संगठित आन्दोलनको प्रथम पराकाष्ठा १९५५सालको ऐतिहासिक आन्दोलन

Share this news

दार्जीलिङ र खरसाङमाझ गोराबारीदेखि मुनिपट्टि सोतारिएर गएको स – सना बुच्के पहाडहरूमा हरिया चिया बुट्टाहरूले लपेटिएको मार्गरिट्सहोप (बढा रिण्टाङ) कमान छ। मुनिपट्टि नेहूर कमान र बालाशन नदी, वारीपारी रिण्टाङ, फूलबारी, मुण्डा, मर्मा, सिंगेल, महारानी, दिलाराम वेलटार र टुङ। ‘चियाबारी’ खण्ड काव्यका स्त्रष्टा नेपाली वाङमयमा प्रख्यात कवि, कथाकार, नाटककार तथा लेखक नन्द हाङखिमको जन्म थलो। यो ठाउँ पनि अंग्रेज मालिकहरूका अत्यचारको नमूना नै थियो। बारम्बार मजदूरहरूको विक्षोभ र विद्रोहको केन्द्र रहेको ठाउँ हो यो। दार्जिलिङ कम्युनिस्ट पार्टी र लालझण्डाको युनियन खोलिएपछि यहाँका जनताले आड़ पाए आँट पाए। एकजना बंगाली डाक्टर ‘तालापत्र’ पहिलेदेखि नै वामपंथी विचार धाराका प्रचारक थिए । डा० तालापात्रको नानीको छेवरको दिन मौका पारेर संगठनको पहिलो सभा भएको थियो। हरिलाल सरदार (राई) र मोहनसिंह राई (छोटा बाबु) आदिका अगुवाइमा मजदूरहरू संगठित हुन थाले। तर मालिकलाई चुनौती दिन सक्ने संगठन बन्दा नबन्दै हमला शुरू भइहाल्यो। १९४९ तिर डा० तालापत्र लगायत टीकाराम बैदार, कान्छा कामी, साइँला भुजेल र मोहनसिंह राईलाई हट्टाबाहर गरियो। तर जनता झन इखिए। बीरबहादुर राई, जीतबहादुर राई, दोर्जे दोङ, रामजीत राई र कृष्णबहादुर तामाङहरू मैदानमा उत्रिए। दार्जीलिङमा चिया कमानका मजदुरहरूले आफ्ना समस्या र यसको निवारणको लागि एकतावद्ध आन्दोलनको महत्व बुझ्नुथालेका थिए। एकातिर कम्युनिस्ट पार्टीको नेतृत्वमा संगठित दार्जिलिङ जिल्ला चिया कमान मजदूर यूनियन अनि अर्कोतिर १९५२ सालसम्म दार्जिलिङका चारैवटा विधानसभा समष्टिमा विजयी गोर्खा लीगको अगुवाइमा दरिलो भइरहेको दार्जिलिङ चिया कमान श्रमिक संघले आ – आफ्नै ढंगमा भए पनि आन्दोलन चलाइरहेका थिए। चिया कमानमा काम गर्ने मजदूरहरूका निमित्त सर्वप्रथम १९५१ सालमा प्लाण्टेसन लेबर एक्ट पारित भयो। तर १९५४ सालको अप्रेलदेखि मात्र यसलाई केही मात्रामा लागू गर्न थालियो। चिया कमानका मालिकवर्गले आफ्नो राजीखुशीमा कहिले पनि मजदूरहरूका अधिकारलाई व्यावहारिक तुल्याउँदैनथे। यो परिस्थितिमा रासिनको दाम दोब्बर बढदा आगोमा घिउ थपियो।यही पृष्टभूमिमा श्रमिक संघ र मजदूर यूनियनको पक्षमा ८ मई १९५५ – को दिन मालिकवर्ग र सरकारसमक्ष १४ सूत्रि माग – पत्र पेश गरियो जसमा मुख्य हट्टाबाहर प्रथा बन्द गर्ने; मजदूर – कर्मचारीहरूलाई ३ महिनाको रोजी र तलब बराबर बनोस; दार्जिलिङका चिया कमानका मजदूरहरूको रोजी डुवर्सकै बराबर १ रूपियाँ ११ आना हुनपर्ने; स्टयाण्डिङ अर्डरको संशोधन; कर्मचारी (स्टाफ) – हरूको तलब बृद्धि र १९५२ – ५३ सालमा बन्द भएका कमानहरूका मजदूर – कर्मचारीलाई हर्जाना दिनपर्छ भन्ने थियो। सरकार र मालिकबाट कुनै प्रकारको सकारात्मक उत्तर नपाउँदा ५ जून, १९५५ – को दिन गोर्खा दुःख निवारक सम्मेलन भवनमा नरबहादुर गुरुङ एम० एल०ए० – को अध्यक्षतामा सम्पन्न संयुक्त सभामा २२ जून (१९५५) – सम्म पनि कुनै प्रकारको छलफल नभए त्यही दिनदेखि हड्ताल शुरू गर्ने निर्णय लिइयो। दुवै युनियनका नेताहरू देवप्रकाश राई र माइला बाजेको नेतृत्वमा एक्सन कमिटी गठन गरियो। चारैतिर हड्ताल सफल तुल्याउन भोलण्टियर्स बाहिनी गठन गरिए। प्रचार – प्रसारको कामले जोर पक्रियो। १५ तारिख जूनको दिन एसिस्टेण्ट लेबर कमिशनरले दुवै युनियनका प्रतिनिधिहरूलाई बोलाएका थिए। फेरि १७ तारिख पनि बोलाइयो। तर विशेष कुनै निर्णय भएन। १९ तारिख चाँहि लेबर कमिशनरले ‘स्टयाण्डिङ अर्डर ‘- को संशोधन बारे युनियनका सुझावहरू मागिपठायो। तर यस्ता सुझावहरू त युनियनले मार्च महिनामै बुझाइसकेका थिए। एकातिर मजदूरहरूका माग विषयमा सरकारीतौरमा नै कुराकानी चलिरहेथ्यो भने अर्कोतिर मालिक र प्रशासनको साठगांठमा युनियनका नेता र कर्मीहरू पक्रन थालियो। २० जूनकै दिन रतनलाल ब्राह्मण, देवप्रकाश राई, भद्रबहादुर हमाल र अन्य नेताहरूका विरुद्ध गिरफ्तारी वारण्ट निस्क्यो। मनोरंजन राय, आनन्द पाठक, श्रमिक संघका नेता एल० बी० लामा पक्रा परे। कतिपय नेताहरू भूमिगत भए।  २२ जूनदेखि शुरू भएको हड्तालले २५ तारिख उग्ररूप लियो। सो दिन दिउँसो ३ बजेतिर मार्गरिट्सहोपमा शान्तिपूर्ण जुलुसमाथि पुलिसले निर्ममतापूर्वक गोली चलाएर ६ जनाको हत्या गर्यो। १८ वर्षकी अमृतमाया कमिनी, २३ वर्षकी (गर्भवती) मौली शोभा राईनी, २२ वर्षे कान्छा सुनुवार, २५ वर्षे पदमबहादुर कामी, १४ वर्षे काले लिम्बु र ४५ वर्षे जीतमान (माझी) तामाङ यो ऐतिहासिक जन आन्दोलनका शहीद बने।  त्यो दिनको घटना विषयमा मार्गरिट्सहोपकै बुद्ध थामीज्यूको लिखित विवरण रोचक र प्रामाणिक छ:

