नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

Authored By: सञ्जय प्रधान  

Share this news

दार्जीलिङ पहाड़को रमणीय ठाउँ लिजाहिलमा रहेको सिल्भेस्टर राईको नर्सरी आज रंगीन र दुर्लभ फूल-बिरुवाहरूको सुन्दर संसार मात्र होइन, मेहनत, दूरदृष्टि र आत्मविश्‍वासको जीवित उदाहरण पनि बनेको छ। बाबु-बाजेबाट पाएको फूलप्रतिको मोहलाई व्यवसायमा रूपान्तरण गर्दै उनले आत्मनिर्भरता हासिल गरेका छन्। यसका साथै रोजगारी सिर्जना गरेका छन् र फूलखेतीको क्षेत्रमा आफूलाई एक कुशल विशेषज्ञका रूपमा स्थापित गरेका छन्।

‘‘आफूले गर्ने कामलाई एन्जोय गर्नुपर्छ, त्यसमा समर्पित हुनुपर्छ। असफल भए पनि एकैपल्टमा हार मान्नु हुँदैन’’

लिजाहिलको पुस्तैनी घरमा बाबु-बाजेले अर्किड साथै अन्य फूलहरूमा चासो राखेर विभिन्न किसिमका फूलहरू रोप्थे। सिल्भेस्टर राई सानो विद्यार्थी हुँदादेखि नै बाबु-बाजेलाई फूलबारीको काममा सघाउँदै जाँदा फूलहरूप्रति मोह बढ़्दै गयो। दक्षिण सिक्किमको नाम्चीस्थित नाम्ची सिनियर सेकेण्डरी स्कूल पढ़्दाखेरि घर आउँदा उस्तै किसिमले फूलबारीमा काम गर्थे। दार्जीलिङ सरकारी महाविद्यालयबाट स्तानक सकेपछि नोकरीमा चासो थियो, तर नोकरी पाउन कठिन थियो। फूलहरूमा चासो भएका हुनाले घरमा गोदावरी फूलहरू पनि रोप्दै थिए, र धेरथोर बिक्री पनि हुन्थ्यो। यसरी बिक्री हुँदै जाँदा धेरथोर आय पनि हुन थालेपछि बिस्तारै फूलखेतीलाई बढ़ाए।

पहिला पहिला दार्जीलिङ बजारतिर सिल्भेस्टरले गोदावरी फूलहरू बिक्री गर्न लैजान्थे। त्यतिबेला खासै बजार पाउनसकेका थिएनन्। सिम्बिडियन अर्किडहरू पनि रोप्थे, तर व्यावसायिक रुपमा त्यति फाइदा भएको जस्तो नलागेको उनी बताउँछन्। उनी भन्छन्, ‘‘सीमित ठाउँमा तीन सय चार सय बोट सिम्बिडियन अर्किड राखेर व्यावसायिक रुपमा खासै फाइदा हुँदैन रहेछ।’’ त्यति बेला सिम्बिडियन अर्किडको बजार पनि सीमित थियो। अजेलिया फूलहरू रोप्दा बजार निक्कै राम्रो पाएको र बिस्तारै दिल्ली, कलकता, उत्तरपूर्वका ग्राहकहरू भेटाएको उनी बताउँछन्। यसरी बिस्तार आय बढ़्दै जाँदा रुची पनि बढ़्दै गयो अनि सन् २००४ देखि इभान्जलिन नर्सरीको रुपमा बढ़ाए।

सिल्भेस्टरले नर्सरी शुरु गर्दा अहिलेको जस्तो सोसल मिडिया थिएन। शारीरिक रुपले दौड़धुप गर्दै बजार व्यवस्था गर्नुपर्थ्यो। नर्सरीलाई विस्तार गर्दै उनले क्याक्टस र सकुलेन्ट रोप्न थालेपछि अझ राम्रो व्यसायिक रुप लिएको उनी बताउँछन्। प्लान्टहरूमा बढ़ी रुची भएको हुनाले नर्सरीमा प्लान्टहरू रोप्न थाले। उनी अनुभव बटुल्दै गए र साथमा यी सबैबारेमा अध्ययन गर्दै अघि बढ़े। उनले प्लान्ट, क्याक्टस, सकुलेन्ट, अजेलियाहरू ब्रीडिङहरू गर्न शुरु गरे। आफूले धेरै अजेलियाहरू ब्रीड गरेको उनी बताउँछन्। उनी अझ भन्छन्, ‘‘मैले आफ्नै हाइब्रीड प्लान्टहरू निकाल्न थालेँ। आफ्नै हाइब्रीड निकाल्दा माग राम्रो हुन्छ।’’

