फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ का अन्तिम खेलहरूमा ब्राजिल र मोरक्को विजयी हुँदै नकआउट चरणमा प्रवेश गरेका छन्। ब्राजिलले स्कटल्याण्डलाई ३–० ले पराजित गर्दै समूह विजेताको रूपमा अन्तिम ३२ मा स्थान सुरक्षित गरेको हो भने मोरक्कोले हैटीमाथि ४–२ को रोमाञ्चक जित निकाल्दै उपविजेताका रूपमा अघिल्लो चरणमा प्रवेश गरेको छ। मियामीस्थित हार्ड रक स्टेडियममा भएको खेलमा ब्राजिलका स्टार फरवार्ड विनिसियस जुनियर नायक बने। उनले खेलको सातौँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए। दोस्रो हाफको ६० औँ मिनेटमा म्याथियस कुञ्हाले थप एक गोल गरेपछि ब्राजिल सहज ३–० को जिततर्फ अग्रसर भयो।
योसँगै ब्राजिल समूह चरण अपराजित रहँदै शीर्ष स्थानमा रह्यो। लामो समयपछि नेयमारले पनि विश्वकपमा पुनरागमन गर्दै दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए। स्कटल्याण्डले केही अवसर सिर्जना गरे पनि ब्राजिलको बलियो रक्षापंक्तिलाई भेद्न सकेन। पराजयपछि स्कटल्याण्डको नकआउट चरणको सम्भावना भने अन्य समूहका नतिजामा निर्भर रहने भएको छ। उता एटलान्टामा भएको अर्को खेलमा मोरक्कोले हैटीलाई ४–२ ले पराजित गर्दै अन्तिम ३२ मा स्थान बनायो। खेलमा हैटीले दुईपटक अग्रता लिएर मोरक्कोलाई दबाबमा पारेको थियो।
हैटीका तर्फबाट लेनी जोसेफ र विल्सन इसिडोरले गोल गरे। तर मोरक्कोका अच्राफ हाकिमी र इस्माइल साइबारीले बराबरी गोल फर्काए। त्यसपछि दोस्रो हाफमा वैकल्पिक खेलाडी सौफियान राहिमी र युवा खेलाडी गेसिम यासिनले गोल गर्दै मोरक्कोलाई महत्वपूर्ण जित दिलाए। समूह ‘सी’ मा ब्राजिल र मोरक्को दुवैले सात–सात अंक जोडे पनि उत्कृष्ट गोलअन्तरका आधारमा ब्राजिल शीर्ष स्थानमा रह्यो। मोरक्को दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगेको छ। हैटी तीनै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ भने स्कटल्याण्डको भविष्य अन्य समूहका नतिजाले तय गर्नेछ। ब्राजिलले अब अन्तिम ३२ मा समूह ‘एफ’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ भने मोरक्कोले समूह ‘एफ’ को विजेतासँग खेल्नेछ।











