विशेष सघन पुनरीक्षण (SIR) मार्फत समावेश गरिएका मतदाताहरूको अनलाइन निर्वाचन अभिलेख अद्यावधिक नगरिएको विषयमा राज्य निर्वाचन आयुक्त समक्ष आपत्कालीन प्रतिनिधित्व गरेको छ। इण्डियन गोर्खा जनशक्ति फ्रण्ट (IGJF) का प्रमुख संयोजक श्री अजय लुकास एड्वर्डसले पश्चिम बंगाल राज्य निर्वाचन आयोगका नव नियुक्त राज्य निर्वाचन आयुक्त समक्ष दार्जीलिङ र कालेबुङ जिल्लाका हजारौं मतदाताहरूले भोगिरहेका गम्भीर समस्या सम्बन्धी एक आपत्कालीन प्रतिनिधित्व पेश गरेका छन्।
उक्त प्रतिनिधित्वमार्फत श्री एडवर्ड्सले राज्य निर्वाचन आयुक्तलाई नियुक्तिको लागि हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै,उहाँको नेतृत्वमा पश्चिम बंगालको निर्वाचन प्रक्रिया अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्। प्रतिनिधित्वमा उल्लेख गरिए अनुसार,विशेष सघन पुनरीक्षण (SIR) प्रक्रियाको समयमा धेरै मतदाताहरूलाई प्रारम्भमा “Under Adjudication” को अवस्थामा राखिएको थियो।तर आवश्यक जाँच तथा प्रमाणीकरणपछि उनीहरूको नाम पूरक सूचीमार्फत अन्तिम मतदाता नामावलीमा समावेश गरिएको थियो र उनीहरूले निर्वाचनमा सफलतापूर्वक मतदान समेत गरेका थिए।
यद्यपि,अन्तिम मतदाता नामावलीमा नाम समावेश भइसकेपछि पनि निर्वाचन आयोगको अनलाइन पोर्टल तथा मोबाइल एपमा ती मतदाताहरूको अवस्था अझै “Under Adjudication” वा “Added through Supplementary List” भनेर देखाइरहेको छ।यसको कारण उनीहरू विभिन्न अत्यावश्यक अनलाइन मतदाता सेवाबाट वञ्चित भइरहेका छन्।
प्रभावित मतदाताहरूले निम्न सेवाहरू प्राप्त गर्न कठिनाइ भोगिरहेका छन्:
- मतदाता विवरण सच्याउने आवेदन
- PVC EPIC (मतदाता परिचयपत्र) का लागि आवेदन
- अन्य अनलाइन निर्वाचनसम्बन्धी सेवाहरू
यसका साथै,अद्यावधिक मतदाता परिचयपत्र आवश्यक पर्ने विभिन्न सरकारी तथा सार्वजनिक सेवाहरू—जस्तै राहदानी आवेदन वा नवीकरण,परिचय प्रमाणीकरण,तथा सरकारी योजनाहरूमा आवेदन—गर्दा पनि गम्भीर समस्या उत्पन्न भइरहेको छ।
श्री एडवर्ड्सले निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गरिए पनि निर्वाचन आयोगको डिजिटल डाटाबेस पूर्ण रूपमा समन्वय नभएको स्पष्ट भएको बताएका छन्।
यस विषयमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टले राज्य निर्वाचन आयुक्तसमक्ष निम्न मागहरू राखेको छ:
- अन्तिम SIR मतदाता नामावलीसँग अनलाइन निर्वाचन डाटाबेसको तत्काल समन्वय गरियोस्
- अन्तिम मतदाता नामावलीमा समावेश भइसकेका मतदाताहरूको “Under Adjudication” लगायत अस्थायी अवस्था हटाइयोस्।
- प्रभावित सबै मतदातालाई PVC EPIC आवेदन,विवरण सच्याउने सेवा लगायत सम्पूर्ण अनलाइन निर्वाचन सेवामा पहुँच सुनिश्चित गरियोस्।
- आवश्यक निर्देशन जारी गरी प्राथमिकताका आधारमा सम्पूर्ण डिजिटल अभिलेख अद्यावधिक गरियोस् ताकि योग्य मतदाताहरूले थप दुःख तथा प्रशासनिक अवरोध भोग्न नपरोस्।
इण्डियन गोर्खा जनशक्ति फ्रण्टले दार्जीलिङ र कालेबुङ जिल्लाका नागरिकहरूले SIR प्रक्रियाका सबै आवश्यक प्रक्रिया पूरा गरिसकेको तथा उनीहरूलाई वैधानिक मतदाताको रूपमा मान्यता दिइसकिएको हुँदा,डिजिटल अभिलेख अद्यावधिक नभएको कारण उनीहरूले निरन्तर समस्या भोग्नु नपर्ने जनाएको छ।
संस्थाले राज्य निर्वाचन आयुक्तसमक्ष यस वास्तविक जनसमस्यालाई गम्भीरतापूर्वक लिई यथाशीघ्र समाधान गर्न हस्तक्षेप गरिदिन अनुरोध गरेको छ।
प्रतिलिपि पठाइएको:
- भारतीय निर्वाचन आयोगका मुख्य निर्वाचन आयुक्त
- पश्चिम बंगालका मुख्य निर्वाचन अधिकृत
- दार्जीलिङ जिल्ला निर्वाचन कार्यालय
- कालेबुङ जिल्ला निर्वाचन कार्यालय।












