अमर रसाइली : चर्चाभन्दा टाढ़ा, सिर्जनामा नजिक

Authored By: सञ्जय प्रधान

Share this news

नेपाली चलचित्र जगतमा केही यस्ता स्रष्टा छन्, जो चर्चाको उज्यालोभन्दा टाढ़ा बसेर पनि आफ्नो सिर्जनात्मक यात्रालाई निरन्तर अघि बढ़ाइरहेका छन्। कालेबुङका अमर रसाइली त्यस्तै सर्जक हुन्, जसले करिब चार दशकदेखि नेपाली चलचित्रको क्षेत्रमा निर्देशक, सम्पादक, पटकथा-संवाद लेखक, नाटककार र गीतकारका रूपमा योगदान दिँदै आएका छन्। ‘अपराध’ र ‘धर्म’जस्ता चलचित्रमार्फत विशिष्ट पहिचान बनाएका अमर रसाइली आज पनि समाज र जीवनका कथालाई सिर्जनाको माध्यमबाट जीवित राख्न सक्रिय छन्।

क्रिएटिभ फिल्ड छ भने अध्ययन गर्न जरुरी छ।  कुनै पनि क्षेत्रको बारेमा अध्ययन हुनुपर्छ”

स्व. गुञ्जलाल रसाइली र स्व. टीकामाया रसाइलीका छोरा अमर रसाइली सानैदेखि घरमा संगीतको वातावरणमा हुर्किएका हुन्। प्राथमिक तहदेखि कालेबुङको एसयूएमआईमा १२ कक्षासम्म पढ़ेपछि कालेबुङ कलेजबाट स्नातक पूरा गरे। जेठा दाज्यू दिलीप रसाइलीले भायोलिन बजाउँथे, र घरमा संगीतकारहरूको आउजाउले संगीत बुझ्ने मौका पाए। सन् १९८७ मा दिल्लीमा सर्वश्रेष्ठ शिक्षिकाको पुरस्कारले सम्मानित जेठी दिदी श्रीमती मीरा रसाइली दर्नालबाट भाषा-संस्कृतिबारे राम्रो मार्गदर्शन पाएका छन्।

आजभन्दा पाँच दशकअघि अहिलेको जस्तो टेलिभिजन नहुँदा मनोरञ्जनको साधन चलचित्र र फूटबल खेलहरू थिए। गाउँमा चलचित्रको क्रेजलाई अमर रसाइली सम्झिन्छन्, ‘‘गाउँका मानिसहरू बढ़ी जस्तो आइतबार चलचित्र हेर्न जान्थे। म साथीहरूसित बढ़ी जस्तो काउबोयको वेस्टर्न, रोमन, वारका अंग्रेजी चलचित्रहरू हेर्थे।’’ कहिले बाबुआमा, कहिले परिवारका ठूलाहरूसित चलचित्र हेर्न जान्थे भने कहिले रोकटोक हुँदा लुक्दै-भाग्दै साथीहरूसित हेर्न जान्थे। सानोमा चलचित्र धेरै हेरे पनि उनलाई चलचित्रको क्षेत्रमा खासै आकर्षण थिएन। उनी भन्छन्, ‘‘म बढ़ी जस्तो पढ़ाईमा ध्यान दिन्थे।’’

कलेज सकेपछि उनको जीवन नाटकतिर मोड़ियो। नाटकहरू गर्दै जाँदा कलाको क्षेत्रलाई नजिकबाट बुझ्न थालेपछि चासो बढ़्दै गयो। स्कूले जीवनदेखि नेपाली भाषामा राम्रो दखल भएकाले नाटकमा प्रवेश गर्नु मुख्य कारण बन्यो। उनी भन्छन्, ‘‘साथीहरूले गोपाल प्रसाद रिमालको नाटक ‘मसान’ गर्ने हुँदा यसमा मैले संवाद ‘प्रम्टिङ’ गर्नुपर्ने भयो। ‘प्रम्टिङ’ गर्दा मैले दर्शकको प्रतिक्रिया पाएँ। दर्शक कुन समयमा हाँस्दो रहेछन्, कतिबेला उत्साहित हुँदो रहेछ, कतिबेला भावुक हुँदो रहेछ त्यो सबै बुझेँ। यसपछि किन आफै नलेख्ने भन्ने सोचेँ।’’

