गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जीलिङ ब्राञ्च कमिटी अन्तर्गत बरबोटे शाखाले लोवर बरबोटे सामाजिक भवनमा एक महत्वपूर्ण राजनीतिक छलफल सभा सम्पन्न गरेको छ। मन्दा थापाको अध्यक्षतामा आयोजित उक्त सभामा वर्तमान पहाडको राजनीतिक अवस्था, गोर्खा समुदायको भविष्य तथा गोरामुमोको वर्तमान राजनीतिक अडानबारे विस्तृत रूपमा छलफल गरिएको थियो।सभामा गोरामुमोको राजनीतिक दृष्टिकोण बुझ्न अन्य राजनीतिक दलका समर्थकहरू तथा सर्वसाधारणको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सुशील सुब्बाले गरेका थिए।
सभामा गोरामुमो बरबोटे शाखाका सभापति सूर्य छेत्री, शाखा सचिव प्रणय सुब्बा, योगेश पहारी, टंकबहादुर पहारी, मनहाङ सुब्बा तथा सुशील सुब्बाले आ–आफ्नो धारणा राख्दै वर्तमान राजनीतिक परिस्थितिमा गोरामुमोको स्पष्ट अडान प्रस्तुत गरेका थिए। वक्ताहरूले गोरामुमोले सुरुदेखि नै गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए) व्यवस्थाको विरोध गर्दै आएको स्मरण गराउँदै पार्टी अध्यक्ष मन घिसिङले समेत पटक–पटक अन्य राजनीतिक दलहरूलाई जीटीए निर्वाचनमा सहभागी नहुन आग्रह गरेको उल्लेख गरे। तर अन्य दलहरूले उक्त चेतावनीलाई गम्भीरतापूर्वक नलिँदा गोर्खा समुदायले विभिन्न राजनीतिक तथा प्रशासनिक कठिनाइहरूको सामना गर्नुपरेको उनीहरूको भनाइ थियो। यद्यपि वर्तमान परिस्थितिले गोर्खा समुदायको न्यायपूर्ण अधिकार प्राप्तिको दिशामा सकारात्मक संकेत देखाएको वक्ताहरूले विश्वास व्यक्त गरे।
सभालाई सम्बोधन गर्दै सुशील सुब्बाले भारतको संविधानको छैटौँ अनुसूची, विगतको दार्जीलिङ गोर्खा पर्वतीय परिषद तथा वर्तमान जीटीए व्यवस्थाबीच तुलनात्मक विश्लेषण प्रस्तुत गरे। उनले माटो, पहिचान र राजनीतिक अधिकारको स्थायी सुरक्षा तथा संवैधानिक संरक्षण सुनिश्चित गर्न सक्ने एकमात्र व्यवस्था छैटौँ अनुसूची भएको धारणा राखे।उनले गोरामुमो संस्थापक अध्यक्ष सुवास घिसिङद्वारा प्रतिपादित मूल मन्त्र “पार्टीभन्दा जाति ठूलो, जातिभन्दा माटो ठूलो” लाई आत्मसात गर्दै विगतदेखि नै गोर्खा जाति र माटोको हितमा संघर्षरत रहेको तथा भविष्यमा पनि यही सिद्धान्तप्रति प्रतिबद्ध रहने बताए। गोरामुमो बरबोटे शाखाका सदस्यहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न उक्त सभाको अन्त्यमा अध्यक्ष मन्दा थापाले उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै सभा समापन भएको घोषणा गरिन्।