सिल्भेस्टरले निक्कै कड़ा संघर्ष गरेर नर्सरीलाई सशक्त रुपमा स्थापित गरे। क्याक्टस, सकुलेन्टसँगै बिस्तारै दुर्लभ एरोइड्सहरू फिलोडेन्ड्रोन, एन्थुरियम, मोन्स्टेराजस्ता प्लान्टसहरू निक्कै बढ़ी मूल्यमा बाहिरबाट किनेर ल्याउन थालेँ। यी सबैलाई ल्याएर उनले आफ्नै नर्सरीमा ब्रीडङ गर्छन्। घरमा सजावटका लागि राखिने आकर्षक साथै दुर्लभ प्लान्टहरू धेरै ब्रीडिङ गरेका छन्। हाइब्रीड र ब्रीडिङको कार्यमा उनले राम्रो सफलता हासिल गरेका छन्। अहिले पनि उनले ब्रीडङ गर्ने काम गरिरहेका छन्। उनी भन्छन्, ‘‘ब्रीडिङ गर्दा संसारमै नयाँ प्लान्टहरू निस्किन्छ। यस्तो प्लान्टहरू हामीले अझ अन्तर्राष्ट्रिय स्तरमा पेटेन्ट गर्नसक्यौं र नाम दिनसक्यौं भने धेरै राम्रो हुनेछ।’’

सिल्भेस्टर प्लान्टहरूमा यति बढ़ी गहिरिएका छन्- आफ्नै अनुभवले ब्रीडिङ र हाइब्रीड गर्ने काम सिके। ‘‘यसमा धेरै रुची राखेर बिस्तारै काम गर्दै गएँ। जति बढ़ी काम गर्दै गयो त्यति नै बढ़ी अनुभव बटुल्न सकिँदो रहेछ। कहिले काम गर्दा असफल हुँदा त्यसैबाट सिकिन्छ र सफल हुन्छ’’, उनी भन्छन्। लिजाहिलमा उनको नर्सरी तीन ठाउँमा छ, जसमा ठूलो सानो गरेर प्राय: पचासवटा ग्रीन हाउसहरू छन्। उनले आफ्नो नर्सरीमा एक लाख अस्सी हजार मूल्यको प्लान्ट मोन्सटेरा डेभिल साथै अन्य महँगा प्लान्टहरूमा मोन्सटेरा, ओसन मिन्ट, एन्थुरियमका प्रजातिहरू पनि किनेर राखेका छन्। जसमा कति थाइल्याण्ड, अमेरिकाका छन्।

जंगली अर्किड र सिम्बिडियन अर्किडका प्रजातिहरूबारे सिल्भेस्टरलाई राम्रो ज्ञान छ। कलकतामा भएको अर्किड प्रदर्शनी एवं प्रतियोगितामा उनले प्रथम पुरस्कार पाएका थिए। अहिले उनको नर्सरीमा सकुलेन्ट प्लान्ट हावोर्थिया बढ़ी मात्रामा छन्। यसलाई उनले पहिलादेखि नै ब्रीडिङ गरेर निक्कै बनाएका छन्। उनी यसलाई आफ्नो सिग्नेचर प्लान्ट मान्छन्। हावोर्थिया ब्रीडिङ गरेर आफूले भारतका फूल उत्पादकहरूबाट सकारात्मक प्रतिक्रिया पाएको सिल्भेस्टर बताउँछन्। अर्को युफोर्बिया फ्रान्स्वाजी सकुलेन्ट पनि राम्रो ब्रीडिङ गरेका छन्। हालमा नयाँ ब्रीडिङ कार्य एन्थुरियमहरूको गरिरहेको उनी बताउँछन्। फिलोडेन्ड्रोनहरू पनि उनले ब्रीडिङ गर्दैछन्, जसलाई अहिले बजारमा प्रस्तुत गरेका छैनन्। फिलोडेन्ड्रोन, एन्थुरियमहरू पेटेन्ट गरेर मात्र बजारमा प्रस्तुत गर्ने सोचमा छन्।