नाटकमा गरेको ‘प्रम्टिङ’ अमर रसाइलीको लागि उर्जा बन्यो। उनी प्रयोगात्मक नाटक लेखनमा लागे। पहिलो नाटक लेखे ‘समाजले जन्माएका रोगहरू’, जसले प्रतियोगितामा तेस्रो पुरस्कार जित्यो। यसपछि जिल्ला स्तरीय प्रतियोगिताका लागि नाटक ‘युद्ध’ लेखे। नाटकहरूमा उनले अभिनय गरेनन्, निर्देशन गरे। प्रयोगात्मक नाटक लेख्न भारतका सुपरिचित निर्देशकहरू श्याम बेनेगल, ऋत्विक घटक, गौतम घोषका चलचित्रहरूको प्रभाव परेको उनी बताउँछन्। उनी भन्छन्, ‘‘कलात्मक चलचित्रको ढाँचामा नाटकहरू लेख्न थालेँ। त्यसमा कुनै प्यार्टन थिएन, रुल्स-रेगुलेशन थिएन- आफ्नै हिसाबले लेखेँ। दर्शकले मन पराए अनि प्रतियोगिताहरूमा जुरीहरूले पनि मन पराए। यसले गर्दा म आफै प्रेरित हुँदै गएँ।’’

उनी नाटकमा दश वर्ष सक्रिय रहेपछि सन् १९८९ देखि चलचित्रमा प्रवेश गरे। नेपाली चलचित्रका सुपरिचित निर्देशक तुलसी घिमिरेसितको भेटपछि उनको यात्रा चलचित्रतर्फ बढ़्यो। उनी भन्छन्, ‘‘त्यति बेला म अलि अलि चलचित्रको स्क्रिप्ट लेख्थे।’’ तुलसी घिमिरेको चलचित्र ‘कोसेली’को स्क्रिप्टमा एसोसिएट र छायांकनमा एसिस्टेन्ट भएर काम गरे। त्यसपछि तुलसी घिमिरेकै चलचित्रहरू ‘चिनो’, ‘दुई थोपा आँसु’, ‘देवता’, ‘दक्षिणा’, ‘बलिदान’मा एसिस्टेन्ट भएर काम गरे। एसिस्टेन्ट बनेर उनले पटकथा, सम्पादन, भ्वाइस डबिङका लागि काम गरे।

सन् १९९४ देखि अमर रसाइली नेपाली चलचित्रमा स्वतन्त्र निर्देशक बनेर उदाए। राजेश हमाल, कृष्टि मैनाली, सुनिल थापाद्वारा अभिनीत चलचित्र ‘अपराध’ उनले पहिलोपटक निर्देशन गरे। यसको पटकथा उनले लेखेका हुन्। यसपछि ‘धर्म’ निर्देशन गरे, यसको पटकथा पनि उनले नै लेखेका छन्। यसमा भुवन केसी, कृष्टि मैनाली, गौरी मल्ल, निर शाह, सरोज खनालले अभिनय गरेका छन्। नेपाली चलचित्रमा भूइँचालोको दृश्य उनले पहिलोपटक ‘धर्म’मा प्रयोग गरे। राजेश हमाल र निरुता सिंहले अभिनय गरेको चलचित्र ‘चमत्कार’ निर्देशन गरे भने यसमा उनले गीत पनि लेखेका छन्। राजेश हमाल र जल शाहद्वारा अभिनीत ‘चौतारी’ निर्देशन गरे। उनको कथामा आधारित चलचित्र ‘छहारी’लाई काठमाड़ौंमा ‘बेस्ट स्टोरी’ पुरस्कार प्राप्त भएको थियो।