‘मार्गरिट्सहोपमा हड्ताल पालन गरिदैछ। तर महारानी र दिलाराममा भने त्यहाँका तत्कालीन म्यानेजरहरू (राई साहेब र गुरुङ साहेब)- ले पुलिसको सुरक्षामा काम गर्न मजदुरहरूलाई वाध्य गरायो। मार्गरिट्सहोपमा पनि अंग्रेज म्यानेजर ओखलेनले सक्दो चेष्टा चलायो। पुलिस सुरक्षाको घेराभित्र बगानको गोदाममा मजदूरहरूलाई चिउरा र चिया दिएर काम लगाइयो। हड्तालमा भाग लिनेहरूले चाँहि उनीहरूलाई बाहिर निस्कनु नदिएर बन्दी झै तुल्याए।  महारानी र दिलाराममा काम रोक्ने प्रयास २२ तारिखदेखि नै चलेको हो। २४ तारिखसम्म तर त्यतिकै बित्यो पिकेटिङ गर्ने मान्छे कम्ती भएर। २५ तारिख मुण्डा, रिण्टाङ र अरूहरूबाट हड्तालीहरू आउन थाले। तत्कालीन पुलिस अफिसर कालु प्रधानको नेतृत्वमा लाप्चेको घरमुनि गाह्रोमा पुलिसले भीडलाई रोकीराखेको थियो। तर ‘अघि बढ,अघिबढ ‘भन्ने नारा र जोशमा पुलिसको घेरा तोडन केही बेर थिएन। पहिले त पुलिसले टियर – ग्यास पडकायो। हवाइ फायर पनि गर्यो। तर कसैले टेरपुच्छर लाएन। त्यसपछि त पुलिसले जताभावी फायर गर्यो। त्यसबजे झण्डै २ बजेको थियो। मार्गरिट्सहोप सिरूबारीका ४८ वर्षे जीतमान तामाङ, बस्ती गाउँका १४ वर्षे काले लिम्बु, महारानीका २२ वर्षे कान्छा सुनुवार, रिण्टाङ मालीधुराकी १८ वर्षे अमृता कमिनी र २२ वर्षे मौलीशोभा राईनी त्यही ठहरै भइहाले। मार्गरिट्सहोप भुजेल गाउँको २५ वर्षे पदमलाल कामीले अस्पतालमा प्राण त्याग गरे।

