतका भाषाहरूमा ज्ञान छ।
युवाहरूलाई खेतीबाट विमुख हुनमा केवल युवाहरू मात्र जिम्मेवार नभएको डा० रिजाल बताउँछन्। अन्य क्षेत्र सरह कृषिमा युवाहरूलाई आकर्षित पार्ने परियोजनाहरू अघि नसारेपछि यस क्षेत्रमा युवाहरू आउन नसक्ने उनको भनाइ छ। उनी भन्छन्, ‘‘कृषि भनेको मानवीय जीवन हो। यसमा सम्भावनाको कमि कदापि छैन। छ त केवल सोचाइको कमि। उद्यमशील हुने लक्ष्य लिएर अघि आउनुहोस् आफ्नै जमिनमा सुन फल्छ। यद्यपि यसको निम्ति धर्यैताको आवश्यक छ। आजको भोलि परिणाम आउँदैन, तर जब परिणाम आउनथाल्छ पछि फर्किनु पर्दैन।’’
समाजमा उद्यमशील युवाहरूको कमि देख्ने डा० रिजालले युवाहरू नोकर भएर होइन कृषिमा लागेर मालिक भएर जीउनसक्ने प्रशस्तै सम्भावनाहरू देख्छ्न्। यस्तै समाजिक सञ्जाललाई सठिक रूपमा सदुपयोग गर्नसके यसले युवाहरूलाई मार्गदर्शन गराउनसक्ने उनको विश्वास छ।
अवकाशपछि पनि समाज र किसानको हितमा निरन्तर सक्रिय डा. शरण कुमार रिजालले ज्ञान बाँड़्नु नै सबैभन्दा ठूलो सेवा हो भन्ने उदाहरण प्रस्तुत गरेका छन्। उनको जीवनले युवालाई कृषि केवल पेशा होइन, सम्भावना र आत्मनिर्भरताको मार्ग हो भन्ने सन्देश दिन्छ। अनुभवलाई समाजको हितमा रूपान्तरण गर्ने यस्ता व्यक्तित्व वास्तवमै समाजका प्रेरणाका स्रोत हुन्।