प्लान्ट्सहरू मुख्य रुपमा घरको सौन्दर्य र आकर्षणको लागि राखिन्छ। उपयुक्त प्लान्ट्सहरू घरभित्र र घरबाहिर राख्दा घरको सौन्दर्य मात्र होइन, वातावरण र मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्नसक्छ। सिल्भेस्टर भन्छन्, ‘‘प्लान्ट्सलाई माया गरेर रोप्यौँ भने तनावमुक्त हुन्छ, मन खुशी हुन्छ। वरिपरि हरियालीले भरिएको वातावरण हुँदा स्वास्थ्यको लागि पनि लाभदायक हुन्छ।’’ फेडल-फिग, सान्सेभिएरिया, एक दुईवटा फिलोडेन्ड्रोनजस्ता प्लान्टहरू घरभित्र राम्रो हुने उनी बताउँछन्।

सिल्भेस्टरको नर्सरीमा उत्पादित प्लान्टहरू प्राय: जस्ता भारतभरकै राज्यहरूमा माग रहेको छ भने बढ़ी जस्तो उत्तरपूर्वका राज्यहरूमा पुग्ने गरेको छ। उनी भन्छन्, ‘‘सबै राज्यमा एउटै प्रकारको प्लान्टको माग हुँदैन।’’ जस्तै गरम ठाउँ बेंगलोरतिर क्याक्टस, सकुलेन्टहरू उपयुक्त हुन्छ भने त्यहाँ सकुलेन्ट नै लैजान्छ। पञ्जाब, कलकताजस्ता गरम ठाउँहरूमा प्राय: क्याक्टसहरू लैजान्छ।’’ सिम्बिडियन अर्किड, अजेलिया, म्यापलहरू उत्तरपूर्वका राज्यहरू, हिमाचल प्रदेश, जम्मु-कश्मीरजस्ता अलिक चिसो ठाउँहरूमा बढ़ी माग हुने उनी बताउँछन्।

पहिला पहिला सिल्भेस्टर फूल प्रदर्शनीहरूमा हुने प्रतियोगिताहरूमा सहभागी हुन्थे, धेरैमा जितेका छन्। सन् 2००5 मा सिक्किममा भएको राज्य स्तरीय, कलकताका प्रतियोगिताहरू जितेका छन्। हिजोआज यस्ता प्रतियोगिताहरूमा उनलाई निर्णायक साथै स्रोतव्यक्तिको रुपमा पनि बोलाइन्छ। पहिला शुरु गर्दा उनी नर्सरीमा बिहान पाँचदेखि राति १०११ बजेसम्म काम गर्थे। अहिले उनको नर्सरीमा देखरेख गर्ने कर्मचारीहरू पनि छन्। नर्सरीमा उनी ब्रीडिङ, हाइब्रीड र अन्य तकनिकी कामहरू गर्छन्।

‘‘जुनै पनि काम गर्दा सजिलो छैन। शुरु शरुमा कतिवटा बाधा-अड़्चनहरू आउँछन्। शुरुमा अनुभवको कमीले गर्दा आफूले भनेको जस्तो हुँदैन। तर पनि आफ्नो कार्यलाई निरन्तरता दिनुपर्छ, असफलताबाट नै सिक्नपर्छ’’, सिल्भेस्टर भन्छन्, ‘‘आफूले गर्ने कामलाई एन्जोय गर्नुपर्छ, त्यसमा समर्पित हुनुपर्छ। असफल भए पनि एकैपल्टमा हार मान्नु हुँदैन। फूलखेतीमा सबैभन्दा मुख्य रुची, लगाव, धैर्य र आफ्नो कामप्रति इमान्दार हुनुपर्छ।’’ उनी अझ भन्छन्, ‘‘अहिले सोसल मिडिया छ, यसलाई प्लान्ट्सको व्यापारको लागि प्रचुर मात्रामा प्रयोग गर्दा धेरै सहयोग हुन्छ। आफ्नै वेबसाइट, फेसबुक पेज बनाउँदा पनि हुन्छ। फूलखेतीमा अवसर धेरै छ।’’

