गोर्खा जनमुक्ति मोर्चा महासचिव श्री रोशन गिरीज्युले मेरो भनाई “त्रिपक्षीय सम्झौताबाट आफनो हस्ताक्षर फिर्ता लिनुपर्छ ……” लाई एक भिडियो प्रेषवार्ता जारी गरी दिएको स्पष्टिकरणमाथि विनय तामाङको स्पष्ट भनाई- गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको निम्ति गरिएको त्रिपक्षीय सम्झौतामा हस्ताक्षरित तीन पार्टीहरू मध्ये एक पार्टी गोर्खा जनमुक्ति मोर्चाले १८ जुलाई,२०११ मा गरिएको त्रिपक्षीय सम्झौताबाट आफु असन्तुष्टि रहेको अनि असहमति जनाउॅदै आफनो हस्ताक्षर वापस लिने निर्णय एक अत्यन्तै महत्त्वपुर्ण र गम्भीर कानुनी तथा राजनैतिक विषय हुनेछ। सन् २०११ को त्रिपक्षीय सम्झौता र त्यसपछि बनेको ‘गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन ऐनको परिप्रेक्ष्यमा गोर्खा जनमुक्ति मोर्चाले आफ्नो सहमति र हस्ताक्षर फिर्ता लिने माग राखेमा त्यसको कानुनी तथा राजनैतिक प्रभाव कस्तो हुनेछ – त्यसलाई तीनवटा मुख्य दृष्टिकोणबाट तपाई हामीले बुझ्न आवश्यक छ ।
१. कानुनी र संवैधानिक दृष्टिकोण : कानुनी रूपमा हेर्दा कुनैपनि सम्झौता र त्यस सम्झौताको आधारमा बनेको ऐन (Act) मा धेरै फरक हुॅदछ । त्रिपक्षीय सम्झौता केवल एउटा नीतिगत सहमति थियो भने GTA आजको दिनमा पश्चिम बङ्गाल विधानसभाद्वारा पारित गरिएको एक संविधिक निकाय (Statutory Body) हो। कुनैपनि राजनैतिक दलले सम्झौताबाट आफ्नो हस्ताक्षर वा सहमति फिर्ता लिँदैमा विधायिकाले पारित गरिसकेको ऐन स्वतः खारेज हुँदैन ।
२. राजनैतिक दृष्टिकोण : कानुनी रूपमा तत्कालै ऐन खारेज नभएपनि राजनैतिक रूपमा भने यस्तो कदमको ठुलो अर्थ र गम्भीर प्रभाव पर्नेछ । यदि सम्झौताको मुख्य हस्ताक्षरकर्ता दलले नै “हामी यो सम्झौता मान्दैनौँ” भनी लिखित रूपमा केन्द्र सरकार अनि राज्य सरकारलाई पत्राचार गर्छ भने, यसले केन्द्र र राज्य सरकारमाथि एउटा ठुलो नैतिक र राजनैतिक दबाव सिर्जना गर्नेछ । यसले यो व्यवस्था असफल भएको र जनताको आकांक्षा पुरा गर्न नसकेको सन्देश दिनेछ ।
३.नयाँ विकल्पको बाटो: राजनैतिक रूपमा यसलाई २०११ को व्यवस्थाबाट पुर्ण रूपमा अलग भई नयाँ राजनैतिक एजेन्डा ” स्थायी राजनैतिक समाधान”तर्फ अघि बढ्ने सही कदम मान्न सकिन्छ। गोर्खा जनमुक्ति मोर्चाले केन्द्र र राज्य सरकारलाई पत्राचार गरेर सहमति फिर्ता लिएको घोषणा गर्नु राजनैतिक रूपमा आफ्नो असन्तुष्टि अनि स्थायी राजनैतिक समाधानको विकल्प अघि सार्ने एउटा बलियो माध्यम वा रणनीति बनेर जानेछ । मेरो भनाइको अर्थ यो थियो – आज गोर्खा जनमुक्ति मोर्चा, विमल गुरूङज्यु , रोशन गिरीज्यु अनि आम जनताले मेरो भनाईलाई यसै दृष्टिकोणबाट बुझिदिने आग्रह गर्दछु।