पुलिसको गोलीले काले थामी, बिजै राई, मोटे सार्की, ठूले सार्की, माइला मगर, थोमे दर्जी, ऐते थापा र भीम गुरुङ गम्भीररूपमा घाइते भए। बाक्टु पाखरिन, जेठा तामाङ, मैते पाखरिन, रामभक्त राई, हरिलाल सरदार, बिम्बी राई पक्रा परे। स्थानीय हिसाबमा। किनभने यो आन्दोलनमा विभिन्न स्थानका लगभग २५० जनालाई गिरफ्तार गरिएको थियो। गोली काण्डपछि दार्जिलिङ शहरमा व्याप्त विक्षोभमा डम्बरसिंह गुरुङ, खड़गबहादुर गुरुङ, बिमल सुब्बा, जोगेश छेत्री, गणेशबहादुर (गनु) गिरी, रत्नकमल राई, श्याम ‘आँशु’, मोहन थापा, के० मोक्तान, रामबहादुर मुखिया, इन्द्रकुमार घले, गोर्खा छेत्री, योगेश गुरुङ, सन्तबीर लामा, ध्रुव खाती र कुमार लामा लगायत आजका हाम्रा महान् जातीय कवि अगमसिंह गिरी गिरफ्तार भए।

यो हड्तालमा खरसाङ जेलमा बन्दी बनेकी गुप्तिमाया राईनीकी काखकी छोरी डाक्टर र औषधिको अभावमा जेलमै मरी। अर्का आन्दोलनकारी बिर्जे राईलाई गोली लागेको थियो। २ महिना अस्पताल बसेर फेरि जेल जानुपर्यो। ९ महिनापछि घर फर्कदा २५ जूनको बिहान डोकोले छोपिराखेको कुखुराको अलिकति हड्डि मात्र भेटियो। गाई – बस्तु चाँहि साथीहरूले राखिदिएछन्। यो हत्या – काण्डको प्रतिवादमा चिया कमानहरू मात्र होइन तर शहर – बजार पनि उद्धेलित बने। समग्र स्तरका जनता यो नृशंस गोली – काण्डको प्रतिवादमा मैदानमा ओर्लेका थिए। २७ जुनको दिन दार्जिलिङमा १४४ धारा घोषणा गरिएको थियो, मान्छे भेला हुन नदिनलाई। तर त्यसको परवाह नगरी प्राय: ३० हजार मानिसहरू शव – यात्रामा सामेल भएका थिए। उल्लेखनीय छ ,आम हड्तालको समर्थन साथै गोली – काण्डको प्रतिवादमा तराई र डुवर्समा चिया कमानहरूमा पनि २२ र २९ तारिख बन्द पालन गरिए।आखिर जन – आन्दोलन साँमु सरकार र मालिकवर्ग झुक्नै पर्यो। नेताहरूमाथिका गिरफ्तारी वारण्ट वापस गर्नुपर्यो। सरकार पक्षका हड्ताल वापस लिने निवेदन र सम्झौताका सुझावलाई स्वीकार गर्दै २८ तारिख एउटा सभा आयोजित भयो। यसमा धेरै वाद – विवादपछि सरकारको पक्षमा जेलवन्दीहरूलाई चाँडै छाडिदिने; मजदूरहरूको रोजी १ रूपियाँ ७ आना गराउने; ३ महिनाको रोजी बराबर बोनसको मागप्रति विचार गर्न एउटा त्रि – दलीय बैठक बोलाउने; स्टयाण्डिङ अर्डर बदली गर्ने मागमाथि विचार गर्न ट्राइबुनल बसाउने; स्टाफहरूको तलब बढाउन एउटा वेज एडभाइजरी कमिटी जुलाई महिनामा हुने सभामा विचार गर्ने आदि आश्वासनपछि २९ जूनदेखि आन्दोलन वापस लिइयो। यो आन्दोलनमा ५० वटा चिया बगानका ६० हजार मजदूरहरूले हिस्सा लिएका थिए। विधान सभामा यो गोली – काण्ड बारे तत्कालीन विरोधी विरोधी दलका नेता ज्योति बसुले काँग्रेसी सरकारको घोर भर्त्सना गर्दै तत्काल जाँचको माग राखे। तर गोर्खालीगका विधायक डी० बी० एस० गहतराजले यो घृणित काण्डको समर्थन गर्दै पुलिस कार्यवाही सही ठहर्याए। काँग्रेसको विरोध र समर्थन विषयक विवादले लीगभित्र चरम स्थिति सृष्‍टि गर्यो। देवप्रकाश राईको नेतृत्वमा लीगको केन्द्रीय नेतृत्वले पार्टी अनुशासन भंगकारी ३ जना विधायकहरू शिवकुमार राई, डी० बी० गहतराज र जर्ज महबर्टलाई निष्कासित गरे। लीगको इतिहासमा स्वर्ण अक्षरले लेखिन पर्ने यो अध्याय छ। १९५५ सालको यो ऐतिहासिक आन्दोलनले चिया कमान मजदूरहरूका ह्रदयमा वर्षौदेखि जमेको आक्रोश विस्फोटित भएको थियो।  पार्वत्यांचलका अधिकांश कमानहरू प्रत्यक्ष – अप्रत्यक्षरूपमा यसमा लपेटिन पर्यो। यस्तो अघि कहिले भएको थिएन। गोर्खालीग र कम्युनिस्ट पार्टी झै पहाडका २ वटा अग्रणी र शक्तिशाली राजनैतिक पार्टीहरूका नेतृत्वमा लडिएको प्रथम र सबैभन्दा ठूलो संयुक्त आन्दोलन यही थियो। नेपालीहरू साम्राज्यवादका भाडाका ट्टु (Mercenaries) मात्र हुन (अंग्रेज मालिकको इशारामा जन – आन्दोलन दमन गर्ने हतियार) वा मात्र मध्यमवर्गीय अन्ध जातीय भ्रान्तिका शिकार हुन भन्ने आरोपलाई यो आन्दोलनले भूल साबित गरिदियो ।स – साना भेदभाव भूली पूंजीपतिहरूका विरुद्ध संग्रामका निमित्त वर्गीय चेतना लिएर पनि यो जाति लड्न अब समर्थ भएको तथ्य यो ऐतिहासिक संग्रामले प्रमाणित गर्यो।

गोर्खा जातिले विश्वभरिनै मुलुक मार्न आफ्नो रगत बगाएको थियो। तर त्यो रगतमात्र आफ्नो थियो, जितेको मुलुक अरूकै थियो। यसपल्ट यो जातिले चुनौति दिएको थियो ‘अब हामीले बगाएको रगत आफ्नै अधिकारको निम्ति हुनेछ। ‘ अत: हाम्रो जातीय इतिहासमा पनि यो नयाँ परम्पराको शुरूवात थियो। आन्दोलनमा रगत बहाउने वीर शहीदहरूप्रति वरिष्ठ कवि बुद्धकुमार मोक्तानले आफ्नो श्रद्धाञ्जली यसरी चढाए -“मृत्युदेखि कायर भई, भाग्न तिमीले जानेनौ शोषकवर्गको अघि शिर झुकाउन चाहेनौं।” अर्का प्रतिष्ठित रचनाकार वसन्तकुमार राई – “धन्य हौ शहीद!कर्तव्य के हो देखाइ गयौ नि!” मालुटार चिया कमानका २ जना मजदूर संजा र गंगाले गीत कथे – ” मार्गरिट्सहोपमा रोजीको लागि ६ जीवन मरेको  छ जीवन मरी बगेको खुनले दुइ आना बढेको ” अर्की मजदूर ‘गुराँसफूल’ – ले व्यङ्ग्य कसी :-