सिल्भेस्टर राईको यात्रा केवल सफल नर्सरी व्यवसायीको कथा होइन, लगाव, निरन्तर मेहनत र नवीन सोचले असम्भवलाई सम्भव बनाउन सकिन्छ भन्ने प्रेरणादायी उदाहरण हो। फूल-बिरुवाप्रतिको प्रेमलाई उनले आत्मनिर्भरता, रोजगारी सिर्जना र नवप्रवर्तनसँग जोड़्दै नयाँ उचाइ दिएका छन्।


Share this news
आजको रोजाइ
गोरामुमोको सांगठनिक विस्तार: पुलबिजनबारी-गोक र कैंजले-रेलिङ समष्टिका ३५ घरपरिवार पार्टीमा प्रवेश

गोरामुमोको सांगठनिक विस्तार: पुलबिजनबारी-गोक र कैंजले-रेलिङ समष्टिका ३५ घरपरिवार पार्टीमा प्रवेश

व्यवसायी महासंघले हस्तकला व्यवसायमा सरकारसँग सहकार्य गर्ने

व्यवसायी महासंघले हस्तकला व्यवसायमा सरकारसँग सहकार्य गर्ने

पोख्रेबुङमा सुके पोखरी प्रेस वेल्फेयर सोसाइटीको सभा सम्पन्न, तीन पत्रकार संगठनमा आबद्ध

पोख्रेबुङमा सुके पोखरी प्रेस वेल्फेयर सोसाइटीको सभा सम्पन्न, तीन पत्रकार संगठनमा आबद्ध

चिया बगानका स्वास्थ्य संस्था स्तरोन्नतिका लागि HHTDCSS को उत्तरकन्या भ्रमण, ७२ करोड बजेट प्रभावकारी उपयोग गर्न माग

चिया बगानका स्वास्थ्य संस्था स्तरोन्नतिका लागि HHTDCSS को उत्तरकन्या भ्रमण, ७२ करोड बजेट प्रभावकारी उपयोग गर्न माग

नीट-२०२६ मा ६१० अंकसहित विष्णु लिम्बू बने असमका गौरव

नीट-२०२६ मा ६१० अंकसहित विष्णु लिम्बू बने असमका गौरव

राष्ट्रपति मुर्मुद्वारा उत्तरी म्यासेडोनियाको संसदमा सम्बोधन: दुई देशको सम्बन्ध र सहकार्य सुदृढ बनाउने प्रतिबद्धता

राष्ट्रपति मुर्मुद्वारा उत्तरी म्यासेडोनियाको संसदमा सम्बोधन: दुई देशको सम्बन्ध र सहकार्य सुदृढ बनाउने प्रतिबद्धता

क्याप–सिक्किमका प्रवक्ता महेश राई र अल्बर्ट गुरुङ पक्राउ, गैरजमानती पक्राउ पुर्जीपछि प्रहरीको कारबाही

क्याप–सिक्किमका प्रवक्ता महेश राई र अल्बर्ट गुरुङ पक्राउ, गैरजमानती पक्राउ पुर्जीपछि प्रहरीको कारबाही

सोरेङमा जिल्ला कलेक्टर धीरज सुवेदीको अध्यक्षतामा जिल्लास्तरीय दिव्याङ्गता र AB-PMJAY को समीक्षा बैठक

सोरेङमा जिल्ला कलेक्टर धीरज सुवेदीको अध्यक्षतामा जिल्लास्तरीय दिव्याङ्गता र AB-PMJAY को समीक्षा बैठक

जीपीटीओद्वारा पश्चिम बङ्गाल सरकारको शिक्षक स्थानान्तरण सम्बन्धी निर्देशको विरोध

जीपीटीओद्वारा पश्चिम बङ्गाल सरकारको शिक्षक स्थानान्तरण सम्बन्धी निर्देशको विरोध

सिक्किम विधानसभा बजेट अधिवेशन २०२६–२७ : दुई विधेयक पारित, विभिन्न विभागका बजेट अनुमोदित

सिक्किम विधानसभा बजेट अधिवेशन २०२६–२७ : दुई विधेयक पारित, विभिन्न विभागका बजेट अनुमोदित

आजको रोजाइ