खरसाङ विधानसभा क्षेत्रका भाजपा विधायक सोनाम लामाले सिटोङ क्षेत्रको भ्रमण गर्दै जनसुनुवाई तथा सांगठनिक सभा गरे। बंगाल विधानसभा चुनावमा भारतीय जनता पार्टीले बहुमत हाँसिल गरेर सरकार गठन गरेपछि सबै विधायकहरु आ आफ्नो समष्टि भ्रमण गर्दै आफ्ना कार्यकर्ता मतदाताहरु संग प्रत्यक्ष भेटघाट भलाकुसारी गरिरहेका छन् । यसैक्रममा खरसाङ २४ नम्बर समष्टिका भाजपा विधायक पनि जनता जनार्दनसंग भेटघाट गर्दै सिटोङ क्षेत्र आईपुगेका थिए । सिटोङ -१ ग्रा०प० स्थित सेब्जे सार्वजनिक भवनमा सम्पन्न उक्त कार्यक्रममा भाजपा दार्जिलिङ जिल्ला सचिव श्याम बस्नेत समष्टि मण्डल दिवस मोहरा लगायत भाजपा नारी युवा नेतृत्ववर्गको उपस्थिति रहेको थियोे । उक्त सभालाई सम्बोधन गर्दै विधायक लामाले पहाड लगायत सम्पुर्ण बंगालमा भाजपको जीत र ऐतिहासिक परिवर्तनको लागि बधाई दिदै यो सब जनताको जीत हो भनी बताए । तिनले आफु जनसेवक रहेको बताँउदै भोलिको दिनमा सबैलाई समेटेर सबैको साथ लिएर बिकाससंगै गोर्खा जातिको मुलमुद्धाको निम्ति प्रतिबद्ध रहेर काम गर्ने मनसाय व्यक्त गरेका थिए । विगत चुनावमा बहुमुल्य जीत हाँसिल गरेर विधायक बनेको खुशीमा भाजपा सिटोङ – लाठ मण्डलले विधायक लामा अनि भाजपा जिल्ला सचिव श्याम बस्नेतलाई सम्बर्द्धना पनि जनाएको थियोे । उक्त सभामा सिटोङ – लाठपञ्चर अधिनस्थ सम्पुर्ण बुथका पदाधिकारीवर्ग मण्डल प्रतिनिधि कार्यकर्ता लगायत सिटोङ -३ ग्रामपञ्चयात प्रधान रिना तामाङ उपप्रधान लाडुप लेप्चा पञ्चायत समिति उपसभापति नारायण थापा आदिको उपस्थिति रहेको थियोे । सचिव अनिल शर्माले संचालन गरेको कार्यक्रममा अरुण खवासले स्वागत मन्तव्य राखेका थिए ।