अमर रसाइलीले चलचित्र ‘दौतरी’ र ‘ठूल्दाई’मा एसोसिएट डाइरेक्टरको काम गरे। यी दुवैमा उनले र दयाराम दाहालले पटकथा र संवाद लेखेका छन्। सन् २००६ मा उनकै कथामा चलचित्र ‘प्रियतमा’ निर्माण भयो, जसको पटकथा र संवाद पनि उनले लेखे। नेपालका विभिन्न प्रोडक्सनका लागि उनले धेरै कथा, पटकथा र संवाद लेखे। सन् १९८९ देखि चलचित्रकै कामको सिलसिलामा नेपाल आउँदै-जाँदै गरे। सन् १९९४ देखि नेपालमै बसेर चलचित्रको काम गरे र सन् २००४ मा कालेबुङ फर्किए।

कालेबुङ फर्किएपछि उनले नेपाली साहित्यका चर्चित लघुकथाहरूलाई पर्दामा उतारे। ‘तिमी बिना’, ‘जुनेली’, अच्छा राई ‘रसिक’को ‘औंठी’, जस योञ्जन ‘प्यासी’को ‘तार चुँड़िएको सारंगी’ र सानु लामाको ‘ज्योति बिनाको उज्यालो’ कथालाई लघु चलचित्र बनाए। यी कृतिमार्फत नेपाली साहित्यको प्रचारमा विशेष भूमिका निर्वाह गरे। सिलगढ़ीमा साद्री भाषाको चलचित्र ‘घर परिवार’ निर्देशन गरे। यसको पटकथा उनले हिन्दीमा लेखेर साद्रीमा अनुवाद गरिएको बताउँछन्। सन् २०१६ मा नेपाली टेलिभिजन च्यानल ‘एबीएन नेटवर्क’मा सिनियर प्रोग्राम प्रोड्युसरको काम गरे। सन् २०१७ मा यो च्यानल बन्द भयो।

अमर रसाइली स्थापित गीतकार हुन्। सन् १९८६ मा गोर्खाल्याण्ड आन्दोलन उग्र बनेका बेला कालेबुङबाट निस्किएको जनवादी गीतको एल्बम ‘चारकुने आँगन’ चर्चामा थियो। सो बेला यस्तो एल्बम निकाल्नु जोखिमपूर्ण थियो। यसको छवटा गीत उनले नै लेखेका थिए, र केही दिन भूमिगत हुनुपरेको थियो। सन् १९९१ मा ‘चारकुने आँगन’को टोलीलाई दागोपापको कार्यकालमा सम्मान गरिएको थियो।

उनका गीतहरू थुप्देन भुटिया, हीरा रसाइली, शर्मिला पाख्रिन र देव नारायण प्रधानले गाएका छन्। सञ्जय प्रसादको एल्बम ‘सम्झौता’लगायत धेरै एल्बमका लागि उनले गीत लेखेका छन्। उनले लेखेका अनि शर्मिला पाख्रिनले गाएकी दुईवटा गीत ‘पहाड़मा जन्मे हजुर’ र ‘शिरैमा शिरबन्दी, शिरैमा शिरबन्दी’ सर्वाधिक लोकप्रिय बन्यो। उनले ‘उहिले भर्सेस अहिले’, ‘जल देवता रिटर्नस्’ र ‘खोइ भानुभक्त’ नाटक लेखेर मञ्चन गरे। समाजका विसङ्गति र पर्यावरणजस्ता विषयलाई नाटकमा प्रस्तुत गर्छन्।

चार दशक नजिक पुगेको चलचित्र र नाटकको यात्रामा अमर रसाइलीले निकै संघर्ष गरेका छन्। नेपालमा माओवादी जनआन्दोलन चरम अवस्थामा हुँदा उनी कालेबुङ फर्किए। त्यसबेलाको तनावपूर्ण परिस्थितिमा काम गर्नुपरेको उनी सम्झिन्छन्।

