दार्जीलिङ, 21 दिसम्बर (निसं): दार्जीलिङ पहाड़का 313 जना शिक्षक-शिक्षिकाको नियुक्ति खारेज भएपछि पहाड़का धेरैवटा विद्यालयमा सञ्चालित एघारौं र बाह्रौं श्रेणीहरू बन्द हुने अवस्थामा पुगेका छन्। यहाँ प्राप्त जानकारीअनुसार, कुमाई उच्चत्तर माध्यमिक विद्यालयमा मोठ शिक्षक-शिक्षिका सङ्ख्या 15 छ भने उनीहरूमा 6 जना 313-मा पर्ने शिक्षक-शिक्षिका छन्। कुमाई उच्चत्तर माध्यमिक विद्यालय, मानेभञ्ज्याङ उच्चत्तर माध्यमिक विद्यालय, लोले, अम्बियोक, सुरुक, भानु उच्चत्तर माध्यमिक विद्यालयका एघारौं र बाह्रौं श्रेणी पूर्णरूपले बन्द हुने अवस्थामा पुगेका छन्। किनभने, यी विद्यालयमा सञ्चालित एघारौं र बाह्रौं श्रेणीमा यी 313 जना शिक्षक-शिक्षिकाहरूले नै विद्यार्थीहरूलाई पढ़ाइरहेका छन्। यसबाहेक धेरैवटा विद्यालयमा केही शिक्षक-शिक्षिका मात्रै रहने पनि स्पष्ट भएको छ। जसमाथि सयौंको सङ्ख्यामा रहेका विद्यार्थीहरूलाई पढ़ाउने जिम्मेवारी पर्ने भएको छ। दार्जीलिङको ब्लुमफिल्ड उच्चत्तर माध्यमिक विद्यालयमा हाल 5 जना शिक्षक छन्, तीमध्ये 3 जना 313-मा पर्ने शिक्षक-शिक्षिका छन्। जसअनुसार, 3 जना शिक्षकको नियुक्ति खारेज भएको कारण यहाँ अब केवल 2 जना शिक्षकले नै सम्पूर्ण विद्यार्थीलाई पढ़ाउने जिम्मेवारी लिनुपर्ने भएको छ। यस सम्बन्धमा संयुक्त माध्यमिक शिक्षक संगठनका अध्यक्ष जोन राईसित सम्पर्क गर्दा उनले भने-दार्जीलिङ पहाड़मा एसएससी (स्कूल सर्भिस कमिशन) मार्फत शिक्षक-शिक्षिकाहरूको नियुक्ति नभएको धेरै वर्ष भइसक्यो, तर दशौं श्रेणीसम्मका धेरैवटा विद्यालयलाई बाह्रौं श्रेणीमा बढ़ोत्तरी गरिएको छ। जसलाई यी 313 जना शिक्षक-शिक्षिकाहरूले नै पढ़ाउँदै आइरहेका छन्। तर अब यी शिक्षक-शिक्षिकाको नियुक्ति खारेज भएपछि दशौंदेखि बाह्रौं श्रेणीमा बढ़ोत्तरी भएका धेरैवटा विद्यालयका एघारौं र बाह्रौं श्रेणी बन्द हुने निश्चित छ। उनले एक प्रश्नको उत्तरमा भने-अहिले धेरैवटा विद्यालयको परीक्षा समाप्त भइसकेको छ भने धेरैवटा विद्यालयमा ठण्डा महीनाको छुट्टी पनि शुरू भइसकेको छ। यसैले विद्यालय पुनः लाग्न थालेपछि यी 313 जना शिक्षक-शिक्षिका आफ्नो काममा विगतमा जस्तै सुचारूरूपले जाने भएको पनि उनले बताए। स्मरण गराइन्छ, उच्च अदालतले गत 17 दिसम्बरको दिन मात्रै एक निर्देश जारी गर्दै दार्जीलिङ पहाड़ी क्षेत्रमा सन् 2019-मा नियुक्ति पाएका 313 जना शिक्षक-शिक्षिकाको नियुक्ति खारेज गरेको थियो। त्यसपछि नै पहाड़मा यी शिक्षक-शिक्षिकाको विषय लिएर व्यापक चर्चा परिचर्चा भइरहेको छ। अब दार्जीलिङ पहाड़का 313 जना शिक्षक-शिक्षिकाको भविष्य के हुन्छ? के उनीहरूको काम पुनर्बहाल हुन्छ? यस्ता कैयौं प्रश्नहरूसँगै 313 जना शिक्षक-शिक्षिकाको अन्यौल भविष्यले दार्जीलिङ पहाड़को शिक्षा व्यवस्थामाथि ठूलो प्रश्न चिन्ह खड़ा गराएको छ। अहिले यी शिक्षक-शिक्षिकाहरूका घरको अवस्था कस्तो भएको छ, त्यो 313 जना शिक्षक-शिक्षिकाको परिवारबाहेक अन्य कसलाई थाह हुनसक्छ। यो कुरा अन्यको लागि एउटा चर्चाको विषय बने पनि यो समस्या 313 जना परिवारको लागि जटिल समय हो। यहाँ एउटा पक्षको जीत र अर्को पक्षको हारको कुरा होइन, यहाँ दार्जीलिङ पहाड़को शिक्षा व्यवस्था कस्तो छ भन्ने कुरा उदाङ्गो भएको छ। यी शिक्षक-शिक्षिकाहरूलाई सन् 2019-मा स्थायी नियुक्ति प्रदान गरियो, तर उनीहरूका लागि राज्य सरकारबाट फाइनेन्सियल एप्रुभल ल्याउन वा प्रदान गराउन कसरी चुक भयो? के यो कुरा राज्य सरकारलाई थाह थिएन? कैयौं वर्षसम्म स्वयंसेवी शिक्षक-शिक्षिकाका रूपमा सेवा गरेर स्थायी नियुक्ति पाउने उनीहरूले आज यस्तो स्थितिको सामना गर्न परेको छ।











