दार्जीलिङ हिमालयन रेल (डीएचआर) ले दार्जीलिङ वन विभागसँगको सहकार्यमा अरण्य सप्ताह २०२६ को अवसरमा विशेष ‘हेरिटेज जोय राइड’ कार्यक्रम आयोजना गरेको छ। जुलाई १५ मा आयोजित कार्यक्रममा स्थानीय विद्यालयका विद्यार्थीहरूलाई दार्जीलिङ–घुम–दार्जीलिङ खण्डमा प्रतिष्ठित टोय ट्रेनको विशेष यात्रा गराउँदै वातावरण संरक्षण र जैविक विविधताबारे सचेतना फैलाइएको हो। भारतकै सबैभन्दा अग्लो रेल स्टेशन घुममा आयोजित सांस्कृतिक कार्यक्रममा डिभिजनल फरेस्ट अफिसर (डीएफओ), सहायक डिभिजनल फरेस्ट अफिसर (एडीएफओ) तथा दार्जीलिङ स्टेशन प्रबन्धकको सहभागिता रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूलाई प्राकृतिक सम्पदा र विश्व सम्पदा सूचीमा सूचीकृत डीएचआरको ऐतिहासिक महत्वबारे जानकारी दिँदै संरक्षणको भावना विकास गर्न प्रेरित गरिएको थियो। डीएचआर र वन विभागले यस्ता कार्यक्रमले नयाँ पुस्तामा प्रकृति र सांस्कृतिक सम्पदाप्रति जिम्मेवार सोच विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् सिलगडीमा ‘टोय ट्रेन डे’ भव्य सम्मान समारोह, बाल प्रतिभा र सहकार्यकर्तालाई सम्मान सुकना स्टेशनमा जुलाई ४ मा सम्पन्न ‘टोय ट्रेन डे’ कार्यक्रमको निरन्तरतास्वरूप जुलाई १६ मा सिलगडीको दीनबन्धु मञ्चमा भव्य सम्मान समारोह आयोजना गरिएको थियो। उत्तर बंगाल पेन्टर्स एसोसिएसन र दार्जीलिङ हिमालयन रेल (डीएचआर) को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा हेरिटेज–आधारित कला कार्यशाला, प्रदर्शनी तथा ‘सिट एन्ड ड्र’ प्रतियोगितामा सहभागी बाल प्रतिभाहरूलाई सम्मान गरिएको थियो। डीएचआरको तर्फबाट सुकना स्टेशन मास्टर तपन मालाकरले सहभागी विद्यार्थी, प्रतियोगिताका विजेता तथा सहकार्य संस्थाहरूलाई आधिकारिक प्रमाणपत्र र पदक प्रदान गरेका थिए। कार्यक्रममा कला मार्फत नयाँ पुस्तालाई दार्जीलिङ हिमालयन रेलको ऐतिहासिक सम्पदा, औद्योगिक विरासत र जैविक विविधतासँग जोड्न योगदान पुर्याउने प्रशिक्षक तथा साझेदार संस्थाहरूलाई समेत सम्मान गरिएको डीएचआर जनसम्पर्क शाखाले जनाएको छ।













