सुकना उसमा प्रकाशनको तत्वावधानमा हिज १३ जुलाईको दिन सुकनास्थित प्रकाशनकै कार्यालयमा आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्म जयन्ती प्रकाशनका सभापति मेघनाथ छेत्रीको अध्यक्षतामा सम्पन्न भयो। भानुभक्त आचार्यको प्रतिकृतिमा माल्यार्पण एवम् दीप प्रज्वलन भई सम्पन्न भएको भानु जयन्ती समारोहमा प्रकाशनको तर्फबाट साहित्यकार उर्मिला घिसिङ स्मृति साहित्य सम्मान प्रथम पल्ट सुकनाकै एक विशिष्ट साहित्यकार श्रीमती मातृका गजमेरलाई प्रदान गरिने घोषणा प्रकाशनका सभापति मेघनाथ छेत्रीले गरेका थिए। स्मरण रहोस् भारतेली नेपाली साहित्यका एक विशिष्ट साहित्यकार उर्मिला घिसिङ र सरमान राईको प्रयासमा सन् २०१२ मा स्थापित सुकना उसमा प्रकाशनले उर्मिला घिसिङको नेतृत्वमा विविध प्रकारका साहित्यिक गथिविधिहरुको माध्यमद्वारा भाषा- साहित्यको संरक्षण र सम्वद्धर्नमा ठूलो टेवा पुर्याएका थिए।
गत वर्ष साहित्यकार उर्मिला घिसिङको असामयिक निधनपछि उनको नामलाई अमर राख्न साथै साहित्यको क्षेत्रमा धेरै योगदान दिने कुनै एक साहित्यकारलाई यस वर्ष साहित्यकार उर्मिला घिसिङ स्मृति साहित्य सम्मान प्रदान गरिने प्रकाशनको प्रस्ताव र सर्वसम्मतिको निर्णय अनुसार आज प्रकाशनले उक्त साहित्य सम्मानको घोषणा गरेका थिए। आजको घोषणा अनुसार आगामी अगष्ट महीनाको पहिलो सप्ताह उर्मिला घिसिङ स्मृति साहित्य सम्मान अलङ्करण समारोह सम्पन्न गरेर साहित्यकार श्रीमती मातृका गजमेरलाई दोसल्ला,पुष्पगुच्छको साथमा सम्मान पत्र र स्मृति चिन्हद्वारा सम्मान गरिने कुरो प्रकाशनका सभापति मेघनाथ छेत्रीले जनाएका छन् ।
आजको कार्यक्रमलाई सरमान राई, खग गुरागाईँ, अनुरा खवास प्रधानले पनि सम्बोधन गरी प्रकाशनका भावी कार्यक्रमहरुबारे सुझावहरु दिएका थिए भनी प्रकाशनका सचिव निमा तामांगले एक प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन्।