” हड्ताल गरी बडताल भा को पैसा पायौ के हिसाब कही गुलमाल भो कि औंला भाँच्यौ के चेलीमाथि गोली चल्यो थाहा पायौ के  शहीदका लासमाथि नजर लायौ के!” महान् जातीय कवि अगमसिंह गिरीले शहीदको गुणगान गर्दै लेखे –

” सम्झी सम्झी वीर शहीद हो निहुरिन्छ यहाँ देवराली

चियाबारीमा रून्छ हिमाल मायाको नित आँशु खसाली

मार्ग नयाँ त्यो परम त्यागको हिड़ँछौ हामी नित्य निहारी सम्झी निशदिन बढ्छ अगाडी जागेको यो चियाबारी! ” यसरी चेतनाको नयाँ ज्वार उर्लेर आजसम्मको सीमावद्धताको बाँधलाई तोडिदियो। सारा भारतकै बगान मजदूर आन्दोलनको इतिहासमा यसरी दार्जिलिङ पहाडले चेतना र संग्रामी मनोभावको नयाँ कीर्तिमान कायम गर्यो। सन् १८५६ देखि शुरू भएको चिया उद्योग र प्राय: सय वर्षसम्म (दार्जिलिङमा ट्रेड युनियन गठन भइञ्जेल) – को सीमाहीन शोषण, अत्याचार र अवहेलनाको विरोधमा १९४५ सालदेखि चलेको संगठित आन्दोलनको पराकाष्ठा थियो यो। अरूको स्वार्थको लागि चम्केर, फुस्लिएर, फुर्किएर व्यर्थै हतियार भएर प्रयोग हुने मात्र होइन यो जातिका चेतनासम्पन्न आफ्नो अस्तित्व र हकको लागि पनि ज्यान दिन सक्छन्, यो ऐतिहासिक संग्राममा हामीले कमाएको स्वर्ण उपलब्धि यही छ।

–रत्न बान्तवा (आर० बी०राई)।


Share this news
आजको रोजाइ

नशा मुक्त भारत अभियानमाथि जागरूकता-सह-संवेदनशीलता कार्यक्रम

श्रमिक आन्दोलनका शहिदहरूलाई आइजीजेएफ सङ्गठनले गर्यो स्मरण

श्रमिक आन्दोलनका शहिदहरूलाई आइजीजेएफ सङ्गठनले गर्यो स्मरण

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

पश्चिम सिक्किम साहित्य प्रकाशनद्वारा तीनजना व्यक्तित्वलाई अभिनन्दन

पश्चिम सिक्किम साहित्य प्रकाशनद्वारा तीनजना व्यक्तित्वलाई अभिनन्दन

संगठित आन्दोलनको प्रथम पराकाष्ठा १९५५सालको ऐतिहासिक आन्दोलन

संगठित आन्दोलनको प्रथम पराकाष्ठा १९५५सालको ऐतिहासिक आन्दोलन

त्रिपक्षीय सम्झौताबाट आफ्नो हस्ताक्षर फिर्ता लिनुपर्छः विनय तामाङ

त्रिपक्षीय सम्झौताबाट आफ्नो हस्ताक्षर फिर्ता लिनुपर्छः विनय तामाङ

एनआईएद्वारा मालदाका नेता सयेम चौधरी उर्फ बाबु चौधरीलाई पक्राउ

एनआईएद्वारा मालदाका नेता सयेम चौधरी उर्फ बाबु चौधरीलाई पक्राउ

गोरामुमो सुके-मानेभञ्ज्याङ, माझीधुरा-पारमेन बस्ती शाखा कमिटी गठन

गोरामुमो सुके-मानेभञ्ज्याङ, माझीधुरा-पारमेन बस्ती शाखा कमिटी गठन

टीएमसी नेता उदयन गुहा, 6 दिन पुलीस हिरासत, अदालत र सुधार गृहमा 

टीएमसी नेता उदयन गुहा, 6 दिन पुलीस हिरासत, अदालत र सुधार गृहमा 

बिमल सुब्बा-रत्न कुमार सुब्बा बने गोरामुमो आनन्देन शाखाका संयोजक 

बिमल सुब्बा-रत्न कुमार सुब्बा बने गोरामुमो आनन्देन शाखाका संयोजक 

आजको रोजाइ