गोर्खा राष्ट्रिय मुक्ति मोर्चा कालेबुङ ब्लक–१ कमिटी अन्तर्गत ३५ नम्बर समष्टिका विभिन्न शाखाहरूमा संगठनात्मक सभा सम्पन्न भएको छ। सभामार्फत विभिन्न शाखाहरूमा नयाँ नेतृत्व चयन गरिनुका साथै संगठन विस्तार अभियानलाई थप सशक्त बनाइएको जानकारी प्राप्त भएको छ।
सभामा बोङ बस्ती शाखाको अध्यक्षमा भोला दंगाल, कालेबुङ नगरपालिका वार्ड नम्बर–१३ का संयोजकमा गणेश घिसिङ, सेलिमबोङ शाखा संयोजकमा राम नारायण प्रधान, बीच गैरी गाउँ शाखा संयोजकमा टंकनाथ भण्डारी, दिपराली गाउँ शाखा संयोजकमा विजय बानियाँ तथा बरबोट गाउँ शाखा संयोजकमा पदमप्रसाद पौडेल सर्वसम्मतिले चयन भएका छन्।
यसैबीच, विभिन्न राजनीतिक दल परित्याग गरी १३ जना नयाँ सदस्य गोरामुमोमा औपचारिक रूपमा सामेल भएका छन्। नयाँ सदस्यहरूलाई खदा लगाएर स्वागत गरिएको थियो। दिल्लीराम बस्नेतको अध्यक्षतामा सम्पन्न सभामा गोरामुमो केन्द्रीय समिति सदस्य लोपसाङ तामाङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा ब्लक–१ कमिटीका उपाध्यक्ष प्रकाश गुरुङ, सह–सचिव रुपेन सुब्बा, निरज गुरुङ, उर्गेन मोक्तान, रविन लामा, दिलिप राई, गणेश घिसिङ, पदमप्रसाद पौडेल लगायत बोङ बस्तीका कार्यकर्ता तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सभाको सञ्चालन भोला दंगालले गरेका थिए।
नवप्रवेशी सदस्यहरूलाई सम्बोधन गर्दै लोपसाङ तामाङले गोरामुमो एनडीएको घटक दल भएको उल्लेख गर्दै पार्टी अध्यक्ष मन घिसिङले संस्थापक अध्यक्ष सुवास घिसिङले सुम्पिएको उत्तरदायित्वलाई इमानदारी, विश्वास र प्रतिबद्धताका साथ अघि बढाइरहेको बताए। उनले डबल इन्जिन सरकारमार्फत गोर्खा जातिले न्याय प्राप्त गर्ने विश्वास व्यक्त गर्दै सबैलाई एकजुट भएर संगठन सुदृढ बनाउन र अध्यक्ष मन घिसिङको नेतृत्वलाई थप बलियो बनाउन आह्वान गरे।
उनले गोर्खा जाति र माटोको अधिकार सुनिश्चित गर्न अझै धेरै कार्य बाँकी रहेको उल्लेख गर्दै सबैलाई संगठित भई साझा उद्देश्यका लागि अघि बढ्नुपर्नेमा जोड दिए।