दार्जीलिङ पहाड़मा मुर्झाएको नाटकको पुनरुत्थानबारे उनी भन्छन्, ‘‘अहिले तकनिकी बदलिएको छ। दर्शकले जुन रुपमा नाटक मन पराउँछन्, त्यही अनुरुपमा नाटकहरू हुनुपर्छ। दर्शकको रुचिअनुसार ढाल्नुसके केही गर्न सकिन्छ।’’ अहिलेका नयाँ पुस्ताले चलचित्रको विषय राम्रो चयन गरेको उनी बताउँछन्। ‘‘क्रिएटिभ फिल्ड छ भने अध्ययन गर्न जरुरी छ। कुनै पनि क्षेत्रको बारेमा अध्ययन हुनुपर्छ’’, उनी भन्छन्।

प्राय: चार दशक लामो सिर्जनात्मक यात्रामा अमर रसाइलीको कार्य रोकिएको छैन। चर्चाभन्दा कर्मलाई प्राथमिकता दिने उनी आज पनि नयाँ कथा, नाटक र गीतमार्फत नेपाली समाजका कथा लेखिरहेकै छन्। नेपाली चलचित्र र रंगमञ्चका यी स्रष्टा निरन्तर सिर्जनाको यात्रामा हिँड़िरहेका एक मौन साधक हुन्।


Share this news
आजको रोजाइ
भारतमा एप्पल म्याकबुक र आईप्याड मूल्य ७०% वृद्धि

भारतमा एप्पल म्याकबुक र आईप्याड मूल्य ७०% वृद्धि

सन् २०३० सम्म एड्सलाई अन्त्य गर्न संयुक्त राष्ट्रसंघद्वारा घोषणापत्र पारित

सन् २०३० सम्म एड्सलाई अन्त्य गर्न संयुक्त राष्ट्रसंघद्वारा घोषणापत्र पारित

ब्रह्माण्डको विस्तार अझै तीव्र गतिमै, नयाँ अध्ययनले पुष्टि गर्‍यो

ब्रह्माण्डको विस्तार अझै तीव्र गतिमै, नयाँ अध्ययनले पुष्टि गर्‍यो

स्पेन उरुग्वेलाई २-१ले जितेर ‘एच’को शीर्षमा 

स्पेन उरुग्वेलाई २-१ले जितेर ‘एच’को शीर्षमा 

पर्यटन र रणनीतिक साझेदारी सम्बन्धलाई सुदृढ पार्न मोदी पुगे सेशेल्स

पर्यटन र रणनीतिक साझेदारी सम्बन्धलाई सुदृढ पार्न मोदी पुगे सेशेल्स

अमर रसाइली : चर्चाभन्दा टाढ़ा, सिर्जनामा नजिक

अमर रसाइली : चर्चाभन्दा टाढ़ा, सिर्जनामा नजिक

‘नैतिक प्रजनन स्वास्थ्य सेवाको सुरक्षा’ गर्न केन्द्रले IVF नियम बनायो कडा

‘नैतिक प्रजनन स्वास्थ्य सेवाको सुरक्षा’ गर्न केन्द्रले IVF नियम बनायो कडा

कवि बुनु परियारलाई स्रस्टा पुरस्कार 2026 द्वारा अलङ्करण गरिने

कवि बुनु परियारलाई स्रस्टा पुरस्कार 2026 द्वारा अलङ्करण गरिने

आर्थिक साक्षरता: महिला सशक्तिकरणको आधार

आर्थिक साक्षरता: महिला सशक्तिकरणको आधार

DigiLocker देखि BHIM सम्म: सबै भारतीयलाई चाहिने ५ सरकारी एपहरू

DigiLocker देखि BHIM सम्म: सबै भारतीयलाई चाहिने ५ सरकारी एपहरू

आजको रोजाइ