भारत सरकारले ई–रिक्सा तथा अन्य विद्युतीय सवारीसाधनको सुरक्षालाई ध्यानमा राख्दै ब्याट्री व्यवस्थापन प्रणाली (Battery Management System–BMS) सञ्चालन गर्न प्रयोग हुने सातवटा मोबाइल एप ब्लक गर्न निर्देशन दिएको छ। केन्द्र सरकारको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालय (MeitY) ले गुगल र एप्पललाई BAT-BMS, Lossigy, Epoch Li-ion, Smart BMS लगायतका एपहरू आफ्ना एप स्टोरबाट हटाउन आदेश दिएको हो। सामाजिक सञ्जालमा ब्लुटुथमार्फत यस्ता एप प्रयोग गरेर गुडिरहेका ई–रिक्साको ब्याट्री टाढैबाट बन्द गरिएको भिडियो भाइरल भएपछि सरकारले तत्काल अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा केही एपको दुरुपयोग गरी सवारीसाधनलाई बीच बाटोमै रोक्न सकिने सम्भावना देखिएपछि ती एपमाथि प्रतिबन्ध लगाउने निर्णय गरिएको हो। सरकारी अधिकारीहरूका अनुसार यी एपहरू मूलतः लिथियम–आयन ब्याट्रीको चार्ज, भोल्टेज, तापक्रम, ब्याट्रीको स्वास्थ्य अवस्था तथा अन्य प्राविधिक विवरण निगरानी र नियन्त्रण गर्न विकास गरिएका हुन्। तर, पर्याप्त साइबर सुरक्षा व्यवस्था नभएका केही ब्याट्री व्यवस्थापन प्रणाली (BMS) मा अनधिकृत रूपमा पहुँच प्राप्त गरी सवारीको विद्युत् आपूर्ति बन्द गर्न सकिने जोखिम देखिएको छ। यसबाट चालक, यात्रु तथा सडकमा रहेका अन्य सवारीसाधनको सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दै सरकारले यसलाई राष्ट्रिय सुरक्षा र सार्वजनिक सुरक्षासँग जोडिएको विषयका रूपमा लिएको जनाएको छ। भारत सरकारले एप स्टोर सञ्चालक कम्पनीहरूलाई यस्ता एपको उपलब्धतामाथि कडा निगरानी गर्न निर्देशन दिएको छ भने विद्युतीय सवारी उत्पादक कम्पनीहरूलाई ब्याट्री व्यवस्थापन प्रणालीमा थप सुरक्षा तह, बलियो प्रमाणीकरण (Authentication) तथा साइबर सुरक्षा मापदण्ड लागू गर्न आग्रह गरेको छ। सरकारले भविष्यमा यस्ता घटनाको पुनरावृत्ति हुन नदिन सम्बन्धित निकायसँग समन्वय गर्दै विद्युतीय सवारीको डिजिटल सुरक्षा थप सुदृढ बनाउने तयारीसमेत गरेको जनाएको छ।











