दार्जीलिङ,20 जुलाई(निसं): गोर्खा राष्ट्रिय नारी संगठन (गोरानासं) दार्जीलिङ ब्राञ्च कमिटीको महत्वपूर्ण सांगठनिक सभा दार्जीलिङ ब्राञ्च कमिटी कार्यालयमा सम्पन्न भएको छ। ब्राञ्च अध्यक्षा बसुन्धारा प्रधानको अध्यक्षतामा सम्पन्न उक्त सभामा दार्जीलिङ ब्राञ्च अन्तर्गत रहेका सम्पूर्ण समष्टिका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।सभामा संगठनको वर्तमान अवस्था, समष्टिस्तरमा नारी संगठनको विस्तार, नयाँ शाखा तथा प्रशाखा गठन, संगठनलाई तल्लो तहसम्म थप प्रभावकारी बनाउने रणनीति तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरिएको थियो। विभिन्न समष्टिका प्रतिनिधिहरूले आफ्नो-आफ्नो क्षेत्रमा भइरहेको संगठन विस्तार, महिला सहभागिता तथा जनसम्पर्क अभियानबारे प्रतिवेदन प्रस्तुत गरेका थिए।
यस अवसरमा हालै गठन भएका नयाँ प्रतिनिधिहरू, शाखा तथा प्रशाखा समितिका पदाधिकारीहरूलाई खादा ओढाएर सम्मान गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरिएको थियो। ब्राञ्च कमिटीले संगठन विस्तारमा सक्रिय भूमिका निर्वाह गरिरहेका सम्पूर्ण प्रतिनिधिहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा अझ सशक्त ढंगले अघि बढ्न आह्वान गरेको छ।
सभाका वक्ताहरूले गोर्खा समुदायको न्याय, अधिकार र सम्मानको लडाइँ निर्णायक मोडमा पुगेको उल्लेख गर्दै अहिलेको अवसरलाई एकताबद्ध भएर सदुपयोग गर्नुपर्नेमा जोड दिए। इतिहासबाट शिक्षा लिँदै विगतमा गोर्खा समुदायविरुद्ध भएका षड्यन्त्र दोहोरिन नदिन महिला शक्ति अझ सचेत, संगठित र जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याइयो।
वक्ताहरूले समाजका प्रत्येक घर, गाउँ र समष्टिसम्म पुगेर जनचेतना फैलाउनु, महिलाहरूलाई संगठनमा आबद्ध गराउनु तथा गोर्खा समुदायबीच आपसी विश्वास, सहकार्य र एकतालाई अझ मजबुत बनाउनु समयको प्रमुख आवश्यकता भएको बताए। उनीहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जाति, माटो र अस्मिताको साझा अभियानमा सबैलाई हातेमालो गर्न आग्रह गरे।
सभामा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा गोर्खा जातिको अस्तित्व, अस्मिता, अधिकार र उन्मुक्तिको उद्देश्य बोकेको आन्दोलन भएको उल्लेख गर्दै वर्तमान समय गोर्खा समुदायका लागि ऐतिहासिक अवसर भएको धारणा व्यक्त गरियो। यस अवसरलाई सफल बनाउन महिला शक्ति अग्रपङ्क्तिमा उभिएर संगठनलाई थप सुदृढ बनाउने, समाजलाई एकताबद्ध गर्ने तथा न्यायपूर्ण भविष्य निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने सामूहिक प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।












