भेनेजुएलामा गएको विनाशकारी जुम्ल्याहा भूकम्पपछि ढलेको नौतले भवनको भग्नावशेषमा आठ दिनसम्म फसेका एक ४३ वर्षीय सुरक्षा गार्डलाई जीवितै उद्धार गरिएको छ। हर्नान अल्बेर्तो गिल फ्लोरेस नामका ती व्यक्तिलाई ला ग्वाइरास्थित ग्यालेरियास प्लाया ग्रान्दे सपिङ सेन्टरको भग्नावशेषबाट १०० घण्टाभन्दा लामो उद्धार अभियानपछि सुरक्षित बाहिर निकालिएको हो। उद्धारका क्रममा अन्तर्राष्ट्रिय उद्धार टोलीले अत्यन्त जोखिमपूर्ण अवस्थामा सुरुङ बनाएर उनीसम्म पुग्न सफल भएको थियो। अधिकारीहरूका अनुसार उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ। उद्धार टोलीका अनुसार फ्लोरेस कार्यरत सुरक्षा कक्ष (सिक्युरिटी क्याबिन) पूर्ण रूपमा नढलेकाले त्यसभित्र हावाको सानो खाली स्थान बनेको थियो, जसका कारण उनी आठ दिनसम्म जीवित रहन सफल भएका थिए। उद्धारकर्मीहरूले केही दिनअघि उनीसँग सम्पर्क स्थापित गरेपछि पानी र आवश्यक पोषण उपलब्ध गराउँदै उद्धार अभियानलाई तीव्र बनाएका थिए। गत साता आएको शक्तिशाली जुम्ल्याहा भूकम्पमा २,००० भन्दा बढीको मृत्यु, ११ हजारभन्दा बढी घाइते तथा हजारौं मानिस विस्थापित भएका छन्। फ्लोरेसको सकुशल उद्धारलाई विपत्तिबीच आशाको प्रतीकका रूपमा हेरिएको छ।












